आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट

बागमतीलाई हराउन पुलिसले ११६ रन बनाउनुपर्ने

आइतबार, २८ पुस २०८१, १३ : ११
आइतबार, २८ पुस २०८१

काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा आइतबार बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । जनकपुरमा जारी खेलको दोस्रो तथा अन्तिम दिन आइतबार बागमती प्रदेश आफ्नो दोस्रो पालीमा दुई सय १८ रन बनाउँदै अलआउट भयो ।

जारी प्रतियोगिताको प्रारम्भि चरणमा यी दुवै टोलीले आफ्नो तेस्रो तथा अन्तिम खेल खेलेका हुन् । दोस्रो पालीमा बागमती प्रदेशका ब्याट्सम्यानहरु ५३ ओभरसम्म क्रिजमा टिके । पहिलो पालीमा निराशाजनक प्रदर्शन गरेको बागमती प्रदेशका लागि दोस्रो पालीमा दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान गरे । 

बागमती प्रदेशका लागि तेस्रो नम्बरका ब्याट्सम्यान शुभ कंसाकारले ७० रन बनाए । उनले केवल ७४ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान रित गौतमले पनि टोलीका लागि ५२ रनको योगदान गरे ।

रितले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काए । बागमती प्रदेशका अर्का ओपनर इशान पाण्डे भने तीन रको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल आठ रन थियो । त्यसपछि रित र शुभले टोलीको स्कोरलाई एक सय १७ रनसम्म डोर्याएका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान रोशन विक चार रनमै पेभेलियन फर्किए भने विकेटकिपर ब्याट्सम्यान उत्तम मगरले १४ रन बनाए । प्रतिक श्रेष्ठले पनि टोलीको खातामा १३ रन थपे । नन्दन यादवले १० रन बटुले । कप्तान सन्दीप लामिछाने पनि १६ रन बनाउँदै आउट भए । प्रतिस जीसी पनि तीन रनमै पेभेलियन फर्किए । तल्लो क्रमका ब्याट्सम्यान सूर्य तामाङले १६ रन बनाउँदै आउट भए । रिजन ढकाल १० रनमा अविजित रहे । 

बागमती प्रदेशले अतिरिक्त रुपमा पनि सात रन पायो । पुलिस क्लबका बलर ललित राजवंशीले तीन विकेट लिए । श्रवण यादवले दुई विकेट हात पारे । गुलसन झा, रासिद खान, कुशल भुर्तेल र प्रेम तामाङले पनि एक–एक विकेट कुम्ल्याए ।  त्यसअघि, पुलिस क्लबले आफ्नो पहिलो पालीमा दुई सय १५ रन बनाएको थियो । पुलिस क्लबका लागि अमित श्रेष्ठ र अर्जुन साउदले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरका ब्याट्सम्यान अमितले ७९ रन बनाए । उनले ९७ बलमा दुई छक्का र १० चौका पनि प्रहार गरे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान अर्जुनले पनि ७७ रन बनाए । उनले ८२ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । पुलिस क्लबले ३५ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो ।  त्यसपछि अमित र अर्जुनले टोलीको स्कोरलाई एक सय ८३ रनको बलियो स्थितिमा पुर्याएका थिए । पहिलो पालीमा पुलिसका दुवै ओपनरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दिलिप नाथ सात र कप्तान कुशल भुर्तेल आठ रनमा आउट भएका थिए ।

गुलसन झाले भने टोलीको खातामा १७ रन थपेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिस क्लबले अतिरिक्त रुपमा पनि १६ रन पायो । बागमती प्रदेशका बलर सन्दीप लामिछानेले चार विकेट लिए । सन्दीपले ११.५ ओभरमा तीन मेडन राख्दै ६५ रन खर्चिए । नन्दन यादव र प्रतिस जीसीले पनि दुई–दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि एक विकेट लिए । पुलिस क्लबका एक ब्याट्सम्यान भने रन आउट भएका थिए ।

त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले आफ्नो पहिलो पालीमा निराशाजनक प्रदर्शन गर्दै केवल एक सय १२ रनमा अलआउट भएको थियो । पहिलो पालीमा बागमती प्रदेशका लागि ओपनर इशान पाण्डेले अर्धशतक बनाएका थिए । 

इशानले टोलीका लागि ७१ रनको योगदान गरे । उनले ९४ बलको सामना गरी १० चौका पनि हिर्काएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका प्रतिक श्रेष्ठले १२ रन बनाए । पहिलो पालीमा बागमती प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
पुलिस क्लबका बलर ललित राजवंशीले चार विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै केवल २७ रन खर्चिए । श्रवण यादवले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा एक मेडन राख्दै केवल नौ रन खर्चिए । कुशल भुर्तेलले पनि दुई विकेट लिए । 

नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय रुपमा खेलाइँदै छ । 

फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप