आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

नवलपरासीका किसान भन्छन्– सांसद विनोद चौधरीले हामीलाई झुक्याए

किसानको समस्यामा चुइँक्क नबोलेको गुनासो
आइतबार, २८ पुस २०८१, १० : ५६
आइतबार, २८ पुस २०८१

बुटवल । नवलपरासीको सुस्ता गाउँपालिका, रतनगञ्ज निवासी ३८ वर्षीय रामप्रवेश कहारले २०७० सालदेखि केरा खेती गर्दै आएका छन् ।

डेढ बिघा जग्गामा केरा खेती गर्दै आएका कहारले २०७९ सालमा नवलपरासी क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरी प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेपछि आफूजस्ता किसानको जीवन सहज हुने अपेक्षा गरे । किनकि, चुनाव प्रचारका क्रममा चौधरीले केरा खेती गर्दै आएका किसानका लागि समयमा मलखाद, बजारीकरण, हावाहुरीबाट हुने क्षतिको लागि बीमासँगै सुस्तामा केरा सम्बन्धी उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाए ।

तर, प्रतिनिधि सभा सदस्यमा चुनाव जितेपछि चौधरीका ती प्रतिबद्धता अनुसार अहिलेसम्म कुनै काम नभएको कहारको गुनासो छ ।

हुन पनि नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा जितेका विनोद चौधरीले आफ्नो चुनावी प्रतिबद्धतापत्रको तेस्रो नम्बर बुँदामा उद्यमशीलतालाई साथ र सहयोग गर्ने, उखु र केरा किसानका समस्या समाधान गर्ने उल्लेख गरेका थिए ।

380da5c2-fbf8-40a5-9e58-b13c85f1348d

नवलपरासी क्षेत्र नम्बर १ मा पर्ने प्रतापपुर र सुस्ता गाउँपालिका केरा र उखु खेतीका लागि प्रख्यात छन् । वर्षौंदेखि यहाँका किसानले केरा र उखु खेती गर्दै आएको नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा राजेन्द्र चौवले रातोपाटीलाई बताए । उनले जिल्लाको ९० प्रतिशत उखु र केरा यही क्षेत्रमा उत्पादन हुने गरेको जानकारी दिए ।

२०७९ सालमा भएको निर्वाचनको बेलामा विनोद चौधरीले नवलपरासीमा केराजन्य उद्योग स्थापन गर्ने घोषणा गर्दै सुस्तामा शिलान्याससमेत गरेका थिए । तर अहिलेसम्म त्यहाँ उद्योग स्थापना भएको छैन ।

चौधरीले नवलपरासीका किसानहरूलाई झुक्याएको प्रतापपुर, बेलाटारीका किसान हिरालाल गुप्ताको भनाइ छ । गुप्ताका अनुसार किसानको समस्याबारे चौधरीले निर्वाचनको बेला गरेको बाचा बिर्सिएका छन् ।

चौधरीले चुनाव प्रचारका क्रममा यस क्षेत्रमा केराको चिप्स बनाउने उद्योग स्थापना गर्ने आश्वासन दिँदै यसबाट किसानले केराको  उपयुक्त मूल्य पाउने र रोजगारीसमेत सिर्जना हुने बताएको गुप्ताको भनाइ छ । तर अहिलेसम्म चौधरीले यस सम्बन्धमा कुनै काम नगरेको उनले बताए ।

सुस्ता गाउँपालिका–२ को थेराना चोकका हरिशचन्द्र भर पनि सांसद चौधरीले स्थानीयका समस्याहरू भुलेको आरोप लगाउँछन् । ५६ वर्षीय भरका अनुसार चौधरीले चुनावको बेला यहाँ कृषि उद्योग खोल्नेदेखि उखु किसानमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर अहिलेसम्म कुनै काम नभएको उनको गुनासो छ ।

3

सुस्ता र प्रतापपुरमा अहिले ३ हजार ६५० हेक्टरमा केराका बिरुवा लगाएको छ भने ३२ सय हेक्टरमा उत्पादकत्व भइरहेको छ । जसबाट ५८ हजार २४० मेट्रिक टन केरा उत्पादन हुने अनुमान जिल्ला कृषि ज्ञान केन्द्रको छ ।

केरा उत्पादन व्यवसायी संघ नवलपरासीका अध्यक्ष लखु प्रसाद यादव पनि विनोद चौधरीले केराको उद्योग स्थापना गर्ने आश्वासन दिएर पनि अहिले बेवास्ता गरेको आरोप लगाए । ‘उहाँले भोट माग्ने बेलामा यहाँका जे–जे समस्या छन्, सबै समाधान गरिदिन्छु भन्नुभयो,’ उनले भने, ‘तर अहिलेसम्म कुनै काम गर्नुभएको छैन ।’

उद्योग शिलान्यास गरे पनि निर्माणको प्रक्रिया सुरु नै नभएको यादवले बताए । उनले उद्योग स्थापना गर्दा केराको बोक्राबाट रेसा बनाउने, केराबाट चिप्स बनाउने हुँदा धेरै जनाले रोजगारी पाउने, केराको बजारीकरण सहज हुने अपेक्षा गरे पनि पछिल्लो समय ती योजनाका बारेमा सांसद विनोद चौधरी चुइँक्क पनि नबोल्ने गरेको आरोप लगाए ।

निर्वाचन जितेपछि चौधरी निर्वाचन क्षेत्रमा निकै कम आउने गरेको स्थानीयको गुनासो छ । केरा तथा उखु खेती गर्दै आएका किसानले मलखादका लागि भारतीय बजारकै भरपर्नु परेको छ । उनीहरूले भारतबाट लुकीछिपी मल ल्याएर खेती गर्दै आएका छन् ।

e0b76d69-3f36-44eb-94f2-4c96a90d17d4

यस्तै उखु उत्पादन गरेका किसानलाई समयमै चिनी मिलले भुक्तानी दिने गरेका छैनन् । चिनी मिलहरूले गत वर्षकै उखुको पूरा पैसा किसानलाई अहिलेसम्म पनि दिएका छैनन् । एक लाख रुपैयाँको उखु लैजाँदा चिनी मिलले बल्ल–तल्ल २५÷३० हजार नगद दिएर बाँकी रकम उधारोमा राख्ने गरेको किसानको गुनासो छ ।

सुस्ताका किसान कहारले भने, ‘उखु किसानहरूलाई चिनी मिलले १५ दिन अथवा एक महिना पैसा दिने व्यवस्था गर्नुपर्छ । तर यहाँ किसानको कुरा कसैले सुन्दैनन् ।’

प्रतापपुर, बेलाटारीका सुरेन्द्र शर्मा पनि सांसद चौधरीले संसद् या अन्य ठाउँमा किसानको विषयमा केही नबोल्दा किसानहरू निराश भएको बताउँछन् । उनले धेरै नेताहरूले जस्तै चौधरीले पनि मतदातालाई ढाँटेको बताए ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले किसानको समस्या समाधान गर्न सांसद चौधरीको ध्यान नपुगेको बताए । स्थानीय तहले आफ्नो क्षमताले भ्याएसम्म किसानको हकमा काम गर्दै आए पनि संघीय सांसद, प्रदेश सभा सदस्यले बेवास्ता गरेका कारण प्रभावकारी रूपमा काम गर्न नसकिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप