प्रभु साहले भने, ‘ओली सरकारकै मिलेमतोमा भ्रष्टाचार बढ्यो’

वीरगन्ज । आम जनता पार्टी आजपाले मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारका विरुद्धमा वीरगन्जमा विरोध सभा गरेको छ । वीरगन्जमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार विरुद्ध बृहतसभा गरेको हो ।
सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारकै संरक्षण एवं मिलेमतोमै भ्रष्टाचार बढ्दै गइरहेको बताए । ‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुँदैन । विभिन्न ठुला काण्डको फाइल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू भ्रष्टाचारमै संलग्न छन् । यी लुटेराहरूले देशलाई लुटेर कङ्गाल बनाइसके, राज्यको ढुकुटी लुटेका छन्, विदेशमा पैसा थुपारेका छन् । यिनीहरूबाट देश समृद्ध हुँदैन ।’
देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुट्नेहरूले हरेक नेपालीमाथि विदेशी ऋण बढाउँदै गइरहेको उनको भनाई थियो । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।
उनले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । वीरगन्जको इतिहास, गौरव र सम्मान शासकवर्गले मेट्न खोजेको आरोप लगाउँदै उनले यथाशीघ्र वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले