सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

जुत्ता–चप्पल निर्यातभन्दा आयात सात गुणाले बढी, चोरी पैठारीले स्वदेशी उत्पादन प्रभावित

आइतबार, २८ पुस २०८१, २१ : ००
आइतबार, २८ पुस २०८१

काठमाडौँ । नेपाली जुत्ता–चप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर छ । यसमध्ये ७५ प्रतिशत उत्पादन हुँदै आएको छ । जसमा ४० प्रतिशत अर्थात् साढे ७ करोड जोर स्वदेशमै खपत हुँदै आएको बताउँछन्, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपाने । 

उनका अनुसार साढे तीन करोड जोर विदेशमा खपत हुने गरेको छ । ‘वैध बाटोबाट मात्रै नभएर दुई करोडभन्दा बढी जोर जुत्ता–चप्पल चोरी बाटोबाट आयात हुने गरेको छ । जसले देशको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ,’ न्यौपाने भन्छन्, ‘राज्यको ५ अर्ब ६० करोड बराबर राजस्व गुमेको छ । यति मात्र होइन, स्वदेशी उत्पादनले बजार पाएको छैन । हाम्रो उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।’ सरकारले चोरी पैठारी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । 

न्यौपानेका अनुसार जुत्ता–चप्पल आयात र निर्यात दुवै बढ्दो छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म (पाँच महिना) चार अर्ब ३९ करोड २७ लाख ९० हजार रुपैयाँको एक करोड ८९ लाख ५१ हजार ५५७ जोर आयात भएको छ । सोही अवधिमा ५९ करोड ४० लाख ६७ हजार रुपैयाँको २० लाख ११ हजार ८६३ जोर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा पाँच अर्ब ६० करोड २० लाख ६७ हजार रुपैयाँको एक करोड ८७ लाख ५६ हजार ७०२ जोर आयात भएको थियो । ४६ करोड २१ लाख ३१ हजार रुपैयाँको १६ लाख ४२ हजार ३८५ जोर निर्यात भएको थियो । 

यसअनुसार गत वर्षको तुलनामा आयात घटेको छ । निर्यात बढेको छ । एक अर्ब २० करोड ९२ लाख ७७ हजार रुपैयाँले आयातमा कमी आएको छ । १३ करोड २१ लाख ३६ हजार रुपैयाँले निर्यातमा सुधार भएको छ ।

दुई करोडभन्दा बढी जोर जुत्ता–चप्पल चोरी बाटोबाट आयात हुने गरेको छ । जसले देशको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । राज्यको ५ अर्ब ६० करोड बराबर राजस्व गुमेको छ । यति मात्र होइन, स्वदेशी उत्पादनले बजार पाएको छैन । 

 

करिब ३९ अर्बको जुत्ता–चप्पल भित्रियो

भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्ष अवधिमा करिब ३९ अर्ब रुपैयाँको जुत्ता–चप्पल भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म ३८ अर्ब ९४ करोड ३५ लाख ७२ हजार रुपैयाँको १८ करोड ६९ लाख १८ हजार २८९ जोर आयात भएको हो । 

२०७६/७७ मा ५ अर्ब ६६ करोड ८८ लाख २९ हजार रुपैयाँको दुई करोड ५३ लाख ३८ हजार ८७८ जोर आयात भएको थियो । त्यसको चार वर्षपछि  २०८०/८१ मा आयात करिब दुई गुणाले बढेको छ । उक्त वर्ष नौ अर्ब ९८ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको चार करोड दुई लाख ९५ हजार १६८ जोर भित्रिएको विभागको तथ्यांक छ । 

पाँच वर्षमा कति आयो जुत्ता–चप्पल ?

1

पाँच वर्षमा पाँच अर्बको निर्यात 

विभागको तथ्यांक हेर्ने हो भने पाँच वर्षमा पाँच अर्बको जुत्ता–चप्पल निर्यात भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म पाँच अर्ब ११ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

यस्तो छ निर्यातको अवस्था 

2

बीआईएसले भारत निर्यातमा समस्या 

भारतले बीआईएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) प्रणाली लागू गरेसँगै पछिल्लो समय भारततर्फ निर्यातमा समस्या आएको छ । तापनि चालू वर्षमा ५० हजार जोर अर्थात् दुई खर्बभन्दा बढीको जुत्ताचप्पल निर्यात हुने अनुमान एसोसिएसनले गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बीआईएस प्राप्तिका लागि मन्त्रालयले पहल गरिरहेको बताएका छन् । उनले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा जुत्ता–चप्पल उद्योगीलाई तत्काल बीआईएसको समस्या समाधान गर्ने आश्वासन दिएका हुन् ।

‘बीआईएस प्राप्त गर्न नसक्दा फुटवेयर उद्योग समस्यामा छ । तत्काल यो समस्या समाधान हुन्छ,’ मन्त्री भण्डारीले भने, ‘अहिले बीआईएस प्राप्त गर्नका लागि पहल भइरहेको छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप