‘हामीमा आदर्शको खोक्रो बुझाइ छ’
आख्यानकार, सम्पादक र अभियन्ताको परिचय बनाएकी अर्चना थापाले विशेषतः सामाजिक न्याय र लैंगिक मुद्दामा कलम चलाउँदै र आवाज उठाउँदै आएकी छन् । २०७४ मा प्रकाशित उनको कथासंग्रह ‘कठपुतला’ चर्चित छ । उनको सम्पादनमा नेपाली महिलाको निजात्मक अनुभूतिहरूको सँगालो ‘स्वअस्तित्वको खोज’ प्रकाशित छन् ।
यस्तै, सन् २०१८ मा लन्डनबाट प्रकाशित ‘रटलेज ह्यान्डबुक अफ् पोस्टकोलोनियल पोलिटिक्स’ पुस्तकमा अर्चना थापाले सम्पादन गरेको नेपाली महिलाहरुको निजात्मक अनुभूतिको संग्रह ‘टेलिङ अ टेल’लाई समेटेर थापा र रहेल कुन्जले नेपालका लैंगिक मुद्दालाई उठान गरेका छन् । सामाजिक न्यायका विषयमा छलफल गर्ने ‘आह्वान समूह’को संस्थापक समेत रहेकी थापासँग रातोपाटीकर्मी ध्रुवसत्य परियारले नेपाली समकालीन कथा लेखनका विषयमा संवाद गरेका छन् ।
- हामीकहाँ सामान्यतः कथाको पात्र केवल लिंग (विशेषतः महिला वा पुरुष) र उमेर वा पुस्तामा फरक भएर आउँछ तर त्यस पात्रसँगै जोडिएका वर्ग, समुदाय वा जातजाति आदि पृष्ठभूमि बलियो गरी आउँदैन । अर्थात् पात्रको चरित्र निर्माण बलियो देखिँदैन । यसरी हेर्दा हाम्रा समकालीन कथाको प्रवृत्ति र धार कस्तो पाउनुहुन्छ ?
पहिलेको दाँजोमा अहिले कथा–साहित्यमा विविध र फरक खालका चरित्र निर्माण भइरहेका छन् । जति हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन, यसो नहुनुमा विभिन्न समस्या र चुनौती पनि छन् ।
म आफैँले एउटा राउटे महिलाको चरित्र निर्माण गर्न सक्दिनँ । मजस्ता लेखक, जो काठमाडौँ केन्द्रित छन्, एउटा वर्ग वा जातको अनुभव बोकेर आएका छन्, तिनले लेख्ने कथाको पात्रको चरित्र निर्माण आफ्नै ढंगले गरिएको हुन्छ । आफूले राम्रोसँग नबुझेको पात्रको चरित्र निर्माण गर्न सजिलो नहुने रहेछ । यसका लागि पात्रहरूसँग घुलमिल हुनुपर्ने रहेछ । उसको जीवन बुझ्न समय लाग्छ ।
त्यसैले मैले आफ्ना कथामा समाजका जो–कोही पात्र टिप्दिनँ, किनभने पात्रको वर्ग वा समुदायमाथि अन्याय हुन्छ भन्ने डर मलाई हुन्छ । यस्तो भएको पनि छ, साहित्यमा चरित्र निर्माण सहज विषय होइन ।
यद्यपि पछिल्लो समय नेपाली कथामा विभिन्न पात्र वा चरित्र आएका छन् तर ती पात्रको पूर्ण न्याय हुन नसकेको अवस्था छ । भुइँ महिलालाई आफ्ना कथामा ल्याउन नसकेको भनेर मप्रति पनि बेला बेला प्रश्न उठ्ने गरेका छन् ।
- महिलाका लागि कुनै पनि पुरुष राम्रो वा नराम्रो हुँदैन । महिलाको नजरमा पुरुष कि धनी हुन्छ कि गरिब, कि कथित उच्च कुलको हुन्छ वा निम्न कुलको भन्ने पुँजीवादी र पुरुषवादी भाष्य यतिखेर आइरहेका छन्, विभिन्न माध्यमबाट । कथामा आउने पात्रको कुरा गर्दा— म आफैँले आफ्ना केही कथामा ‘राम्री’ वा ‘रूपवती’ स्त्री पात्रको चयन गरेको छु । राम्री युवतीको पछि लाग्नु पनि पुरुषवादी सोच हो भन्ने अहिले महसुस हुँदै छ ।
जब सभ्यताको एउटा चरणमा पुरुषले महिलालाई निजी सम्पत्तिको रूपमा लियो, सुन्दर वा आकर्र्षक स्त्रीलाई आफ्नो बनाएर अर्को पुरुषलाई छुन दिएन । त्यसैले कतिपय पुरुष लेखकले पात्रका रूपमा रूपवती स्त्रीलाई बढी ल्याउन खोज्दा रहेछन् भन्ने मलाई लाग्छ ।
मैले सोध्न खोजेको — यहाँले आफ्ना सिर्जनामा कस्तो पुरुष पात्रलाई आदर्श वा सही मान्नुहुन्छ ?
अलि सैद्धान्तिक रूपले हेर्ने हो भने, अझ भनौँ नारीवादी लेन्सबाट हेर्ने हो भने— पितृसत्ताको मान्यता अनुसार पुरूष भनेको मस्तिष्क र महिला भनेको शरीर हो । त्यसले महिलाको शरीर पुरुषले भोग्नका लागि मात्रै हो भनेर मान्छ । वस्तुका रूपमा भोग्ने महिला राम्री हुनुपर्छ, सुकोमल हुनुपर्छ, उमेरमा कम र जवान हुनुपर्छ, प्रतिवाद गर्नुहुँदैन भन्ने खालका भाष्य हिजोदेखि नै निर्माण हुँदै आएका छन् ।
पुरूष सक्रिय महिला निष्क्रिय, दिन भनेका पुरुष रात भनेका महिला, सर्वज्ञाता र तार्किक पुरुष अबोध र भावुक महिलाजस्ता भाष्य निर्माण गर्दै आइयो । समाजमा महिलालाई रुन छुट दिइयो तर तर्क गर्न बन्देज गरियो ।
जोखिम मोल्ने पुरुषले मात्रै हो महिला त डराएर घरभित्रै बस्नुपर्छ, बचाउन आउने पुरुषले हो महिलाले त गुहार खोज्छन्, राजकुमार र राजकुमारीको कथामा पनि राजकुमारीलाई जोगाउन कुनै राजकुमार आउँछ, राजकुमारी राम्री हुनैपर्छ — यी खालका ब्रह्मसत्यहरू निर्माण भएका छन् । यस्तै मान्यता हामीले सिक्दै र पढ्दै आएका छौँ ।
यी त कथाका कुरा भए । अहिले पनि भारतीय पत्रिका हेर्नुस्, त्यहाँ जुन ‘म्याट्रिमोनियल कोलम’ (विवाह स्तम्भ)मार्फत विज्ञापन गरिन्छ, त्यसमा युवतीको ‘गोरो वर्ण, कद, जात’लाई योग्यताका रूपमा उल्लेख गरिएको हुन्छ तर केटाको हकमा जात र कति कमाउँछ भन्ने मात्रै उल्लेख हुन्छ । अर्थात् महिलाको सुन्दरता, कुल र उमेर मात्रै हेरिन्छ । महिलाले कमाउँछन् भन्ने सोचिदैन ।
लेखनमा फरक–फरक विषयवस्तु आइरहेका त छन् तर पौराणिक आदर्शका कुरा सुन्दै हुर्केका हामीमा आदर्शको खोक्रो बुझाइ छ । हामीकहाँ राम, सीता, लक्ष्मीलाई आदर्श मानिन्छ । शिवको खुट्टाको स्याहारसम्भार गरिरहेकी लक्ष्मी, अग्नि परीक्षा दिने सीता हाम्रो समाजमा आदर्श नारी हुँदै आए । यी कुरा पुराना हुन् तर प्रत्येक वर्षको चाडपर्वमा यी कुरा ब्युँतिन्छन्, पुनरावृत्ति भइदिन्छन् ।
हाम्रो सोच पनि यस्तो छ कि रूप नभएकी अभिनेत्रीले अभिनय गरेको फिल्म हेर्न हामी जाँदैनौँ । आफूले हेर्ने फिल्मकी अभिनेत्री राम्री नै हुनुपर्छ भन्ने हाम्रो अपेक्षा रहन्छ । यसमाथि अहिले विशेषतः महिलाकै लागि ‘बोटक्स’ र ‘प्लास्टिक वा कस्मेटिक सर्जरी’ आएका छन् । यी र यस्ता प्रविधिमा खासगरी महिलालाई नै आकर्षित गरिएको छ । यसरी पुँजीवादी एउटा धारले महिलाको सुन्दरतालाई नै जोड दिइरहेको छ । अहिले सामाजिक सञ्जालमा ‘इन्फ्लुएन्सर’ (प्रभावशाली) महिलाहरू आउँछन् र भन्छन्— आफूमाथि विश्वास गरौँ, हामी आफैँ राम्रा छौँ, आफूले आफैँलाई मन पराउँ ।
यसरी आत्मविश्वासका ठुल्ठुला कुरा गर्नेहरूलाई नै बोटक्स र प्लास्टिक सर्जरी गर्नुपर्छ । ब्रान्डेड लत्ता–कपडा र सामान उनीहरूलाई नै चाहिन्छ । त्यत्रो आत्मविश्वासको कुरा गर्नेहरूले सुन्दरताको उही पुरानो मापदण्डलाई नाघ्न सकिरहेका छैनन् ।
हामीले शिक्षा र सचेतनाको कुरा गर्छौं, समाजमा शिक्षित मानिस बढिरहेका पनि छन् तर अधिकांश शिक्षितहरू पुराना विभेदजन्य मूल्य–मान्यताबाटै निर्देशित छन् ।
अहिलेको पुँजीवादले महिलालाई पुरानै ठाउँमा लैजान खोजेको छ, पुरुषलाई झनै पुरुषवादी बनाउन उद्यत् छ । हामीले सामाजिक न्याय र समताका लागि एकातिर बहस गरिरहेका हुन्छौँ, पुँजीवादले अर्को डिजाइन गरिसकेको हुन्छ ।
पछिल्लो समय महिला लेखकका आख्यानमा आउने पुरुष पात्र साधारण छन् । आजको कथाको पुरुष पात्र महामानव वा सुपरम्यान हुँदैन । पीडामा रुने, सुखमा हाँस्ने, परिवारप्रति जिम्मेवार हुने, डराउने, हिम्मत पनि गर्ने साधारण पुरुष पात्र नै महिला लेखकका आख्यानमा देखिन्छन् । ती पुरुष पात्रले घरमा चिया पकाउन जान्दैनन् तर बाहिर गएर देश र समाज बनाउने ठुल्ठुला कुरा गर्छन्, आफ्नो घरका महिलाको कामको मूल्यांकन पनि गर्छन् । अर्थात् यस्तै कमी–कमजोरी सहितको सामान्य पुरुष पात्र नै अहिलेका नेपाली कथामा आएका छन् ।
मेरो हकमा भन्नुपर्दा— महिलासहित सबैलाई आदर गर्ने, सबैको अस्तित्व स्विकार्ने, कथित ठुलो र सानोको भेद नगर्ने सामान्य पुरुष पात्र मेरा लागि असल हो । मेरो ‘कठपुतला’ संग्रहमा पनि यस्तै सामान्य पुरुष पात्र आएका छन् ।
- ३) सामन्तवादी समाजले पौराणिक वा धार्मिक कथाका नाममा पतिव्रता वा पत्नीव्रतालाई आधार मानेर कथाहरू सिर्जना गर्यो, आदर्श पात्रहरू सिर्जना गर्यो । यस्ता कथाले समाजमा गहिरो प्रभाव पारेका छन्, यिनले हामी कतिपयको मन–मस्तिष्कमा गहिरो गरी जरा गाडेको छ, आजको विज्ञान वा पत्रकारिताको भाषामा भन्ने हो भने ‘डिप फेक’का रूपमा काम गरिरहेको छ । यो पृष्ठभूमिमा समकालीन नेपाली कथा कस्ता छन् र कस्तो हुनुपर्ने हो ?
२००७ सालपछि जेजस्तो राजनीतिक परिवर्तन भयो, त्यसले सामाजिक परिवेशमा पनि केही न केही फरक पारेको छ । अलिकति समाज उदार हुँदै गएको पनि देखियो । साहित्य वा लेखनमा पनि फरक धारका विचार आउन थाले । फरक चेतनाबाट सिर्जना गर्न वा लेख्न–बोल्न थालियो । सामाजिक न्याय र लोकतन्त्रका आवाज आउन थाले ।
यतिखेर विज्ञान र प्रविधिले फड्को मारेको छ, मानिसको हातहातमा मोबाइल फोन छ । विकास वा भनौँ विज्ञान र प्रविधि एउटा वर्गमा मात्रै होइन, भुइँ वर्गसम्म पुगेको अवस्था छ । किनभने विज्ञान र प्रविधि मानिसको आवश्यकता भइसकेको छ । फोन भयो भने काम पाउन पनि सहज हुने भयो ।
अहिले इन्टरनेट र सामाजिक सञ्जालको पहुँचका कारण मानिसले धेरै सूचना लिन पाएका छन् । विभिन्न सूचना आउँदा कुन सही र कुन गलत भन्ने पनि मानिसलाई परिरहेको छ । कतिपय झुटा कुरा आकर्षक ढंगले चर्चा वा प्रचार गरिएका छन् ।
अर्कोतिर वर्षौंदेखि मानिसको मन–मस्तिष्कमा विभिन्न धार्मिक र सांस्कृतिक कथा, मिथक, कर्मकाण्डहरूले प्रभाव पारिरहेका छन् । यस्ता कथा र कर्मकाण्डहरू पनि समाजमा उसरी नै चलिरहेका छन्, त्यसमा कमी आएको छैन ।
पहिलेको दाँजोमा अहिले मानिस बढी शिक्षित भएको छ, प्रविधिको उपयोग गर्ने मानिस बढेका छन् । देश–विदेश देख्ने मानिस बढेका छन् । त्यो हिसाबले चेतनाको स्तर केही बढेको छ र सामाजिक न्यायका बहसहरू भइरहेका छन् । सँगसँगै पारम्परिक विभेद भरिएको एउटा सामाजिक चेतना छ, त्यसमा कमी पनि आएको छैन । यो खालको विरोधाभासमा समाज छ ।
बाहिर गएर हामी सामाजिक न्यायका मुद्दामा त बोल्छौँ तर घरभित्र उही पुरानै कर्मकाण्डले बाँधेको संरचना छ, त्यसमै ठिक्क हुन पुग्छौँ । अहिले धेरैले यो विभेद हो भनेर बुझेको देखिन्छ तर घरभित्रको र समाजको संरचना तोड्न उसलाई गाह्रो भइरहेको छ । हजुरबा–हजुरआमाबाट सिक्दै आएको लैंगिक वा जातीय विभेद उसका लागि प्राकृतिक भइसकेको छ । कतिपयले त यो विभेद हो भनेरै बुझिरहेका छैनन् ।
आखिर लेखकको सिर्जना पनि सामाजिक परिवेशबाटै आउने हो । उसले कथा समाजबाटै लिने हो । विभेदको धरातल नबुझीकन कथा सिर्जना गर्दा अवश्य फरक पर्छ । विभेदलाई बुझेको व्यक्तिले पनि उखान–टुक्का, भनाइ वा सोचाइलाई लेख्दा कहीँ न कहीँ विभेदजन्य कुरा ल्याइरहेको हुन सक्छ । यद्यपि अचेल पाठक सचेत भएका छन् । कुनै लेखकले विभेदजन्य कुरा लेख्यो भने पाठकले प्रश्न गर्छन्, औँल्याउँछन् ।
सामाजिक न्यायलाई हेर्ने विषयमा पहिलेको दाँजोमा अहिले धेरै नै परिवर्तन भएको छ, तर जति हुनुपर्ने हो त्यति भएको छैन ।
लेखनमा फरक–फरक विषयवस्तु आइरहेका त छन् तर पौराणिक आदर्शका कुरा सुन्दै हुर्केका हामीमा आदर्शको खोक्रो बुझाइ छ । हामीकहाँ राम, सीता, लक्ष्मीलाई आदर्श मानिन्छ । शिवको खुट्टाको स्याहारसम्भार गरिरहेकी लक्ष्मी, अग्नि परीक्षा दिने सीता हाम्रो समाजमा आदर्श नारी हुँदै आए । यी कुरा पुराना हुन् तर प्रत्येक वर्षको चाडपर्वमा यी कुरा ब्युँतिन्छन्, पुनरावृत्ति भइदिन्छन् । अहिले तीजका बेलामा महिलाहरू पतिको दीर्घायुका लागि व्रत बस्न, थप सजिन प्रेरित भइरहेका छन् ।
महिलाहरू पतिव्रता हुनुपर्छ, पुरुष भनेका ईश्वरका स्वरूप हुन्, उनीहरूलाई पत्नीले सम्मान गर्नुपर्छ, घर बिगार्न र बनाउनमा महिलाकै बढी भूमिका हुन्छ जस्ता परम्परागत चिन्तन हामीकहाँ भारतीय टेलिभिजनबाट पनि आइरहेका छन् । अहिले फिल्म, टेलिसिरियलमा पुराना विभेदजन्य कुरालाई नयाँ र रोचक ढंगले देखाइन्छ । यस्ता कुरा झट्ट हेर्दा आधुनिक देखिन्छन् तर सैद्धान्तिक धरातल पुरातनपन्थी नै छन् । पुरुषको तुलनामा महिलालाई कमजोर बनाउने, कम बुद्धिमान बनाउने, कम अधिकार दिने जस्ता सन्देश कथा–साहित्य, फिल्म आदिबाट नयाँ–नयाँ स्वरूपमा दिइरहिएको छ ।
लैंगिक र जातीय विभेदका कुरा पुराणमा जसरी आउँथे, त्यही प्रकारले शब्दहरू आउँदैनन्, आधुनिक ढंगले आउँछन् तर समग्रमा पुरानै सन्देश र भाष्यको पुनरावृत्ति अहिले भइरहेको देखिन्छ । महिलाहरूले प्रगति गरेका छन्; महँगा फोन, गाडी प्रयोग गर्छन् तर सोच परम्परागत नै छ । अझै पनि पुरुष पति–परमेश्वर हो भन्ने र पारम्परिक ‘हेटेरोसेक्सुअल रिलेसन’लाई मात्रै राम्रो मान्ने सोच हाबी छ । अहिले एलजीबीटीआईक्युबिचको सम्बन्धको कुरा आएका छन् तर तिनलाई समाजले मानवको रूपमा स्वीकार गरेको देखिँदैन ।
अहिले खास वर्ग, जात वा समुदायका व्यक्तिले मात्रै मानवको स्तर पाइरहेका छन्, सबैले पूर्ण मानवको स्तर पाएका छैनन् । यसैलाई पुष्टि गर्ने प्रवृत्ति जान–अन्जानमा कथा–साहित्यमा पनि देखिएका छन् । आख्यानमा पनि विभेदविरुद्ध बोल्ने महिला आदर्श हुँदैनन् मौन बस्ने, सहने र शालीन महिलालाई आदर्श मानिन्छ ।
मिडियाले एक खालको सचेतनाको लहर ल्याएका छन्, सँगसँगै मिडियाले पारम्परिक चिन्तनलाई नयाँ अवतारमा पनि ल्याइदिएका छन् ।
अहिले पहिचानका नाममा महिलाले पम्परागत पोसाक लगाउने चलन छ । यसले पनि महिलालाई पुराना कतिपय विभेदजन्य कुराहरूप्रति फकाईरहेको छ । कतिपय परम्परागत कुरामा लैंगिक विभेद छन्, तिनमा गहिरो गरी बहस भएका छैनन् ।
- आख्यानमा एक नायक हाबी हुनु उचित होइन, खास वर्ग वा समुदाय नै नायकका रूपमा आउनुपर्छ भन्ने भनाइ पछिल्लो समय आइरहेका छन् । तर सबैभन्दा खतरनाक नायक कुनै पनि कृतिको अघिल्लो पृष्ठमा हुन्छ, लेखक वा साहित्यकारका रूपमा । उसकै चिन्तन र सोच कुनै न कुनै रूपमा कृतिमा आउँछ । कृतिको अघिल्लो पृष्ठमा आउने नायक र उसको नायकत्वमाथि बहस हुनुपर्छ कि पर्दैन ?
यस्ता विषयमा विदेशमा प्रशस्त बहस भएका छन् । जस्तै : उत्तरआधुनिक (पोस्ट मोर्डनिजम्) लेखनमा जुन लहर आयो, त्यसले कुनै पनि कृतिको केन्द्रमा आउने नायक (पात्र)लाई विस्थापित गरेको छ । त्यसले भन्छ— नायक एक मात्र हुन सक्दैन, बहुनायक हुनुपर्छ ।
अघिल्लो पृष्ठमै लेखकका रूपमा आउने नायकमाथि पनि बहस हुनुपर्नेछ । अहिले त यस्तो चलन आइसक्यो कि पाठकले लेखकको नाम हेरेर कृति किन्छ । अहिले ‘सेलिब्रेटीहुड’ आएको छ । अहिले जो–कोही लेखकको पुस्तक बिक्न समस्या छ । जसको पुस्तक बिक्छ, साहित्यिक फेस्टिभलहरूमा उसैलाई नायकको रूपमा प्रस्तुत गरिन्छ, खासगरी भिड जम्मा गर्न ।
यद्यपि पछिल्लो समय कृतिको अघिल्लो पृष्ठको नायक वा लेखकमाथि पनि पाठकले प्रश्न गर्न थालेका छन् । यो प्रश्न उठाउने संस्कृतिमा वृद्धि हुनुपर्छ भन्ने मलाई लाग्छ ।
लेख्ने र पढ्ने व्यक्ति सामान्यतः एउटा प्रिभिलेज्ड (विशेषाधिकार) वर्गबाट आएको हुन्छ । काम गरेर खानेहरूले लेख्न र पढ्न कमै भ्याउँछन् । त्यो प्रिभिलेज्ड वर्गको चिन्तन र चरित्रमाथि पनि बहस हुनुपर्छ ।
- पछिल्लो समय वैदेशिक रोजगारीका कारण मानिसको सम्बन्धको आयाम फराकिलो भएको, यौनजन्य शारीरिक आवश्यकताका कुरा कुनै न कुनै रूपमा उठेको देखिन्छ । यस सम्बन्धमा हामीकहाँ के कस्तो साहित्य आउनुपर्ने हो ?
पहिलो कुरा त यौनलाई शारीरिक आवश्यकताको रूपमा हामीकहाँ बुझिएको छैन । अझै पनि हाम्रो समाजमा आदर्शकै मापदण्डमा चल्न खोजिरहेको देखिन्छ ।
अहिलेको विश्वमा दम्पतीको भेटघाटलाई सहज बनाउनुपर्छ । श्रीमान् वा श्रीमती रोजगारीमा छन् भने उनीहरूसँगै हुने वा भेटघाट हुनेतर्फ राज्यले पहल गर्नुपर्छ ।
यस्ता विषय साहित्यमा आएका छन् । उमा सुवेदीकै ‘तोदा’मा विदेश गएकी युवतीको कथा छ । इजरायलमा महिलाहरू गएको विषय भगवती बस्नेतका कथामा पनि आएका छन् ।
परिवारको एउटा सदस्य बाहिर हुँदा घरमा भएका बालबच्चा र अन्य सदस्यलाई कस्तो मानसिक असर पर्छ भनेर पनि खोजिनुपर्छ । यसबारे हामीकहाँ अध्ययन–अनुसन्धान भएका छैनन्, जो जरुरी छ । अध्ययन–अनुसन्धान हुन्छन् भने लेखकलाई पनि कथा बुन्न वा मुद्दा उठाउन सहज हुन्छ । कथाहरू कल्पनाको आधारमा मात्रै निर्माण हुनुहुँदैन, केही न केही सामाजिक यथार्थको धरातल चाहिन्छ । वैदेशिक रोजगारीका प्रभाव र असरलाई लिएर हामीकहाँ जति कथा आउनुपर्ने हो, त्यति आएजस्तो मलाई लाग्दैन ।
- सामान्यतः राजनीतिक र प्राकृतिक घटना (युद्ध, विपत् वा कुनै पनि अभिघात) वा परिवर्तनपछि मानिसले कथा–साहित्य सिर्जना गर्छ । हामीकहाँ यस्ता घटनापछि, खासगरी नयाँ संविधानपछि के कस्ता कथा आएको यहाँले देख्नुहुन्छ ? वास्तवमा कस्ता कथा आउनुपर्ने थियो ?
विभिन्न खालका उत्पीडनका कथा त पछिल्लो समय आइरहेका छन् । कोरोना महामारीसँगै विज्ञान र प्रविधिका चुनौतीलाई लिएर पनि कथा आएका छन् ।
पछिल्लो समय जे जति नयाँ महिला लेखक आएका छन्, उनीहरूले लैंंगिक उत्पीडनका मुद्दालाई फरक ढंगले उठाएका छन् ।
अहिले फिल्म, टेलिसिरियलमा पुराना विभेदजन्य कुरालाई नयाँ र रोचक ढंगले देखाइन्छ । यस्ता कुरा झट्ट हेर्दा आधुनिक देखिन्छन् तर सैद्धान्तिक धरातल पुरातनपन्थी नै छन् । पुरुषको तुलनामा महिलालाई कमजोर बनाउने, कम बुद्धिमान बनाउने, कम अधिकार दिने जस्ता सन्देश कथा–साहित्य, फिल्म आदिबाट नयाँ–नयाँ स्वरूपमा दिइरहिएको छ ।
अस्ति भर्खर मैले राधिका कल्पितजीको ‘सम्मोहन’ कथासंग्रह पढ्दै थिएँ । यसमा फरक खालका राम्रा कथा छन् । विषयवस्तु मात्रै भएर हुँदैन प्रस्तुति अर्थात् कला–शिल्प पनि चाहिन्छ ।
हाम्रो समाजमा लेख्ने विषयवस्तु धेरै छन् । तर ती विषयवस्तुसँग सम्बन्धित पात्रका भावना, दुःखसुख, हाँसो–आँसु उस्तै उस्तै नै प्रस्तुत भएको देखिन्छ । पात्रका भावना विशेष रूपमा व्यक्त गर्न शिल्प पक्ष बलियो हुनुपर्छ । पछिल्लो समय हामीकहाँ शिल्प पक्षको कमजोरी नै देखिन्छ ।
पछिल्लो समय आमाको नाममा नागरिकताको विषय पनि कथामा परेका छन् । पछिल्लो संविधानले जेजति अधिकार दिएको छ, त्यो अनुरूप भने प्रशस्त कथा आएका छैनन्, फाट्टफुट्ट मात्रै आएका छन् ।
सामाजिक विसंगति जुन छ, त्यसलाई कथामा शिल्पसहित ल्याउनुपर्ने हुन्छ, लेखमा जसरी सिधै विषयवस्तु उठान गरेर हुँदैन, साहित्यमा केही घुमाएर मुद्दाको उठान गर्नुपर्छ । त्यसो हुँदा मुद्दा चिप्लिने वा छायामा पर्ने सम्भावना बढी हुन्छ । कथामा मुद्दा ल्याइएको छ तर त्यसलाई समालोचकले भनिदिनुपर्छ । अथवा कृतिमा आएका मुद्दालाई समीक्षकले बहसमा ल्याइदिनुपर्छ ।
- हामीकहाँ समीक्षकको अवस्था कस्तो देख्नुहुन्छ, अभाव हो ?
केही समीक्षकले अभाव छैन भन्नुहुन्छ । तर मैले अभाव देख्छु । एक त हाम्रो देशै सानो, अर्को कुरा काठमाडौँ यति सानो छ कि यहाँ सबै लेखक र समीक्षकले एक–अर्कालाई चिन्छन् ।
कसैले इमानदारीपूर्वक समीक्षा गर्छ वा लेखकका कमी–कमजोरी केलाउँछ भने झगडा पर्ने वा बोलचालै बन्द हुने सम्भावना रहन्छ । त्यसैले हामीकहाँ प्राज्ञिक ढंगको समालोचना भइरहेको जस्तो मलाई लाग्दैन । अहिले अधिकांशतः गुटबाजी वा चिनजानका आधारमा समीक्षा भइरहेका छन् ।
- हामीकहाँ राजनीतिक दलदेखि साहित्यसम्ममा गुटबन्दी देखिन्छ— विभिन्न धार र स्वार्थका गुटबन्दी । कुनै वरिष्ठ लेखकले, पुरस्कारको घटकले वा आफूलाई घराना लेखक बनाउन खोज्नेहरूले धाप मारिदिए, लेखक हो भनेर चर्चा गरिदिएपछि कतिपय नयाँ लेखक छिटो स्थापित भएझैँ देखिन्छन् ।
अर्कोतिर अभियानहरूमा प्लेकार्ड बोकेर, साहित्यिक फेस्टिभलमा मञ्चमा देखिएर पनि कतिले आफूलाई लेखकका रूपमा स्थापित गर्न खोजिरहेका देखिन्छन् । यसैका लागि कतिपय नयाँ लेखकले कुनै न कुनै पुरानो लेखकको हात–साथ खोज्छन्, चाकडी नै गर्छन्, बढाइचढाइँ भन्छन्— दाइ वा दिदी यस्तो लेखक उस्तो लेखक भनेर । यो खालको सामन्ती प्रवृत्ति हामीकहाँ किन छ होला ?
हो, यस्तो खालको प्रवृत्ति हामीकहाँ देखिन्छ । पुरस्कारको राजनीति, साहित्यिक फेस्टिभल गर्ने समूहको राजनीति, राजनीतिक दल वा खेमासँग सम्बन्धितकै गुटबन्दी आदि छन् नै । यद्यपि म कुनै गुट वा घटकमा छैन र म यसमा त्यति धेरै जानकार छैन ।
यो पनि एउटा शक्तिको कुरा हो । मिडियामा पहुँच हुने र पुरस्कारमा पहुँच हुने शक्तिशाली हुने भइहाले । कुन पुरस्कारमा कसको चल्छ, कस्तो चिनजान भए मिडियामा छापिन्छ भन्ने अवश्य नै हेरिन्छ । यस्तो भइरहँदा पनि मलाई खास चिन्ता लाग्दैन । किनभने यसरी आएका लेखकले पाठकसमक्ष आफूलाई प्रमाणित गर्नैपर्छ । उचालिएर आउनेहरू बिलाएर जान सक्छन्, गएका पनि छन् ।
अहिले किताबको बाढी नै आएको छ तर यी सबै किताबलाई लामो समयसम्म बजारमा खोजिँदैन, आउँछन् जान्छन् ।
- यहाँले कथा लेख्दा एउटा कथासार सोचिसकेर मात्रै लेख्न बस्नुहुन्छ कि लेख्दै सोच्दै गर्नुहुन्छ ?
समाजको कुनै घटनाले मलाई छोयो र त्यसले उद्विग्न बनाइराख्यो भने मैले त्यसैमा आधारित कथा मनमनै बुन्न थाल्छु । समाजको कुनै पात्रले भोगेका घटना वा उसका क्रियाकलापबारे थाहा भयो भने मैले त्यसमा कथासार खोज्न थाल्छु, एउटा निष्कर्षमा पुगेपछि मात्रै लेख्न बस्छु ।
समाजका घटना वा पात्रले झकझकाएपछि मात्रै म कथाको विषयवस्तुका बारेमा सोच्न थाल्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
-
‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’