शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
कथा संवाद

‘मलाई जब्बर स्वास्नीमान्छेहरू मन पर्छन्’

कथाको मुख्य उद्देश्य भनेकै पात्रको चरित्र स्थापित गर्नु हो : बिना थिङ
शनिबार, २७ पुस २०८१, १७ : ००
शनिबार, २७ पुस २०८१

कवि तथा कथाकार बिना थिङका तीन कृति प्रकाशित छन्— छुकी (कथा संग्रह २०६९), रातोघर (कवितासंग्रह ३०७२) र याम्बुनेर ( कथासंग्रह २०७७) । १२ खरी कथा लेखन प्रतियोगिता (२०७६) मा उनी प्रथम भएकी थिइन् ।

उनै थिङलाई कथाका विषयमा रातोपाटीकर्मी रमा सुवेदीले गरेको संवाद :

  • हिजोआज के लेख्दै हुनुहुन्छ ? 

अहिले म एउटा उपन्यासमाथि काम गरिराछु । यसले गर्दा फुटकर लेखहरूमा काम गर्ने समय अभाव भइरहेको छ । 

  • पछिल्लो समय यहाँले कुन कथा वा कथासंग्रह पढ्नुभयो, यहाँको समीक्षामा त्यो कस्तो कृति थियो ?

मैले भर्खरै ‘बाह्रखरी उत्कृष्ट कथा २०८१’ का केही कथा पढेँ । नयाँ पुस्ताका कथाकारले कथा लेखनका लागि छनोट गर्ने विषयवस्तुमा विविधता पाएँ । शैलीमा भने त्यति धेरै काम गर्न सकेको देखिनँ । 

आफैँ लेखनमा सक्रिय भएको समय भएकाले कसैको प्रभाव नपरोस् भनेर आख्यानहरू कम पढिरहेकी छु । 

  • यहाँको बुझाइमा कथा के हो ? 

यसको एउटै सटीक उत्तर मसँग छैन । आफ्नो जीवन भोगाइ, अनुभव, अनुभूतिहरूमा परिकल्पना भरेर गद्यमा लेख्नु नै कथा हो भन्ने मलाई लाग्छ । मैले आजसम्म पढेका राम्रा कथाहरूबाट निकालेको निक्र्याेलचाहिँ कथाको मुख्य उद्देश्य भनेकै पात्रको चरित्र स्थापित गर्नु हो । 

  • यहाँले कथा किन लेख्नुहुन्छ ? 

मसँग पनि यस्ता थुप्रै भोगाइ, अनुभव र अनुभूति छन्, जसलाई म भन्न चाहन्छु । त्यसलाई प्रभावकारी ढङ्गबाट भन्ने माध्यम खोज्दा कविता वा अन्य विधाबाट भन्दा कथाबाट सम्प्रेषित गर्न उपयुक्त लाग्दा कथा लेख्छु । 

  • यहाँले कथा कसरी लेख्नुहुन्छ— कुनै घटनाबाट प्रभावित भएर, अकस्मात कुनै विषय फुरेर, अरुको पढ्दापढ्दै नयाँ कुरा दिमागमा आएर ? 

कुनै घटनाबाट प्रेरित नभइने होइन । कहिलेकाहीँ हिँड्दाहिँड्दै अनौठा पात्रसँग साक्षात्कार भइन्छ । कहिलेकाहीँ पुस्तकहरू पढ्दा वा फिल्महरू हेर्दा पनि क्लिक हुन्छ, अहो ! यसबारे म न्यायिक र विश्वसनीय ढङ्गले अझ विस्तृतमा भन्न सक्छु भन्ने पनि लाग्छ । मुख्य पक्ष भनेको ती विषयसँग म कतिको गहिरोसँग जोडिएकी छु, मभित्र त्यो अनुभूति कतिको पाकेको छ भन्ने हो । कहिलेकाहीँ लेख्छु भनेको कथा पनि अहिले बेला भएको छैन भन्ने लागेर यतिकै थन्काएकी पनि छु ।

  • कथामा सामाजिक न्यायका मुद्दा वा महिलाका मुद्दा ल्याउन जरुरी छ कि छैन ? 

मुद्दा भन्ने शब्द एकदम गरुङ्गो भयो । हामीले बाँचिरहेको दुनियाँ नै अनियमित, अनिश्चित र असन्तुलित छ भने हामीले लेख्ने कथाहरूमा स्वतःस्फूर्त ती विषय आइहाल्छन् । उदाहरणका लागि म महिला भएकीले कथा लेख्दा मेरो निजत्व र भावनाहरू निसर्त त्यहाँ आउँछन् । अब यसलाई महिला मुद्दा भनेर बुझ्नुहुन्छ भने त्यही सही । म तामाङ बस्ती, तामाङ संस्कृतिमा भिजेको मान्छे, मैले कथा लेख्दा त्यहाँको धर्म, संस्कृति, आचरण, लबज र उत्पीडनका कुरा स्वतः आइहाल्छन् । अब यसलाई पहिचानको मुद्दा भनेर बुझ्न पनि सकियो । 

मैले भन्न खोजेको यही हो कि चाहेर वा नचाहेर मैले छनोट गर्ने विषय यिनै हुन्छन् । म कुनै श्वेत अमेरिकन वा चिनियाँबारे लेख्नै सक्दिनँ । लेखेँ भने त्यो कोरा लेखन हुन जान्छ । जुन लेखनमा लेखक कहीँ–कतैबाट जोडिएको छैन र गहिरो अनुभूति गर्न सकेको छैन भने त्यो भाषिक बुनोटले जति रसिलो भए पनि पाठकले आफूलाई त्यहाँ भेट्न सक्दैन । पाठकले आफूलाई ‘रिलेट’ गर्न नसकेको कुनै पनि सिर्जनामा आत्मा हुँदैन ।

  • कुनै विषयमा कथा लेख्दै गर्दा त्यस विषयमा अध्ययन गर्नुहुन्छ कि ?

लेखन एक प्रकारले लेखकको आफ्नो विचार स्थापित गर्न गरिने कर्म हो । विधा फरक हुन सक्छ । चाहे गजल होस्, कविता होस्, आख्यान वा गैरआख्यान होस्— जुनसुकै विधाबाट पनि लेखकले आफ्ना भावना नै सम्पे्रषित गर्छ । लेखकले कसरी समाजलाई हेर्छ, ग्रहण गर्छ वा कुन विचारबाट निर्देशित छ भन्ने उसका सिर्जना पढ्दा छर्लङ्ग हुन्छ । लेखकमा त्यस्तो विचार आज, एकै छिनमा निर्माण हुँदैन । वर्षाैं उसले भोगेको, देखेको, अध्ययन वा सरसङ्गतबाटै उसको विचार निर्माण हुने हो । आफू स्पष्ट भएको विषयमा लेख्दा त्यो जुनै विधाको भए पनि विश्वसनीय हुन जान्छ । म पनि यही प्रक्रियाबाट गुज्रिन्छु । 

कथाकारले के कस्ता विषयको अध्ययन गर्नुपर्छ भन्ने लाग्छ ? 

हामीले जतिसुकै निजत्वको कुरा गरौँ, भनौँ वा लेखौँ, त्यहाँ बाह्य वा अन्य उपस्थिति हुन्छ हुन्छ । भलै त्यो दृश्यमा नआउला । त्यस्ता अन्य उपस्थिति भनेको वातावरण, समाज, राजनीति, इतिहास जे पनि हुन सक्छन् । तिनीहरूकै प्रभावले म वा मेरो निजत्व संकटमा परिरहेको हुन सक्छ । त्यसैले त्यो अर्काे पक्ष किन हाबी भइरहेछ भन्ने जान्न, त्यसको जरासम्म पुग्न कहिलेकाहीँ हाम्रा भोगाइ पर्याप्त नहुन सक्छन् । जे हामीबाट छुटिरहेछ, त्यो अरुको भोगाइबाट थाहा पाउन सकिन्छ । अरु कसैले चालिसौँ वर्षको अनुभवहरू किताबको रूपमा ल्याएको हुन्छ, जसलाई हामी ४० घण्टामा पर्गेल्न सक्छौँ । यो सुविधा हामीले पाएका छौँ र यो अनिवार्य छ ।

  • यहाँले लेखेकामध्ये आफैँलाई सबैभन्दा बढी मन परेका कथा कुन–कुन हुन्, किन ?

‘याम्बुनेर’ भन्ने कथा सबैभन्दा बढी मन पर्छ । त्यसमा सोममाया भन्ने जुन पात्र छ, त्यसले आफ्नो ठाउँबाट जति प्रतिरोध गर्न सक्छे, त्यो उसले कतै नहच्कीकन गर्छे । ऊ जीवनप्रति आशावादी छे र निरन्तर संघर्षको भट्टीमा होमिन तयार छे ।

अर्काे कथा ‘ज्याद्री आइमाई’ भन्ने छ । त्यसमा मुख्य पात्र हुन्, डोल्कर । डोल्कर यो समाजको पितृसत्तालाई चुनौती दिने गरी बलियो पात्रका रूपमा कथामा आएकी छे, ऊ जब्बर छे । मलाई जब्बर स्वास्नीमान्छेहरू मन पर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप