पर्यटनका विविध आयाममाथि छलफल गर्दै रातोपाटी टुरिजम कन्क्लेभ सम्पन्न
काठमाडौं । ‘रातोपाटी टुरिजम कन्क्लेभ’ सम्पन्न भएको छ । रातोपाटीको आयोजनामा शनिबार राजधानीको ठमेलस्थित यात्री होटलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख आथित्यतामा कन्क्लेभ सम्पन्न भएको हो । कन्क्लेभमा तीनवटा सत्र थिए ।
पहिलो सत्र ‘इन्ड्युरिङ ट्रेल्स : रिडिफाइनिङ नेपाल्स एक्सेरियस्नस फर २०३०’ विषयमा थियो । उक्त सत्रमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, प्यासिफिक एशिया ट्राभल्स एसोसिएसन (पाटा) का उपाध्यक्ष सुमन पाण्डे, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल एशोसिएसन फर ट्राभल एण्ड टुर एजेन्स (नाट्टा) का अध्यक्ष तथा कुमारमणि थपलिया र नेपाल पर्वतारोहण संघ (एमएनए) का अध्यक्ष निमा नुरु शेर्पा सहभागी थिए ।
कार्यक्रममा पर्यटन बोर्डका सीईओ जोशीले सरकारले अहिले पर्यटन वर्ष २०२५—३५ का लागि तयारी गरिरहेको भन्दै त्यसको प्राथमिकतामा पूर्वाधार, जनशक्ति, प्रोडक्ट इनोभेसन लगायत काम गर्न लागेको बताए । अहिलेको टुरिजमले हिजोकै प्रोडक्ट बेचिरहेको भन्दै उनले अब यसलाई पुनर्परिभाषित गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले पर्यटन क्षेत्र आफू सुधार हुने भन्दा पनि अन्य क्षेत्रको सुधारले योगदान गर्ने बताए । पूर्वाधार, वन, परराष्ट्र, गृह लगायत मन्त्रालयसँग बढी समन्वय गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले छिमेकी देशको टुरिजमबाट नेपालले लाभ लिनसक्ने भन्दै भारतबाट नेपालको कनेक्टिभिटी बढाउनुपर्ने बताए ।
उनले पर्यटन क्षेत्रमा ४/५ वर्षको अन्तरालमा कुनै न कुनै प्रकोप आउने गरेको भन्दै सम्भावित प्रकोपको क्षति कम गर्नको लागि तयार हुनुपर्नेमा जोड समेत दिए । त्यसका लागि प्राथमिकता तोकेर त्यसमा एक्सनमा जानुपर्ने उनले बताए ।
सीईओ जोशीले नेपाल पर्यटन बोर्डमा ५५ प्रतिशत निजी क्षेत्रको सहभागिता रहेको बताए । उनले अहिले नेपालमा टुरिजमको संस्कृति फेरिएको भन्दै अहिले पर्यटकहरुले आफैँ प्याकेज खोज्ने गरेको बताए । उनले भ्रमण दशक भनेर बाहिर प्रचार गर्नुभन्दा आन्तरिक तयारीलाई बढाउनुपर्नेमा जोड दिए ।
उनले नेपालमा संस्थाहरु बिग्रिएको कारणले धेरे कुराहरु पहिले भन्दा पनि धेरै कमजोर बन्दै गएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत मात्रै ४८ वटा संस्था भएको भन्दै उनीहरुले राम्रो र समन्वयात्मक ढंगले काम गर्न नसक्दा समस्या आइरहेको जोशीको भनाइ छ ।
कन्क्लेभमा टानका अध्यक्ष कुमार थपलियाले अहिले सरकारका सबै निकायमा बस्नेले समस्या देखाउने गरेको भन्दै कुनै पनि व्यक्तिले प्रतिवद्धता व्यक्त गर्न नसकेको बताए । उनले सरकारले चाहेमा रातारात मन्त्रालय फुटाउने तर ईयूको कालोसूचीमा हुँदा पनि अझैसम्म पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने विधेयक आउन नसकेको भन्दै सिस्टमले नै काम गर्न नचाहेको बताए ।
कार्यक्रममा नाट्टाका अध्यक्ष थपलियाले नेपालमा भएका हिमाल र जंगलको निश्चित क्षमता हुने भन्दै सरकारले लिएजस्तो ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न ‘माइस टुरिजम’मा ध्यान दिनुपर्ने बताए । तर, नेपालको भन्सार, भिसा लगायत प्रक्रियाका कारण व्यक्तिहरु सभा, सेमिनार, विवाह जस्ता कार्यक्रमका लागि नेपाल आउनै नचाहने अवस्था भएको उनीहरुको भनाइ छ । अहिले सरकारले व्यवसायीहरुलाई चोर फटाहाकै रुपमा हेर्ने गरेको भन्दै यो अवस्था सुधार नभएसम्म पर्यटन नबढ्ने बताए ।
उनले सुनमा जस्तै अहिले हवाई टिकटमा समेत तस्करी हुने गरेको भन्दै मानिसहरु अहिले भ्याटका कारण बागडारा विमानस्थलबाट विदेश उड्न थालेको समेत बताए । कार्यक्रममा एनएमएका अध्यक्ष शेर्पाले पर्यटन ऐन आउनुभन्दा अगाडि आएको एनएमएलाई पछिल्लो समय स्रोतबिहीन बनाइएको भन्दै जिम्मेवारी निभाउनै कटिन अवस्था रहेको बताए । एनएमएले २७ वटा पर्वतारोहण व्यवस्थापन, पर्वतारोहण एकेडेमी सञ्चालन तथा प्रोफाइलको जिम्मा भए पनि काम गर्न अप्ठ्यारो परेको उनको भनाइ थियो ।
दोस्रो सत्रमा ‘पोलिसी एण्ड प्राक्टिस : अ रोडम्याप फर सस्टेनेबल टुरिजम’ विषयमा छलफल भएको थियो । सो छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, पाटा नेपालका उपाध्यक्ष सुमन पाण्डे र पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले छलफल गरेका थिए । उक्त सत्रमा मन्त्री पाण्डेले नेपालले पर्यटन सुधारका लागि तेर्सो (अन्तर मन्त्रालय) र ठाडो (अन्तर सरकार) दुवै प्रकारको समन्वयलाई विस्तार गर्दै गएको बताए ।
त्यस्तै, सरकारले नीति तथा कानूनहरुको परिमार्जनलाई अघि बढाएको, सानो प्रयासबा सम्पन्न हुनसक्ने सुधारलाई ध्यान दिएको बताए । पर्यटन क्षेत्रमा देखिएको समन्वयलाई प्रभावकारी बनाउन माघ महिनामा सबै सर्वपक्षीय भेला आयोजना गर्न लागेको उनले जानकारी दिए ।
मन्त्री पाण्डेले निजी क्षेत्रको सहभागिताबिना पर्यटन क्षेत्र चल्नै नसक्ने भन्दै सरकारले यसमा हस्तक्षेप नगर्ने समेत बाए । उनले सरकारको अबको नियमन कर छली, श्रमशोषण र कालोबजारी नहोस् भन्नेमा मात्रै केन्द्रित रहेको र अरु सबै कुरारु खुला छोडिएको बताए ।
मन्त्री पाण्डेले सरकारले अहिले नागरिक उड्डयनसम्बन्धी ऐन संसदमा लैजाने तयारी गरेको भन्दै यही अधिवेशनभित्र यसलाई अन्त्य गर्ने उल्लेख गरे । विमानस्थल सुधारका लागि १५ दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको समेत उनले बताए ।
त्यस्तै, पूर्व पर्यटनसचिव दीपेन्द्रपुरुष ढकालले सरकारले विभिन्न समयमा नीति ल्याउने गरेको भन्दै पहिले ल्याएका नीतिको २० प्रतिशत पनि कार्यान्वयन नभएको दाबी गरे । उनले नयाँ नीति रणनीति बनाउनुभन्दा पुरानै नीति कार्यान्वयनमा जोड दिए । यद्यपि नीति परिमार्जन गर्दैमा आपत्ति नभएको उनको भनाइ थियो ।
पाटामा उपाध्यक्ष पाण्डेले अहिले पर्यटन क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स र बिजिनेस इन्टिलिजेन्सको जमाना आएको भन्दै नेपाल पनि यसतर्फ जान ढिला गर्न नहुने बताए । उनले अहिलेको समस्याहरु नीतिका कारण नभएर बजार विशिष्टीकरण गर्न नसकेको कारणले भएको उल्लेख गरे ।
कार्यक्रमको तेस्रो तथा अन्तिम सत्र ‘नेपाल थ्रु योर आइज’ विषयमा थियो । उक्त सत्रमा हिमाली, पर्वतारोण तथा उद्दार उडानसम्बन्धी पाइलट विवेक खड्का, भुटानी अभिनेत्री उगेन छोडेन, ८ हजार भन्दा अग्ला हिमल ३४ पटक चढेका विश्व रेकर्डधारी पर्वतारोही मिङ्मा डेभिड शेर्पा तथा फोटो पत्रकार भरतबन्धु थापाले आआफ्नो जीवनमा पर्यटनसम्बन्ध आफ्ना कथा र अनुभवहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सुरुमा स्वागत मन्तव्य दिँदै रातोपाटीका संस्थापक ओम शर्माले नेपालमा पर्यटक आउने क्रम बढ्दै गएको अवस्था रहे पनि सेवा र आथित्यताका लागि पर्याप्त ध्यान नपुगिरहेको अवस्था रहेको बताए ।
सरकारले पर्यटन दशक मनाउने तयारी गरिरहँदा पर्यटनको क्षेत्रमा आफ्नो जीवन दिएका दिग्गज व्यक्ति यो क्षेत्रको विश्वविद्यालय रहेको भन्दै सबैको सहभागितामा कन्क्लेभ आयोजना गरेर यो क्षेत्रको सुधारको लागि एउटा मार्गदर्शन दिने गरेको उल्लेख गरेका थिए ।