आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

मुरिवामा विकासको सूर्य कहिले झुल्किने हो ?

आइतबार, २८ पुस २०८१, १४ : ४६
आइतबार, २८ पुस २०८१

२०७९ असोज ८ गते जनकपुरधाममा रेल चढेर नेकपा एमालेका अध्यक्ष केपी ओली धनुषा जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोक पुगे । त्यहाँ उनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउन ‘पार्टी प्रवेश’ कार्यक्रमलाई सम्बोधन गरे । 

‘नेपाल रेल्वे’ मधेशको विम्ब हो । यसलाई उनले ‘क्याच’ र ‘क्यास’ पनि गरे । ओलीले रेल चढ्नु मधेशमोह देखाउनु मात्रै थिएन, अन्य मधेशकेन्द्रित दलका नेताले समेत गर्न नसकेको मिडिया स्टन्ट पनि थियो । यद्यपि उनले तिनकौरियानजिकै रहेको नेकपा एमाले पार्टी (तत्कालीन ‘माले’)को न्वारनकालको साक्षी गाउँ मुरिवाबारे ‘म’ पनि उच्चारण गरेनन् । 

जनकपुरधामदेखि १८ किलोमिटर पूर्वमा पर्ने ‘मुरिवा’ शिक्षा, सडक, स्वास्थ्य सेवासँग लगभग पूर्ण उपेक्षित छ । गाउँ वरपर केन्द्र सरकारको लगानीमा हुलाकी सडक, रेल्वे लाइन सञ्चालन, महिनाथपुर यदुकुहा, खजुरी र वीरेन्द्र बजार पक्की सडक निर्माण गरिए पनि मुरिवा जानलाई सजिलो बाटो पाउन मुस्किलै छ । मुरिवा गाउँ दुई टोलमा विभाजित छ — नवका टोल र बडका टोल । 

कुनै बेला जनकपुरधामबाट पूर्व जोगियारा नदी कटेर जाँदा तिनकौरियाभन्दा वरैबाट धान कुट्ने मिलको आवाज सुनिन्थ्यो, त्यही बाटो लाग्दा केहीबेरमै पुगिन्थ्यो मुरिवा । सडक यातायात चौपट्ट । जोगियरा नदीमा पुल नभएर सिसौका लामो मुढामा नदी तर्दा डुबिन्छ कि भनी डराएर मर्नुको अनुभूति हुन्थ्यो । जनकपुरमा रेल चढेर जाने इच्छा भए महिनाथपुर ओर्लेर त्यहाँदेखि बयलगाडामा ठाडी हुँदै मुरिवा जान सकिन्थ्यो । 

  • मुरिवा : कम्युनिस्ट विरासत

मुरिवाको एउटा अर्को परिचय पनि छ । यो पञ्चायतकालदेखि नै कम्युनिस्ट आन्दोलनको निम्ति उर्वर र आश्रयस्थल रहँदै आएको छ । त्यतिबेला माले (हाल एमाले र एस)का कैयौँ शीर्ष नेतालाई यस गाउँले ‘सेल्टर’ दिएको थियो । सेल्टर मात्र होइन, त्यतिबेला यो गाउँ वर्ग संघर्षमा सक्रिय क्षेत्र पनि थियो । भारतमा कम्युनिस्ट क्रान्तिकारी नेता चारु मजुमदारको नेतृत्वमा सुरु भएको नक्सलवादी सशस्त्र विद्रोहको प्रभावमा नेकपा (माले) गठन भएर नेपालमा पनि कम्युनिस्टहरूले झापाबाट सशस्त्र विद्रोह सुरु गरेका थिए । धनी किसान र जमिनदारविरुद्ध सशस्त्र कारबाहीबाट सुरु भएको आन्दोलनमा मुरिवा पनि एक्सन एरियाका रूपमा थियो । त्यसै क्रममा माधव नेपाल मुरिवाबाट गिरफ्तार भएका थिए । हाल नेपाल कम्युनिस्ट पार्टी (एस)का अध्यक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धनुषाका प्रायः प्रत्येक मञ्चमा मुरिवा गाउँलाई सम्झिने गर्छन् । यस भेगसँग जोडिएका त्यतिबेलाका अनेकौँ संस्मरण उनी सुनाउने गर्छन् । मुरिवा गाउँलाई देशकै नमुना गाउँका रूपमा विकास गर्ने संकल्प नेपालले कैयौँपटक लिएका छन् तर नेपालको संकल्प भन्नका निम्ति भनिएको जस्तो भएको छ ।

नेपालजस्तै यहाँ सेल्टर लिएका झलनाथ खनाल पनि प्रधानमन्त्री भए, केपी शर्मा ओली पनि प्रधानमन्त्री भए तर मुरिवाको कायापलट भएको छैन । यस भेगमा माटाका डल्ला (ढेला)ले हिर्काएपछि खुसी हुने एउटा देउता ‘ढेलमारा गोसाईं’ हुने गर्छ । मुरिवासँग यो विम्ब मेल खान्छ । माले धाराका प्रायः सबै शीर्षस्थ कम्युनिस्ट नेताहरू, पूर्वप्रधानमन्त्री जनकपुरधाम प्रवेश गरेसँगै मुरिवाको यशोगान गर्न बिर्संदैनन् । तर मुरिवा र यस भेगका गाउँ फेरिएका छैनन् । विकासको पंक्तिमा यो भेग अझै निकै पछाडि छ । 

माधवकुमार नेपाल धान राख्ने भकारी (कोठी)मा लुकेका थिए । प्रहरीले कोठी फुटाल्न लाग्दा उनी फर्सा (खुँडा) नचाउँदै बाहिर निस्के । भागदौड मच्चियो । प्रहरीले गोली चलायो । उनी जोगिए, तर पक्राउ परे ।
  • मुरिवाको क्रान्ति वृत्तान्त

नेकपा एसका नेता एवं राजनीतिक विश्लेषक शीतल झाका अनुसार, मुरिवाको छिमेकी गाउँ धबौलीमा रहेको विद्यालयमा भारतको विहार घोरबङ्कीका श्रीनारायण ठाकुरले पढाउँथे । भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित शिक्षक ठाकुले यस भेगमा पनि कम्युनिस्टहरूको संगठन निर्माण गर्न चाहन्थे ।

सीपी मैनालीको नेतृत्वमा मालेले झापाबाट सशस्त्र विद्रोह सुरु गर्‍यो । शिक्षक ठाकुरले धबौली, मुरिवा लगायत गाउँमा गरिब, मजदुर, दलित लगायत उत्पीडित समुदायलाई कम्युनिस्ट विचारबाट प्रशिक्षित गर्न थाले । यो प्रसङ्ग २०२९ सालतिरको हो ।

मुरिवाका असर्फी गोहिवार, रामसुन्दर दास, मनसिब गोहिवारसँग उनको सम्पर्क भयो । वैचारिक संवादका क्रममा एक दिन उनले, एक नेता गाउँमा आउन लागेको र उनीहरूलाई सेल्टर दिनुपर्ने भनेर जानकारी दिए । उनले भनेजस्तै भारतका रामचन्द्र यादव र ‘सिंहजी’ भन्ने रौतहट बस्ने पहाडिया मूलका एकजना कामरेड जनकपुरधामको रेल चढेर महिनाथपुर स्टेसनमा ओर्लिए । त्यहाँबाट उनीहरू मुरिवा पुगे । शिक्षक ठाकुरको सल्लाहमा यी दुईजना नेतालाई जगदेव गोहिवार र रामदेव गोहिवार दाजुभाइको घरमा राख्ने निधो गरियो । त्यतिबेला पञ्चायती सरकारको सुराकीको जगजगी थियो । त्यसैले स्थानीय राम अवतार पासवानले उनीहरूलाई सोझै गोहिवारको घर नलगी करिमन राइनको घरमा बासको व्यवस्था मिलाए ।

रौतहटबाट आएका यी सिंहजी उपनाम भएका पहाडिया मूलका कमरेड थिए माधवकुमार नेपाल । यी दुई नेताहरूले रामदेव गोहिवार, रामअवतार पासवान, अशेश्वर गोइत र अक्षय दासको घरमा दुई–चार दिनको फरकमा गोप्य रूपमा सर्र्दै संगठन निर्माण र क्याडर (कार्यकर्ता) प्रशिक्षणको काम गर्न थाले । 

स्थानीय राम अवतार पासवानका अनुसार परम्परागत सामाजिक, सांस्कृतिक संरचना तथा सामन्ती सोच र सत्तालाई भत्काएर नयाँ चेतना र संस्कृतिमा आधारित श्रमिक वर्गीय राज्यसत्ता निर्माण गर्ने वर्ग सङ्घर्षमा आधार क्षेत्रका रूपमा मुरिवा र यस वरिपरिको गाउँमा वाम राजनीतिको सुरुवात भयो । 

अशेश्वर गोइत जनकपुरधामको सरस्वती विद्यालयमा शिक्षक थिए । उनी पेसा त्यागेर भूमिगत राजनीतिमा लागे । मुरिवामा सीपी मैनाली, उनको श्रीमती सीता खड्का, झलनाथ खनाल, ईश्वर पोखरेल, रत्नकुमार बान्तवा, मुकुन्द न्यौपाने, शीतल झा आदि नेता भूमिगत रूपमा आउने–जाने गर्थे । धनुषाको मुरिवा, कचुरी, तारापट्टी, यदुकुहा, गोठकोयलपुर, ठेरा, कटरैत, मिथिलेश्वर मौवाही, बटेश्वर आदि गाउँ कम्युनिस्ट भूमिगत राजनीतिको सुरक्षित गढका रूपमा विकसित हुन थाले । 

कार्यकर्तालाई महोत्तरीको खैरमारा जंगलमा लगेर गुरिल्ला तालिम दिइयो । सीता खड्काको सक्रियतामा १० जना मधेसी मूलका महिला समेतलाई गुरिल्ला तालिम दिइएको थियो । धनुषाको जंगलमा बन्दुक चलाउने प्रशिक्षण र परीक्षण गरिन्थ्यो ।’ क्रमशः यस भेगमा पनि वर्ग सङ्घर्षको थालनी भयो ।

मुरिवामा फेकन विराजीको अध्यक्षतामा असर्फी गोहिवार, राम अवतार पासवान, हबिब राइन, राम आशिष पासवानसहित सात सदस्यीय गाउँ कमिटी बन्यो । 

यसै क्रममा प्रहरी, स्थानीय धनाढ्य र कम्युनिस्ट कार्यकर्ताबिच वर्गसंघर्ष चर्किन थाल्यो । प्रहरीको ठुलो जत्थाले गाउँ घेराउ गर्‍यो । घरघरमा सर्च गर्न थालियो । माधव नेपाल धोती लगाएर अनवर राइनको घरमा लुके । सीता खड्का साडी लगाएर महिलाहरूसँग ढिकीमा धान कुट्न थालिन् । 

माधवकुमार नेपाल धान राख्ने भकारी (कोठी)मा लुकेका थिए । प्रहरीले कोठी फुटाल्न लाग्दा उनी फर्सा (खुँडा) नचाउँदै बाहिर निस्के । भागदौड मच्चियो । प्रहरीले गोली चलायो । उनी जोगिए, तर पक्राउ परे ।

नेपालसँगै मुरिवाका फेकन विराजी, राम अवतार पासवान, सुन्दर पासवान, कारी पासवान, वजिर पासवान पनि पक्राउ परे । त्यस रात उनीहरूलाई यदुकुहा थानामा राखियो । भोलिपल्ट रेलमार्फत जनकपुरधामस्थित एसपी कार्यालयमा ल्याइयो । त्यसपछि पटकपटक यातना र बयानका क्रम सुरु भयो । १०–१२ दिनपछि माधव नेपाल, फेकन विराजी र हबिब राइनलाई दुई वर्षका लागि जलेश्वर कारागार पठाइयो ।

