आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय
बिग बास लिग क्रिकेट

जब छोराको क्याच दर्शकका रुपमा उपस्थित पिताले समाए !

आइतबार, २८ पुस २०८१, ११ : ३५
आइतबार, २८ पुस २०८१

काठमाडौँ । विश्व खेलकुदमा समय–समयमा गजबका घटना हुन्छन् । यस्ता घटनाले समर्थकहरुलाई पनि मनोरञ्जनको भरपुर अवसर प्रदान गर्छन् । यस्तै एउटा रमाइलो घटना अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा पनि भएको छ ।

त्यो घटनाको भिडियो अहिले सामाजित सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा क्रिकेट पारखीहरुले पनि रमाइलो प्रतिक्रिया दिइरहेका छन् । घटना शनिबार अबेरको हो । बिग बास लिगमा एडलेइड स्ट्राइकर्स र ब्रिसबेन हिटबिच खेल भइरहेको थियो । 

ब्रिसबेन हिटले ब्याटिङ गरिरहेको थियो । ब्रिसबेन हिटका ब्याट्सम्यान नाथन म्याकस्विनी क्रिजमा डटेका थिए । म्याकस्विनी अस्ट्रेलियन राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । आफ्नो छोराको खेल हेर्न म्याकस्विनीका पिता पनि स्टेडियममा उपस्थित थिए । 

खेलका क्रममा म्याकस्विनीले एउटा निकै लामो दुरीको छक्का प्रहार गरे । उनको शक्तिशाली प्रहार हावामा घुम्दै ‘बाउन्ड्री लाइन’ माथिबाट दर्शक दिर्घातर्फ बढ्यो । संयोगले त्यो बल म्याकस्विनीका पिता भएकै स्थानमा पुग्यो ।

त्यसपछि म्याकस्विनीका पिताले त्यो बललाई हावामै समाए । यो घटना भिडियो क्यामेराहरुमा पनि कैद हुन पुग्यो । छोराले प्रहार गरेको क्याच दर्शक दिर्घामा बसेका पिताले समाएपछि दर्शकहरुले पनि निकै रमाइलो मानेका थिए । 

रंगशालामा उपस्थित हजारौँ दर्शकबिच म्याकस्विनीको प्रहार उनकै पितानजिक पुग्नु वास्तबमै गतिलो संयोग थियो । सामाजिक संजालमा यो भिडियो भाइरल भएपछि केही समर्थकले त म्याकस्विनीले जानेरै आफ्ना पिता बसेको स्थानतर्फ छक्का प्रहार गरेको प्रतिक्रिया पनि दिएका छन् । 

उक्त खेलमा म्याकस्विनीको टोली ब्रिसबेन हिट पराजित भएको थियो । एडलेइड स्ट्राइकर्सले ब्रिसबेन हिटलाई ५६ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको एडलेइड स्ट्राइकर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ५१ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ब्रिसबेन हिटले भने निर्धारित २० ओभरमा एक सय ९५ रनमात्र बनाउन सकेको थियो । ब्रिसबेन हिटका लागि म्याकस्विनीले सबैभन्दा बढी ४३ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप