आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

दुई तिहाइको सरकारले अध्यादेश होइन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता साउद

आइतबार, २८ पुस २०८१, ११ : ४९
आइतबार, २८ पुस २०८१

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले दुई तिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको जिकिर गरेका छन् । बहुमत हुँदा पनि संसद् बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताउँदै उनले तत्काल संसद् सञ्चालन गरी विधेयक मार्फत आउन चेतावनी दिए ।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका साउदले संसद् छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायित्व दिन नसक्ने ठोकुवा गरे । उनले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।

साउदले भने, ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐनहरू निर्माण बनाइरहेको छ, जुन संविधानसंवत छैन । यसको विषयमा चौतर्फी विरोध भइरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन । ’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे । उनले दुई दल बिचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए ।

संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने  ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ ।’ 

उनले संविधान संशोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संशोधन गर्ने बेला आएको बताए । उनले स्थिरताको तत्त्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायित्वको तत्त्व समावेश हुन सक्दैनन् भने संवैधानिक प्रबन्ध उचित नहुने तर्क गरे ।

ठुला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमति विपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप