बागमतीलाई हराउँदै पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिडन्त पक्का
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब जारी प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली हो ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ । प्रारम्भिक चरणको आफ्नो तेस्रो खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेको हो । जनकपुरमा सम्पन्न खेलको दोस्रो दिन आइतबार पुलिस क्लबले एक सय १६ रनको लक्ष्य २३ ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो ।
दोस्रो पालीमा पुलिस क्लबका लागि अमित श्रेष्ठले अर्धशतकीय योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अमितले ५६ रन बनाए । यसक्रममा उनले केवल ४५ बलको सामना गरी नौ वटा चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३२ रनको योगदान गरे । टोलीको कप्तानसमेत रहेका कुशल भुर्तेलले केवल १९ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । अर्का ओपनर दिलीप नाथ भने चार रनमै आउट भएका थिए ।
शंकर राना पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । रासिद खानले खाता खोल्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन साउदले टोलीको खातामा अविजित २० रन थपे । उनले ३८ बलमा दुई चौका पनि हिर्काए । प्रेम तामाङ एक रनमा अविजित रहे ।
बागमती प्रदेशका बलर सन्दीप लामिछाने दुई विकेट लिए । उनले १० ओभरमा ४६ रन खर्चिए । नन्दन यादव, प्रतिस जीसी र सूर्य तामाङले पनि एक–एक विकेट हात पारे । पुलिस क्लबले अतिरिक्त रूपमा केवल दुई रन पायो ।
त्यसअघि, जनकपुरमा जारी खेलको दोस्रो तथा अन्तिम दिन आइतबार नै बागमती प्रदेश आफ्नो दोस्रो पालीमा दुई सय १८ रन बनाउँदै अलआउट भएको थियो । पहिलो पालीमा निराशाजनक प्रदर्शन गरेको बागमती प्रदेशका लागि दोस्रो पालीमा दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान गरेका थिए ।
बागमती प्रदेशका लागि तेस्रो नम्बरका ब्याट्सम्यान शुभ कंसकारले ७० रन बनाए । उनले केवल ७४ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान रित गौतमले पनि टोलीका लागि ५२ रनको योगदान गरे ।
रितले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काए । बागमती प्रदेशका अर्का ओपनर इशान पाण्डे भने तीन रको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल आठ रन थियो । त्यसपछि रित र शुभले टोलीको स्कोरलाई एक सय १७ रनसम्म डोर्याएका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान रोशन विक चार रनमै पेभेलियन फर्किए भने विकेटकिपर ब्याट्सम्यान उत्तम मगरले १४ रन बनाए । प्रतीक श्रेष्ठले पनि टोलीको खातामा १३ रन थपे । नन्दन यादवले १० रन बटुले ।
कप्तान सन्दीप लामिछाने पनि १६ रन बनाउँदै आउट भए । प्रतिस जीसी पनि तीन रनमै पेभेलियन फर्किए । तल्लो क्रमका ब्याट्सम्यान सूर्य तामाङले १६ रन बनाउँदै आउट भए । रिजन ढकाल १० रनमा अविजित रहे ।
बागमती प्रदेशले अतिरिक्त रूपमा पनि सात रन पायो । पुलिस क्लबका बलर ललित राजवंशीले तीन विकेट लिए । श्रवण यादवले दुई विकेट हात पारे । गुलसन झा, रासिद खान, कुशल भुर्तेल र प्रेम तामाङले पनि एक–एक विकेट कुम्ल्याए ।
त्यसअघि, पुलिस क्लबले आफ्नो पहिलो पालीमा दुई सय १५ रन बनाएको थियो । पुलिस क्लबका लागि अमित श्रेष्ठ र अर्जुन साउदले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरका ब्याट्सम्यान अमितले ७९ रन बनाए । उनले ९७ बलमा दुई छक्का र १० चौका पनि प्रहार गरे ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान अर्जुनले पनि ७७ रन बनाए । उनले ८२ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । पुलिस क्लबले ३५ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो ।
त्यसपछि अमित र अर्जुनले टोलीको स्कोरलाई एक सय ८३ रनको बलियो स्थितिमा पुर्याएका थिए । पहिलो पालीमा पुलिसका दुवै ओपनरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दिलीप नाथ सात र कप्तान कुशल भुर्तेल आठ रनमा आउट भएका थिए ।
गुलसन झाले भने टोलीको खातामा १७ रन थपेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिस क्लबले अतिरिक्त रूपमा पनि १६ रन पायो । बागमती प्रदेशका बलर सन्दीप लामिछानेले चार विकेट लिए ।
सन्दीपले ११।५ ओभरमा तीन मेडन राख्दै ६५ रन खर्चिए । नन्दन यादव र प्रतिस जीसीले पनि दुई–दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि एक विकेट लिए । पुलिस क्लबका एक ब्याट्सम्यान भने रन आउट भएका थिए ।
त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले आफ्नो पहिलो पालीमा निराशाजनक प्रदर्शन गर्दै केवल एक सय १२ रनमा अलआउट भएको थियो । पहिलो पालीमा बागमती प्रदेशका लागि ओपनर इशान पाण्डेले अर्धशतक बनाएका थिए ।
इशानले टोलीका लागि ७१ रनको योगदान गरे । उनले ९४ बलको सामना गरी १० चौका पनि हिर्काएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका प्रतीक श्रेष्ठले १२ रन बनाए । पहिलो पालीमा बागमती प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पुलिस क्लबका बलर ललित राजवंशीले चार विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै केवल २७ रन खर्चिए । श्रवण यादवले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा एक मेडन राख्दै केवल नौ रन खर्चिए । कुशल भुर्तेलले पनि दुई विकेट लिए ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय रूपमा खेलाइँदै छ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । फाइनल खेल मङ्गलवार वीरगन्जमा सुरु हुनेछ ।
क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । जय ट्रफीमा खेलाडीहरू सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ खर्च भयाे : मन्त्री अधिकारी
-
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र
-
वामदेवले एमाले र माओवादीसँग वार्ता गर्ने
-
एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा सम्मेलन गर्दै
-
लोसपा महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने
-
काठमाडौँ अदालत परिसरमा रवि लामिछानेका समर्थकको भीड (तस्बिरहरू)