यसैबिच गुरिल्ला दस्ता तयार भयो । जमिनदारहरूलाई सफाया गर्ने र प्रहरीको हातहतियार लुट्ने योजना बन्यो । २०३३ भदौमा मुरिवाका जमिनदार केदार विराजीलाई ‘सफाया’ गरियो । प्रतिक्रियामा गाउँघरमा प्रहरी र पञ्चको उपद्रव सुरु भयो । २०३३ भदौ १० गते प्रहरीको गोलीबाट गुरिल्ला दस्ताका रामप्रित मारिए । प्रहरीको खोजीमा अशेश्वर गोइत थिए । उनी भकारीभित्र लुकेकाले जोगिए ।

रामप्रीत मारिँदा झलनाथ खनाल कचुरीमा थिए । सीपी मैनाली झापामा पक्राउ परे । प्रहरी दमन तीव्र हुँदै गयो । यसै क्रममा लडाकु दस्ताले तारापट्टीका जमिनदार ईश्वर साह र नौसय बिघाका भुइँलोटन यादवको ‘सफाया’ गर्‍यो । 

अर्कोतर्फ लडाकु दस्ताका सिरसियाका भोला साह र नौसय बिघाका झपसी मण्डल जमिनदारका लठैतहरूको आक्रमणबाट मारिए । नौसयबिघाका नामुद जमिनदार सुब्बा प्रेमप्रसाद पन्तको भकारी कब्जा गर्न गएका बेला सखुवा महेन्द्रनगर नजिक पर्वत्तामा उनीहरूको हत्या भएको थियो ।  

दुई वर्षपछि माधव नेपाल जेलबाट रिहा भएपछि धनुषाको ठेरा कचुरी गए । त्यहाँ स्थानीय चुलाई महराको घरमा बैठक बसेर जिल्ला कमिटी गठन गरी कार्य विभाजन गरियो । २०३४ सालतिर माधव नेपालकै अगुवाइमा राम अवतार पासवान, ईश्वर पोखरेल, रामलखन महतो, योगेन्द्र साह, रामकरण महतो लगायतको जिल्ला कमिटी धनुषा गठन गरिएको यहाँका वाम राजनीतिक विश्लेषक बताउँछन् ।

  • नख्खु जेल ब्रेक र मुरिवा

झापा विद्रोहका बेला मालेका महासचिव थिए सीपी मैनाली । उनीसहित १०–१२ जनालाई पक्राउ गरी काठमाडौँको नख्खु जेलमा राखिएको थियो । २६० फिटको सुरुङ खनेर जेल ब्रेक गरी मैनाली लगायतलाई रिहा गर्ने योजना बन्यो । ईश्वर पोखरेलको कमान्डमा मुरिवाका राम अवतार पासवान, धबौलीका रामअवतार मण्डल, गोठ कोयलपुरका रामविलास मुखिया र गिद्धाका सौखीलाल मण्डलहरूले एक महिनासम्म सुरुङ खने । ती दिनहरू सम्झँदै सांसद समेत भएका राम अवतार पासवान भन्छन्, ‘दुई सय फिट जति सुरुङ हामीले खनिसकेका थियौँ तर पुलिसले उनीहरूलाई त्यो जेलबाट अन्यत्र सारेपछि योजना असफल भयो । त्यसपछि चार दिनसम्म म र रामअवतार मण्डल झापाबाट हिँड्दै भोकै पेट घर फर्केका थियौँ ।’

मुरिवासँग वर्ग संघर्षका अनेकौँ कथा छन् । तपाईंसँग समय छ भने त्यस भेगका जनता घन्टौँ ती कथाहरू सुनाउन सक्छन् । 

  • मुरिवाको फरक परिचय

मुरिवा र यस भेगको परिचय वर्ग संघर्षभन्दा भिन्न पनि छ । भाषा वैज्ञानिक डा. रामावतार यादव (मुरिवा), अमेरिका वल्र्ड बैंकमा काम गरेका इकराही निवासी वरिष्ठ अर्थशास्त्री स्वर्गीय डा. सुकदेव साह, प्रगतिवादी नेपाली साहित्यकार पारिजातको कृति ‘शिरीषको फूल’को मैथिली अनुवादक साहित्यकार डा. गंगाप्रसाद अकेला, त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका केन्द्रीय विभाग प्रमुख बनेका डा. हबिबुल्लाह, युएनमा कार्यरत इकराहीका वीरचन्द्र मण्डल, अमेरिकामा रहँदै आएका हठीपुरका डा. सत्यनारायण यादव, डा. अजिज, शिक्षा क्षेत्रका प्रतिष्ठित अनुहार इकराहीका सुधीर झा, त्यहाँका बंगाली जमिनदार भट्टाचार्य परिवार, दुहबीका साहित्यकार अयोध्यानाथ चौधरी, प्राध्यापक रामसागर पण्डित, गिद्धाका डा. कुलदीप पण्डित, यौन तथ चर्मरोग विशेषज्ञ डा. नरेन्द्र पण्डित, कोरोनाकालमा जनकपुरधाम क्षेत्रका कमान सम्हालेका डा. रवि प्रधान लगायत त्यस भेगका अनेकौँ उल्लेखनीय नाम छन् । मुरिवा क्षेत्रमा नाटक मञ्चन, सांस्कृतिक कार्यक्रम, खेलकुद, पुस्तकालय सञ्चालन आदिमा यहाँका बुद्धिजीवीले सक्रिय भूमिका निर्वाह गरेको मुरिवामै जन्मिएका भाषा वैज्ञानिक डा. रामावतार यादव स्विकार्छन् । यसरी वर्ग सङ्घर्षको क्रान्तिकारी ऊर्जा र बौद्धिक व्यक्तित्वहरूको विरासतको बाबजुत मुरिवा विकासको प्रतिस्पर्धामा पछाडि नै छ । 

अन्त्यमा, 

त्यतिबेलाको माले अनेक घुम्ती पार गरेर अहिले ओलीको एमाले र नेपालको एकीकृत समाजवादीमा परिणत भएको छ । वैचारिक रूपमा पनि मालेको सर्वहारा वर्गको राज्यसत्ताका निम्ति क्रान्तिको लक्ष्य सिफ्ट भएर संसदीय राजनीतिक अभ्यासमा चुनावी हारजितको खेलमा छ । 

तराई मधेशमा विगतको कम्युनिस्ट र नेपाली कांग्रेसको संसदीय राजनीतिमा मधेशी आन्दोलनका बेला मधेशकेन्द्रित राजनीतिक दलहरू प्रभावकारी रूपमा उदाएका थिए । मुरिवा र यसका वरिपरिको क्षेत्र पनि यस प्रभावबाट मुक्त रहेन । मधेशकेन्द्रित दलका नेताहरू पनि मधेशी एजेन्डाबाट विमुख भएर देउवा–प्रचण्ड र ओलीका गठबन्धनहरूमा लहसिन थालेपछि उनीहरूको जनाधार कमजोर हुँदै गएको छ । 

हुन त मुरिवा गाउँसहितको विदेह नगरपालिकामा दलित समुदायका अगुआ बेचन दास मेयर छन्, जो वाम राजनीतिक पृष्ठभूमिबाट आएका हुन् । मधेश प्रदेश सभामा उनका भाइ लखन दास प्रदेश सांसद छन् । यद्यपि वर्तमान राजनीतिक र सामाजिक परिवर्तनको दिशा भने कम्युनिस्टहरुको समाजवादको लक्ष्यभन्दा फरक देखिन्छ । 

तिनकौरिया भ्रमणमा मुरिवा र यस भेगको वर्गसङ्घर्षको विरासत र सामाजिक परिवर्तनबारे ओलीले सम्बोधन गर्ने जनअपेक्षा भने पूरा हुन सकेन । नेपालको वर्ग सङ्घर्षमा र राजनीतिक परिवर्तनमा मुरिवा गाउँले एउटा इतिहास बोकेर बसेको छ तर यहाँ विकासको सूर्य कहिले झुल्किने हो भन्ने प्रश्न यथावत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नित्यानन्द मण्डल
नित्यानन्द मण्डल
लेखकबाट थप