शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
कथा संवाद

‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’

शनिबार, २७ पुस २०८१, १९ : ००
शनिबार, २७ पुस २०८१

कथालाई सैद्धान्तिक हिसाबले चिरफार वा विश्लेषण गरी यी यी तत्त्व हुनुपर्छ भनेर भन्न त सकिएला । यसमा मेरो धारणा अलिक फरक छ । कथालाई कथाकै रुपमा हेर्नुपर्छ । कुनै पनि कुरालाई जब हामी परिभाषामा बाँध्न खोज्छौँ, त्यो कुराले पूर्णता पाउँदैन । त्यो सीमित भइदिन्छ, खुम्चिन्छ ।

कुनै पनि कुराको परिचय वा परिभाषा गतिशील हुँदै जान्छन् । पहिला पहिलाका कथामा ठुला घटना नायक–नायिका हुन्थे तर अहिले मिहीन विषयमा पनि ठुला कथा लेखिएका छन् । 

मैले चार दशक कविता कर्ममा बिताए । मैले भन्न बाँकी कुराहरू अझै धेरै छन । कवितामा व्यक्त गर्न कठिन लागेका कुरा, गीतमा व्यक्त गर्न नसकेका कुरा कथामा भनौँ भन्ने सोचेर कथा लेखनलाई रोजेको हुँ । यस अर्थमा कथा लेखन मेरा लागि प्रयोग हो । हरेक कथामा मैले प्रयोग गरेको छु । 

जतिबेला म कविता लेख्थेँ, त्यति बेला कथा र गीत पनि लेख्थेँ । कविता लेख्दै गर्दा कथालाई कम समय दिएको थिएँ । कथामा हात छुट्दै गएको थियो । यसै क्रममा दीपक सापकोटाको आग्रहमा कोशेलीमा मेरो एउटा कथा छापियो । त्यो कथा धेरैले मन पराउनुभयो । बुकहिल प्रकाशनका भुपीन्द्र खड्कालाई त्यो कथा निकै मन परेछ । उहाँकै आग्रमा प्रयोगात्मक कथाहरू तयार पारेर संग्रह निकालेँ । 

कथा भनेको कथाकारले परिकल्पना गरेको संसार हो । कथामा कतै न कतै कथाकारको उपस्थिति हुन्छ । उसका अनुभव र अनुभूति, उसले देखेका सपना, उसले गरेका कल्पना नै कथामा आएका हुन्छ । वरिपरिको वातावरणमा कथाकारले गरेको अन्तक्र्रियाबाट उत्पन्न हुने विचार, कला र उसले व्यक्त गर्न चाहेका सबै कुरा कथामा आउँछन् । अहिले मैले लेखेका कथा यही समयको प्रतिनिधित्व हो । मैले कवितामा अध्यात्म, प्रेम करुणा, दर्शन बढी लेख्थेँ । तर कथामा म बढी सामाजिक विषयवस्तुमा केन्द्रित छु । फरक तरिकाले भन्ने प्रयास गरेको छु । मेरा कथामा भेटिने पात्र कतै मै हुँला, कतै तपाईं, कतै हामी पनि । तर सबै यही समाजका हिस्सा हुन् । कथाकारले परिकल्पना गरेको संसारमा यही समाजका पात्र हुन्छन् । 

उत्कृष्ट कथाको मापदण्ड यो हो, यस्ता–यस्ता तत्त्व चाहिन्छ भनेर म भन्दिनँ र मान्दिनँ । अरुले मान्न सक्छन् । कथा यस्तै हुनुपर्छ भनेर सिद्धान्तमा खारिएका व्यक्तिहरूले भन्लान्, लेख्लान् । ठुल्ठुला घटना भएर पनि कथा हुन्छ, कुनै घटना नै नहुँदा पनि कथा हुन सक्ला । अर्थात् कथा नै नहुँदा पनि कथा हुन सक्छ ।

कथा यस्तै हुनुपर्छ भनेर सिद्धान्तमा खारिएका व्यक्तिहरूले भन्लान्, लेख्लान् । ठुल्ठुला घटना भएर पनि कथा हुन्छ, कुनै घटना नै नहुँदा पनि कथा हुन सक्ला । अर्थात् कथा नै नहुँदा पनि कथा हुन सक्छ ।

शास्त्रीय सिद्धान्तको परिपालना गरेर सधैँ कथा अगाडि बढ्दैन । केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन् । आफूलाई स्पर्श गर्न सक्ने, स्मृतिमा बसिरहने, कुनै स्थान वा घटनासँग त्यसको तादात्म्यता हुने खालका कथा नै मेरा लागि उत्कृष्ट हुन् । 

बाल्यकालमा कोर्सका किताबमा पढेका कथा अहिले पनि स्मृतिमा छन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल आदिका कथा मलाई उत्कृष्ट लाग्छन् । उनीहरूको कथाले मलाई छुन्छ । पछिल्लो समय नाम चलेका कुमार नगरकोटी, नयनराज पाण्डे आदिका कथा पनि उत्कृष्ट छन् । 

इमानदार भएर भन्ने हो भने कथाका किताब मैले निकै कम पढेको छु । मलाई संस्मरण, दर्शन, जीवनी र उपन्यास बढी मन पर्छ । पछिल्लो समय मैले पढेको कथा संग्रह मुराकामीको ‘मेन विदाउट वुमन’ हो । तर मलाई यो कथा संग्रहले त्यति छोएन । कसैको सिफारिसमा मैले यो संग्रह किनेको थिएँ । कथाहरू पढेँ । महान् नाम चलेको कथाकार । कथाहरू नयाँ छन्, तर मेरो स्वादभन्दा फरक कथा भएकाले त्यति रुचिकर भएन । 

मैले कुनै किताब पढेर वा घटनाबाट प्रभावित भएर लेख्दिनँ । कुनै कुराले झिल्को दियो, स्पर्श गर्‍यो भने म त्यसबारे लेख्छु । ती कुरा मेरो मनमा भित्र गढेर बसेका हुन्छन् । त्यसमाथि चिन्तन गर्न थाल्छु । अनि पछि गएर बिस्तारै छुट्टै फ्रेम तयार पार्छु । ‘एउटा मायी नगर’मा ‘मुखुन्डो अवतार’ भन्ने कथा छ । त्यसको पात्र मेरा एक  निकट मित्र हुन् । ती मित्रसँग मैले लामो संगत गरेँ । उनी म सामु जसरी प्रस्तुत हुुन्थे, मेरो मनमा उनको छवि पनि त्यस्तै थियो । एक दिन सानो घटनामा उनको अर्को अवतार देखेँ । मान्छेको अनुहारमा मुकुन्डो त कति धेरै हुने रहेछ । सायद म पनि यस्तै छु जस्तो लाग्यो । अनि त्यो कुराले मनलाई झनन्न बनायो र कथा जन्मियो । 

समाजका शोषित र उत्पीडित वर्गको पक्षमा लेख्नु लेखकको लेखकीय धर्म हो । एउटा लेखकमा सबै चिज खोज्नु भने हुँदैन । हरेकले आ–आफ्नो विधामा लेख्छन् । कसैले अध्यात्म लेख्लान्, कसैले सामाजिक मुद्दा । यसरी सबैमा सबै कुरा खोज्यो भने त सबैको लेखाइ एउटै भइदिन्छ ।

लेखक सामाजिक प्राणी हो । उसले समाजबाट लिएर समाजलाई नै फिर्ता दिने हो । समानता, न्याय मुक्तिका लागि पनि लेख्नुपर्छ । त्यसो भन्दैमा साहित्यको कलात्मकता, आदर्श, मिठासलाई तल झार्नु हुन्न । लेख्ने विषय जे पनि हुन सक्छ तर प्रस्तुत गर्ने शैली फरक हुनुपर्छ । 

पात्र खोजेर र उनीहरूबारे अनुसन्धान गरेर लेख्ने शैली पनि होला । मैले त्यसो गर्दिनँ । घटना भइसकेपछि लेख्ने भएकाले म त्यसमा खासै सोधखोज गर्दिनँ । परिवेश नेपालको होस् वा विदेशको, म त्यहाँ कुनै समयमा भएकाले नै कथा जन्मिएको हुन्छ । 

आफ्नै कथाको कुरा गर्दा ‘एउटा मायी नगरमा’ संंग्रहको पहिलो कथा ‘स्वप्न बगैँचामा अल्झिएकोे छाया’ जतिपटक पढ्दा पनि आनन्द लाग्छ । समय कोभिडको हो तर व्यक्त गर्ने शैली क्लासिक छ । यस्तै नमस्ते लुम्बिनी, आर्या पर्ख आर्या पनि निकै मन परेका कथा हुन् । 

(रातोपाटीकर्मी रमा सुवेदीसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश क्षितिज
रमेश क्षितिज
लेखकबाट थप