सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व

आइतबार, २८ पुस २०८१, २० : ०२
आइतबार, २८ पुस २०८१

काठमाडौँ । नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो । ७ स्वर्णका अलावा नेपालले ५ रजत र ४ कांस्य पनि हात पार्‍यो ।

नेपाल जितकुण्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा भारत र श्रीलंकाले समान १–१ रजत र कांस्य जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५५ केजी तौल समूहमा विजय थापाले स्वर्ण जिते । उनले फाइनल नेपालकै नितेश कठायतलाई पराजित गरे ।

पुरुष ६० केजीमुनि नरेन्द्र दनुवार पहिलो भए । उनले फाइनलमा नेपालका अल्ताप दनुवारलाई हराए । नेपालका अमित थापा तेस्रो भए । पुरुष ६५ केजीमा सञ्जीव माझीले फाइनलमा नेपालका भीष्म तामाङलाई पाखा लगाउँदै स्वर्ण चुमे । नेपालका सुसाङ चौधरी तेस्रो बने ।

पुरुष ७० केजीमुनि सुमन तामाङले स्वर्ण चुमे । उनले फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई पन्छाए । भारतका मोनिश तेस्रो भए । पुरुष ७० केजीमाथि पीताम्बर मगरले बाजी मारे । उनले फाइनलमा भारत प्रियाडमाथि जित दर्ता गरे । श्रीलंकाका कसुन हर्षल तेस्रो स्थानमा रहे ।

महिला ५५ केजीमुनि निलम कोइरालाले फाइनलमा नेपालकी सारिका नेपालीको चुनौती पन्छ्याउँदै स्वर्ण जितिन् । नेपालकी जमुना दनुवार तेस्रो बनिन् । महिला ७० केजीमाथि उर्मिला दनुवारले स्वर्ण चुमिन् । उर्मिलाले फाइनलमा नेपालकी जमुना विकलाई पराजित गरिन् । नेपालकी ममता शर्मा तेस्रो भइन् ।

शीर्ष तीन स्थानमा रहनेले क्रमशः २३ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा, टेड वाङ जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलोलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । प्रतियोगिताअघि संघकै आयोजनामा दुई दिने नवौँ टेड वाङ सेमिनार पनि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप