खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज
![खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज](https://npcdn.ratopati.com/media/news/belly-bridge_wakMrkQDa7.jpg)
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । गत असोज–१२ गतेको बाढीले मोटरेबल पक्की पुल बगाएपछि यहाँ अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजारको लागतमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । यो सडक खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख मार्गका रूपमा रहेको छ । नयाँ जडान गरिएको बेलिब्रिज ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाइ रहेको छ ।
पुल बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेसँगै खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क पुनर्स्थापित भएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।
आज बेलिब्रिजको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले दीर्घकालीन रूपमा समस्या समाधान गर्न मोटरेबल पुल निर्माणका लागि पहल भइरहेको बताए । “फोक्सिङटार पुल खोटाङवासीको दैनिकीसँग जोडिएको छ । बेलिब्रिजले अस्थायी रूपमा सुविधा भए पनि यसका दीर्घकालीन समाधान भनेको पक्की पुल निर्माण नै हो । त्यसका लागि पहल भइरहेको छ”, उनले भने ।
हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरिरहेका छन् ।
उद्योग वाणिज्य सङ्घ खोटाङका राजनप्रसाद अध्यक्ष आचार्यले तत्कालका लागि अस्थायी बेलिब्रिज जडान भएपछि तराईका जिल्ला आवतजावत गर्न र व्यापारीलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको बताए । “फोक्सिङटार पुल बगाएपछि मध्यपहाडी लोकमार्गको घुर्मी–कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । अस्थायी भए पनि आजबाट त्यो हटेको छ तर वर्षायाममा फेरि उही नियति दोहोरिने भएकाले समयमै पक्की सडक निर्माण गर्न आवश्यक छ । त्यसमा सरोकार भएकाहरूको ध्यानाकर्षण गर्न चाहन्छु”, उनले भने ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यसअघि लामो समयपछि यहाँ एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दश वर्ष लगाएर बनाएको पुल विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो तर दुई वर्षमै पुल बगाएपछि फेरि समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल