शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
चिसो

जाडोले कठ्याङ्ग्रिएको सदाय बस्ती

शनिबार, २७ पुस २०८१, १५ : ०५
शनिबार, २७ पुस २०८१
  • रामभरोसी यादव

सिरहा । यतिखेर तराई–मधेसमा अत्यधिक चिसो छ । पछिल्ला केही दिनदेखि लागेको कुहिरो र निरन्तर चलेको हावाका कारण चिसो बढेको हो । 

चिसोले गर्दा सिरहाका विपन्न मुसहर समुदायहरूको जीवन कष्टकर बनेको छ । प्राकृतिक प्रकोपले पनि गरिबलाई कसरी पिरोल्छ भन्ने उदाहरण हो, सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ खोरियाका सदाय (मुसहर) बस्ती । 

यो बस्ती पूर्वपश्चिम राजमार्ग अन्तर्गत नयाँ चोहर्वादेखि दक्षिण करिब पाँच सय मिटरको दुरीमा छ । जहाँ ६० घर परिवार बस्छन् । बस्तीमा सदायहरु मात्र ४५ घर छन् । बाँकी १५ घर महरा, उराउँ समुदाय छन् । 

यही बस्तीको एक छाप्रोमा बस्छन्, ६५ वर्षीय शुक्रा सदाय र उनकी श्रीमती जंगली सदाय । शुक्रा क्षयरोगबाट पीडित छन् । श्रीमती जंगली दुवै आँखा देख्दैनन् । उनीहरूका तीन जना छोरीहरू विवाह भएर गइसकेका छन् । 

musahar basti (3)

शुक्राले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता र चोकमा मागेर परिवारको छाक टार्दै आएका छन् । जीर्ण शरीर, न्यानो कपडाको अभाव र कठ्याङ्ग्रिने जाडोले उनको माग्ने धन्दा पनि चौपट भएको छ । उनीहरू एकै पटक प्राकृतिक प्रकोपका साथै रोग र भोकको सिकार भएका छन् । हाल छिमेकीहरूले दया गरेर दिएको खानामा उनीहरूको गुजारा चलिरहेको छ । 

शुक्रा भन्छन्, ‘बुढेसकालसँगै रोगले थलिएको छु । श्रीमती आँखा नदेख्ने भएकाले केही काम गर्न सक्दिनन् । मैले मागेर हातमुख जोडिएको थियो, अहिले त्यो पनि बन्द भयो । छिमेकीहरूले दया गरेर दिएको खानाले जीवन धान्दैछौँ ।’

musahar basti (4)

‘उनीहरूका छोरा छैनन् । छोरीहरूको आर्थिक अवस्था पनि कमजोर भएकाले सहयोग गर्ने अवस्था छैन,’ छिमेकी मिना सदायले भने, ‘हामी गरिबको जीवन कष्टकर छ । कोही सहयोग गर्ने छैन ।’

शुक्रामात्र हैन सोही बस्तीकी एकल महिला सुमिन्त्रा सदायको पनि अवस्था फरक छन् । उनका ५ देखि १५ वर्ष उमेरका ४ जना छोराछोरी छन् । उनले मंसिरमा मालिकको धान काटेर केही धान जम्मा गरेकी छन् । त्यसैको खोलेफाँडो बने पनि तरकारी किन्न सक्ने अवस्था छैन । तरकारी किन्न सक्ने अवस्था नभएपछि बच्चाहरूलाई नुन भात खुवाउँछिन् । 

सुमिन्त्राले भनिन्, ‘जाडोका कारण कुनै काम पनि पाइन्न, हिजो आज दिनभरजासो बच्चाहरूलाई न्यानो बनाउन घुर अगाडि बस्छु । तरकारी किन्ने पैसा नभएपछि बच्चाहरूलाई भात मात्र ख्वाउन बाध्य छु ।’

musahar basti (5)

शुक्रा र सुमिन्त्रामात्र हैन बस्तीका ४५ घर सदायको उस्तै अवस्था छ । चिसोको पारो बढेसँगै उनीहरूको हातमुख जोड्ने समस्या पनि सुरु भएको छ । कुहिरोले चिसिएको यो बस्तीका नागरिकलाई न्यानो बनाउन न स्थानीय सरकार पुगेको छ न दलित विपन्नको नाममा साइनबोर्ड झुन्ड्याउने कुनै गैर सरकारी संघ–संस्था नै । 

चुनावताका विभिन्न सपनाका पुलिन्दा बाँडेर भोट कुम्ल्याएका जनप्रतिनिधि बस्तीमा फर्केर आएका छैनन् । चुनावताका पानी, बिजुली, घर बनाइदिने बाचा गरेका जनप्रतिनिधि कहिल्यै फर्किएर नआएको उनीहरूको गुनासो छ ।

नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवलाई ‘चिसोबाट जनतालाई जोगाउन के योजना बनाउनु भएको छ ?’ भनी प्रश्न गर्दा उनले भने– हामी दाउरा किन्दै छौँ । प्राप्त भएको दाउरा चोक–चोकमा बाँड्ने योजना रहेको छ ।

musahar basti (2)

सबै पालिकाले प्राकृतिक प्रकोपका लागि बजेट विनियोजन गरेको भए पनि गरिब, दलित तथा विपन्नले यसबाट राहत पाउने अवस्था नरहेको सवरी सङ्कल्प परिवारका अरुण सदाय बताउँछन् । 

यो मधेसमा रहेका १ लाख ७९ हजार १ सय ५३ जना सदाय समुदायको लगभग साझा समस्या हो । आफ्नै बस्ने थातथलोसमेत नहुने यो समुदाय विशेष गरी सडक तथा खोला किनारको ऐलानी जमिन, साहु महाजनको जग्गामा बसोबास गर्दै आएका छन् ।

यता गोलबजार नगरपालिक–१० धोवियाधारमा रहेका ४० घरपरिवार भएको मुसहर बस्तीको जनजीवन पनि जाडोले प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिब ५ किलोमिटर उत्तरमा रहेको यस बस्तीका स्थानीयहरू जाडोले कठ्याङ्ग्रिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप