आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : नजमुल हुसैन सान्तोको कप्तानीमा बंगलादेशी टोलीको घोषणा, बाहिरिए शकिब अल हसन

आइतबार, २८ पुस २०८१, १४ : ५३
आइतबार, २८ पुस २०८१

काठमाडौँ । अर्को महिना आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखमा पाकिस्तानमा आयोजना हुँदैछ । 

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नजमुल हुसैन सान्तोको कप्तानीमा च्याम्पियन्स ट्रफीका लागि आफ्नो टोलीको घोषणा गरेको हो । नजमुललाई च्याम्पियन्स ट्रफीमा मुसफिकर रहिम, महमुदुल्लाह लगायतका अनुभवी खेलाडीले पनि साथ दिनेछन् । 

अनुभवी अलराउन्डर शकिब अल हसनलाई भने च्याम्पियन्स ट्रफीका लागि टोलीमा समावेश गरिएको छैन । प्रभावशाली बलर शकिब अल हसन ‘बलिङ एक्सन’ परीक्षणमा फेरि असफल भएकाले उनलाई टोलीमा स्थान नदिइएको हो । 

शकिब अल हसनले चेन्नई टेस्टमा गरेको बलिङको शैली शंकाको घेरामा परेको थियो । सोही कारणले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का विज्ञँहरुले उनको बलिङ एक्सनको परीक्षण गरेका थिए । तर, दोस्रो परीक्षणमा पनि उनी असफल भएका थिए । 

त्यसअघि पहिलो परीक्षणमा पनि उनी असफल भएका थिए । सोही कारणले उनीमाथि माथिल्लो श्रेणीको घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो । शकिबको बलिङ एक्सन सबैभन्दा पहिले इङ्ल्यान्डको काउन्टी प्रतियोगिता खेल्ने क्रममा शंकाको घेरामा परेको थियो । 

त्यसपछि भारतविरुद्ध चेन्नईमा खेलिएको टेस्टमा पनि उनको बलिङ एक्सनको विषयलाई लिएर प्रश्न उठेको थियो । बलरका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाए पनि ब्याट्सम्यानका रुपमा भने उनले खेल्न पाउने सम्भावना थियो । तर, उनलाई टोलीमा समावेश गरिएन । 

एकदिवसीय ढाँचाको प्रतियोगिता च्याम्पियन्स ट्रफीमा ३७ वर्षीय शकिबको अनुपस्थिति बंगलादेशका लागि घाटाको विषय हो । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल सात हजार पाँच सय ७० रन बनाएका छन् । 

यो ढाँचाको क्रिकेटमा उनले नौ शतक र ५६ अर्धशतक प्रहार गरेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन सय १७ विकेट पनि लिएका छन् । त्यसैले पनि उनी ‘बलिङ एक्सन’ मा असफल भएपछि बीसीबी चिन्तामा परेको थियो । यद्यपि, उनलाई टोलीमा स्थान दिइएन । 

शकिबका अतिरिक्त अर्का अनुभवी खेलाडी लिटन दासलाई पनि च्याम्पियन्स ट्रफीका लागि टोलीमा समावेश गरिएको छैन । उनले पछिल्लो १३ एकदिवसीय अन्तर्राष्ट्रियमा एउटा पनि अर्धशतक बनाउन सकेका छैनन् । 

च्याम्पियन्स ट्रफीका लागि घोषित बंगलादेशी टोलीमा नजमुल हुसैन सान्तो (कप्तान), सौम्य सरकार, तनजिद हसन, ताहिद हृदोय, मुसफिकर रहिम, महमुदुल्लाह, जाकिर अली, मेहदी हसन, रिशाद हुसैन, तस्किन अहमद, मुस्तफिजुर रहमान, परवेज हुसैन, नसिम अहमद, तन्जिम हसन सकिब र नाहिद राणा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप