शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

सरकारले भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरू समस्याग्रस्त

शनिबार, २७ पुस २०८१, १८ : ०८
शनिबार, २७ पुस २०८१

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरू समस्याग्रस्त भएको बताएको छ । शनिबार काठमाडौँमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नदिँदा २ सय भन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरू समस्याग्रस्त हुने स्थिति रहेको बताएका हुन् ।

उनले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भए पनि सरकारले नदिएको बताए। उनले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गरे । यो वर्ष गर्नुपर्ने भुक्तानीहरूको विनियोजित बजेट पनि विनियोजन नहुँदा  निर्माण क्षेत्र अस्तव्यस्त भएको उनको भनाई थियो। 

उनले भने, ‘यो राष्ट्रिय भेला गर्नुको औचित्य हामीले लामो समयदेखि सम्माननीय प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीज्य, उपप्रधानमन्त्री एवं अर्थमन्त्रीज्यू, विकासे मन्त्रालयका मन्त्रीज्यू, मन्त्रीज्यूहरू, मुख्यसचिवज्यू, सचिवज्यूहरू लगायत सम्पूर्णलाई निर्माण उद्योगमा भएको सकसका विषयमा जानकारी गराउँदा गराउँदै सरकारले अहिलेसम्म यो काम गर्ने मूल समयमा पनि गत वर्षकै भुक्तानीमा पनि पूर्ण रूपमा भुक्तानी गर्न असक्षम भएको छ । यो वर्ष गर्नुपर्ने भुक्तानीहरूको विनियोजित बजेट पनि गत वर्षको भुक्तानी हुँदै गर्दा समग्रमा निर्माण क्षेत्र अस्तव्यस्त भएको अवस्था छ । सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनले म्याद थप लगायतका समस्याहरू सम्बोधन गर्दै गर्दा यो म्याद थप निर्माण उद्योगीको कारणले, कम्पनीको कारणले भन्दा पनि म्याद थप बजेट नभएको कारणले गर्दा, उहाँहरूले समयमा भेरिफिकेसन नगरेको कारणले गर्दा २ सय बढी काम समस्याग्रस्त भएको छ । यो असारसम्म १५ सय वटा कामहरूको समस्यामा पर्छ ।’

अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निष्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताए । उनले सिमेन्ट र डन्डी लगायतका निर्माण सामग्रीहरूमा भएको कालोबजारीको कसरी विरोध गर्ने भन्ने निष्कर्षका लागि पनि भेला बोलाइएको बताए । सात प्रदेश र ७७ जिल्लाकै निर्माण व्यवसायीहरू भेलामा उपस्थित रहेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप