आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

तीन कविता

आइतबार, २८ पुस २०८१, १२ : ५५
आइतबार, २८ पुस २०८१

१) ओ मैच्याङ !

जीवनका दुःखहरू पोताएर 
समयले नेटो काट्यो 
म टिष्टा बगरमा लडिरहेँ
बालुवा चाट्दै ।

म हारेको छैन युद्ध किल्लाहरूमा 
हारेको छैन म जीवन सङ्घर्षमा 
आउ 
हातेमालो गरौँ 
काँगडा रोइरहेका बेला ।

मरेको छैन मभित्रको भीमसेन 
मरेको छैन म भित्रको बलभद्र 
रगत पोतिएका बेला     
खुकुरी 
सीमाभित्र कैद नहुनुपर्ने ।

ओ मैच्याङ ! 
तिमीलाई थाहा नहुन सक्छ, युद्ध किल्ला 
तिमीलाई थाहा नहुन सक्छ, आफ्नै च्याङ्बा 
र थाहा नहुन सक्छ 
भीमसेनहरू 
बलभद्रहरू 
अनि अमरसिंह थापाहरू 
आऊ भलाकुसारी गरौँ
तिम्रो च्याङ्बाले 
देशको मानचित्र खोज्दै गरेका बेला ।


२) विपनाका सपनाहरू 

जाउ 
क्षितिजमा टेक बाबु 
रक्तिम इतिहास कोर्न
जहाँबाट जीवनयात्रा प्रारम्भ हुन्छ ।

सम्भावनाका बिहानी आभाहरू 
जब हिमाल उक्लन्छन्
तिमी मिठा सपनाहरू बोकेर 
हिमालबाट ओर्ल
र गम्लङ्ग अँगालो हाल 
तिम्रा खोसिएका विपनालाई ।

म रमाइला सपनाहरू हराएर 
नरमाइला विपनाका सपना कति देखुँ ?
लैजाउ बाबु 
यी विपनाका सपनाहरू 
र लुकाउ खोकिलामा 
फेरि खोसिन नपाउन् 
विपनाका सपनाहरू ।

३) मौसमी छेपाराहरू 

मौसमी छेपाराहरू 
रङ बदलिरहन्छन् 
मौसम/बेमौसम ।

छेपाराहरू 
बेमौसममा गुफा पस्छन् 
जब अनुकूलता मिल्छ 
रङ बदल्न थाल्छन् 
खैरा, निला, राता 
अनेक छद्म भेषमा ।

रङ बदल्नु उनीहरूको धर्म हो 
रंगीन समयमा 
रङदार भएर नै बाँच्नुपर्छ 
आँगन टेढो भएर के भो ?
आफू पनि टेढै भएर नाच्नुपर्छ ।

मौसमी छेपाराहरू 
बहुत धूर्त हुन्छन् 
कहिले आफैँ रङ फेर्छन् 
कहिले अरुलाई रङ फेराउँछन्
समय अनुकूल नहुँदा 
चेपारो पनि घस्छन् ।

चेपारो घस्न छोड 
ए मौसमी छेपाराहरू
तिम्रो छेपारे प्रवृत्तिप्रति खेद प्रकट गर्दै 
मैले मुर्दावाद भन्नुपर्ने हुन्छ 
छेपारे प्रवृत्ति – मुर्दावाद ।

सुन्दरहरैँचा–६, दुलारी, मोरङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा
लेखकबाट थप