फाइनलमा पुग्ने पहिलो टोली बन्यो आर्मी क्लब, मधेस प्रदेशलाई आठ विकेटले हरायो
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनलमा प्रवेश गरेको छ । आर्मी क्लब जारी प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली पनि बनेको छ ।
वीरगञ्जमा सम्पन्न खेलको दोस्रो दिन आइतबार आर्मी क्लबले मधेस प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आर्मी क्लबले २८ रनको लक्ष्य दोस्रो पालीमा ६ ओभरमा दुई विकेट गुमाएर ३० रन बनाउँदै पार गर्यो ।
दोस्रो पालीमा आर्मी क्लबका लागि ओपनर तृतराज दासले १३, सन्तोष कार्कीले चार, अर्का ओपनर इमरान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रनको योगदान गरे । मधेस प्रदेशका बलर प्रदीप पासवानले दुई विकेट लिए ।
त्यसअघि, आइतबार नै मधेस प्रदेशले आर्मी क्लबलाई केवल २८ रनको लक्ष्य दिएको थियो । मधेस प्रदेश आफ्नो दोस्रो पालीमा एक सय ५० रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा मधेस प्रदेशका लागि ओपनर मयान यादवबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका मयानले ४९ रन बनाए । मयानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ८७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । अर्का ओपनर हिमांशु दत्त ११ रनमा आउट भए । निरज यादव पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान हरिशंकर साहले एक सय ४२ बलको सामना गरी २५ रन बनाए ।
शैलेन्द्र साह एक र साहिल पटेल दुई रन बनाउँदै पेभेलियन फर्किए । प्रदीप पासवानले खातासम्म खोल्न सकेनन् । अभिषेक तिवारीले १९ रन बटुले । रुपेश सिंह एक रनमै आउट भए । मधेस प्रदेशले अतिरिक्त रुपमा पनि २२ रन पायो ।
आर्मी क्लबका बलर बसिर अहमदले चार विकेट लिए । उनले २०.१ ओभरमा सात मेडन राख्दै केवल २३ रन खर्चिए । साहब आलमले पनि तीन विकेट लिए । उनले २६ ओभरमा सात मेडन राख्दै ४५ रन खर्चिए । आकाश चन्दले दुई विकेट हात पारे ।
त्यसअघि, मधेस प्रदेशका ब्याट्सम्यानले पहिलो पालीमा पनि खराब प्रदर्शन गरेका थिए । त्यसैले मधेस प्रदेश पहिलो पालीमा ‘फलो अन’ मा परेको थियो । पहिलो पालीमा मधेस प्रदेशका लागि कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाएका थिए । उनले ४३ बलमा चार चौका हिर्काए ।
ओपनर मयान यादबले ११, अभिषेक तिवारीले १३ र प्रदीप पासवानले १० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिए । उनले १२ ओभरमा पाँच मेडन राख्दै केवल ३७ रन खर्चिए । सोमपाल कामी, आकाश चन्द, बसिर अहमद र पवन कार्कीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको आर्मी क्लबले नौ विकेटको नोक्सानीमा दुई सय २५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । आर्मी क्लबका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए ।
बसिर अहमदले ६७ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले ९८ बलको सामना गरी सात चौका पनि हिर्काए । भीम सार्कीले पनि टोलीका लागि ५२ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान भीमले ९३ बलको सामना गरी ६ चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान इमरान शेखले पनि टोलीको खातामा महत्त्वपूर्ण ४२ रन थपे । उनले ७५ बलमा आठ चौका पनि प्रहार गरे । आर्मी क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । आर्मी क्लबले अतिरिक्त रुपमा पनि २९ रन पाएको थियो ।
मधेस प्रदेशका बलर रञ्जित कुमार एक्लैले पाँच विकेट लिए । उनले १६.३ ओभरमा तीन मेडन राख्दै केवल ४४ रन खर्चिएका थिए । प्रदीप पासवानले पनि दुई विकेट हात पारे । उनले १४ ओभरमा ६० रन खर्चिए । अभिषेक तिवारी र हरिशंकर साहले पनि एक–एक विकेट विकेट लिए ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय रुपमा खेलाइँदै छ ।
फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाविक्ता कार्यालय : गत आवमा ६८.२७ प्रतिशत मुद्दामा सफलता
-
तस्बिरमा सिनेमा वसन्तको ‘लाल जोडी’
-
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
-
२ जना मृतावस्थामा फेला
-
९५% युवा सामाजिक सञ्जालमा सक्रिय : आम्दानी हुन्छ तर बिग्रँदै छ मानसिक स्वास्थ्य
-
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे