मधेस प्रदेशलाई हराउन आर्मी क्लबले २८ रन बनाए पुग्ने
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा आइतबार मधेस प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल २८ रनको लक्ष्य दिएको छ । वीरगञ्जमा जारी खेलको दोस्रो तथा अन्तिम दिन आइतबार मधेश प्रदेश आफ्नो दोस्रो पालीमा एक सय ५० रन बनाउँदै अलआउट भयो ।
जारी प्रतियोगिताको प्रारम्भिक चरणमा यी दुवै टोलीले आफ्नो तेस्रो तथा अन्तिम खेल खेलेका हुन् । दोस्रो पालीमा मधेस प्रदेशका लागि ओपनर मयान यादववाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका मयानले ४९ रन बनाए ।
मयानले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ८७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । अर्का ओपनर हिमांशु दत्त ११ रनमा आउट भए । निरज यादब पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान हरिशंकर साहले एक सय ४२ बलको सामना गरी २५ रन बनाए ।
शैलेन्द्र साह एक र साहिल पटेल दुई रन बनाउँदै पेभेलियन फर्किए । प्रदिप पासवानले खातासम्म खोल्न सकेनन् । अभिषेक तिवारीले १९ रन बटुले । रुपेश सिंह एक रनमै आउट भए । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि २२ रन पायो । आर्मी क्लबका बलर बसिर अहमदले चार विकेट लिए । उनले २०.१ ओभरमा सात मेडन राख्दै केवल २३ रन खर्चिए । साहब आलमले पनि तीन विकेट लिए । उनले २६ ओभरमा सात मेडन राख्दै ४५ रन खर्चिए । आकाश चन्दले दुई विकेट हात पारे ।
त्यसअघि, मधेश प्रदेशका ब्याट्सम्यानले पहिलो पालीमा पनि खराब प्रदर्शन गरेका थिए । त्यसैले मधेश प्रदेश पहिलो पालीमा ‘फलो अन’ मा परेको थियो । पहिलो पालीमा मधेश प्रदेशका लागि कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाएका थिए । उनले ४३ बलमा चार चौका हिर्काए ।
ओपनर मयान यादवले ११, अभिषेक तिवारीले १३ र प्रदिप पासवानले १० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिए । उनले १२ ओभरमा पाँच मेडन राख्दै केवल ३७ रन खर्चिए । सोमपाल कामी, आकाश चन्द, बसिर अहमद र पवन कार्कीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको आर्मी क्लबले नौ विकेटको नोक्सानीमा दुई सय २५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । आर्मी क्लबका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । बसिर अहमदले ६७ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले ९८ बलको सामना गरी सात चौका पनि हिर्काए । भीम सार्कीले पनि टोलीका लागि ५२ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान भीमले ९३ बलको सामना गरी ६ चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान इमरान शेखले पनि टोलीको खातामा महत्वपूर्ण ४२ रन थपे । उनले ७५ बलमा आठ चौका पनि प्रहार गरे । आर्मी क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । आर्मी क्लबले अतिरिक्त रुपमा पनि २९ रन पाएको थियो ।
मधेस प्रदेशका बलर रञ्जित कुमार एक्लैले पाँच विकेट लिए । उनले १६.३ ओभरमा तीन मेडन राख्दै केवल ४४ रन खर्चिएका थिए । प्रदिप पासवानले पनि दुई विकेट हात पारे । उनले १४ ओभरमा ६० रन खर्चिए । अभिषेक तिवारी र हरिशंकर साहले पनि एक–एक विकेट विकेट लिए ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय रुपमा खेलाइँदै छ ।
फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ ।