हिउँदे जाडो र फूलहरूको सौन्दर्य
चिसो हिउँदे बिहान, जब आकाशको छेउछाउमा सुनौलो झल्को मेटिने र ब्युँझने गर्छ, एउटा शान्त शून्यताले वातावरणलाई घेर्छ । यो शून्यता कुनै बोझिलो मौनता होइन । यो शून्यता हो— संसारलाई केही समयको लागि रोक्ने प्रकृतिको प्रयास । शुष्क चिसो हावाको स्पर्शले कठ्याङ्ग्रिएको शरीरलाई मूर्तिवत ठिङ्ग उभिन लगाउँछ । मन भने सुशान्त आकाशको अप्रतिम सौन्दर्यमा हराउँछ ।
यस कठ्यांग्रिएको वातावरणमा अर्गानिक कफीको स्वाद र बाफले मनमा न्यानो लहर ल्याउँछ । त्यो मस्त बाफले चिसोका कुहिरोलाई केही पलका लागि भगाउँछ । जीवनको एउटा सरल तर गहन क्षणलाई उजागर गर्छ । कफीको चुस्कीसँगै मगमगाउँदै आउनुपर्ने फूलको आनन्दित वासना चिसो बताससँगै बतासिएर गए जस्तै लाग्छ ।
यसो आँखा लगाउँछु जाडोले गमलामा रोपिएका फूल फुल्न नसकेर त्यत्तिकै कक्रिएका छन् । हलक्क हुर्किन नसकेर जिङ्ग्रिङ्ग परेका फूलका कोपिलाहरू देखेर फूलको जीवनप्रति माया जाग्छ । कहाँ वासना उडेर जानु बिचरा फूल त फुल्न नसकेर जन्म र मृत्युको दोसाँधमा छटपटाइरहेको देख्छु । यस्तो दृश्य देखेर म आफैँ हैरान हुन्छु ।
फूलहरूको सुवासले मनमा उत्साह थप्छ । प्रकृतिले दिएको त्यो सानो संसारमा हराउँदा, हरेक पातमा, हरेक सुगन्धमा जीवनको मिठास झल्किन्छ ।
यस्तो वातावरणमा, प्रेमको न्यानो आग्रहले मुटुको कुनाकुनामा बास बस्छ । त्यो प्रेम, जुन आह्लादित आलिंगनको रूपमा छरिन्छ । त्यसले मानव हृदयलाई सिञ्चिन गरिरहन्छ । प्रेमले मात्र जीवनको सुषुप्त कणहरूलाई जागृत गरिदिन्छ । त्यही शुष्कपनले जीवनलाई ओइल्याउन खोज्छ ।
यो प्रेम कुनै सीमामा बाँधिएको हुँदैन । यसले जीवनका हरेक सूक्ष्म र गहन भागहरूलाई अछुतो राख्दैन । पानीको प्रवाहले बाँझो माटोलाई उर्वर जीवन प्रदान गर्छ । र, हरियालीको सुगन्धले भर्छ । प्रेमले पनि कठोर मनलाई कोमलताको गहिराइमा लैजान्छ । यो तृप्तता केवल बाहिरी सौन्दर्यमा होइन, भित्री जीवनका अनन्त तहहरूमा अनुभव गरिन्छ ।
हिउँदे जाडोको आगमनसँगै प्रकृतिले आफ्ना रङहरू फेर्छ । जाडोले मात्र शरीरलाई होइन, हृदयलाई पनि स्पर्श गर्छ । यस मौसमको सौन्दर्य प्रकृतिको गहिरो कोखबाट निस्किएको कविताजस्तो लाग्छ ।
चिसो हावाको राग र कफीको बाफसँगै त्यो प्रेमको धुन मनमा गुञ्जिरहनु, जीवनको पूर्णता हो । हामी सबैलाई हिउँदका कठ्यांग्रिएको चिसो क्षणमा एउटा यस्तो न्यानो स्पर्शको आवश्यकता छ । यसले हामीलाई समयको कठोर चक्रबाट मुक्त गरिदियोस् ।
हामीले सोच्न बाँकी नै राखेका छौँ— त्यो तृप्तिले हामीलाई साँच्चै पूर्ण बनाउँछ । अझै कतै गहिराइमा पुग्न बाँकी छ । त्यो न्यानो प्रेम, जो हृदयका प्रत्येक कोषमा सिञ्चित हुँदै जीवनलाई पूर्णताको दिशामा लैजाने शक्ति हो ।
हिउँदे जाडोको आगमनसँगै प्रकृतिले आफ्नो रूपान्तरणको प्रक्रिया सुरु गर्छ । यस मौसमले चिसो हावा, बाक्लो हुस्सु र कठोर तुषारोको माध्यमबाट आफ्ना सबै रङ र रौनकलाई एकत्रित गर्दै एक प्रकारको मौनता छर्छ । यो मौनता वातावरणमा सीमित रहँदैन । यो प्रकृतिका सबै तत्त्वमा प्रकट हुन्छ ।
यो याममा रङ्गीन फूलहरूले आफ्नो सौन्दर्य गुमाउँछन् । जहाँ गर्मीयाममा ती फूलहरू सुगन्धित हाँसोमा रमाउँथे, अहिले ती ओइलाएका छन्, चुपचाप र निर्जीव । फुल्न नसक्ने यिनीहरू आफ्नो अस्तित्वलाई बचाउन संघर्षरत छन् ।
हिउँदे जाडोको आगमनसँगै प्रकृतिले आफ्ना रङहरू फेर्छ । जाडोले मात्र शरीरलाई होइन, हृदयलाई पनि स्पर्श गर्छ । यस मौसमको सौन्दर्य प्रकृतिको गहिरो कोखबाट निस्किएको कविताजस्तो लाग्छ । यस समयमा हरियालीको छाल हराए पनि नयाँ जीवनको संकेतस्वरूप प्रकृति आफ्ना विशेष फूलहरू लिएर आउँछ ।
हिउँले ढाकेको पर्वत शृंखला, धुनी मान्ने घाटीहरू र ओसिलो हावा सबैले यो मौसमलाई आफ्नो बनाउँछन् । बिहानपख जब सूर्यका किरणहरू हिमालका चुचुराहरूमा पर्छन्, तब देखिने सुनौलो प्रकाश मानौँ, प्रकृतिको सिउँदो सजाइएको छ । यस्ता दृश्यले हाम्रो मनमा आशा र सौन्दर्यको भाव जगाउँछ ।
तथापि जाडो मात्र हिमाल र हिमपातको होइन । जाडो याममा पनि फुल्न सक्ने फूलहरू पनि छन् । हिउँको सेतो चिसोपनमा पनि रङ्गीन मुस्कान ल्याउँछन् । यी फूलहरू प्रकृतिले जाडोको कठोरतालाई नरम बनाउन सजाएका कोमल उपहार हुन् । एउटा उदास र चिसो मौसममा फूलहरूले जीवनलाई रङ्गीन बनाउने अद्भुत शक्ति राख्छन् ।
हिउँदे बिहानको शीतल वातावरणमा कफीको कप लिएर, झ्यालबाट बाहिर हेर्दा देखिने दृश्यहरू विशेषतः प्रेरणादायक हुन्छन् । यो सौन्दर्य आँखाले हेर्ने मात्र होइन, मनले अनुभूति गर्ने हो । चिसो हावामा घुलेर फैलिने फूलहरूको सुगन्ध र चिसो हावाको हल्का स्पर्शले मनलाई ताजापनको आभास दिन्छ ।
सौन्दर्य आँखाले देख्ने भौतिक वस्तुको परिधिमा मात्र सीमित हुँँदैन । यो मनले महसुस गर्ने गहिरो अनुभूतिको नाम हो । प्रकृतिमा पाइने सौन्दर्य र मानव हृदयमा पाइने सौन्दर्य एकअर्काका पूरक हुन् । बाहिरी संसारको रूप र रङले मात्रै मानिसलाई आकर्षित गर्दैन । अन्ततः त्यसले हृदयलाई छोएर जाने कुनै गहिरो संवेदनाको प्रस्फुटन गर्छ ।
चिसो हावामा बग्ने फूलहरूको सुगन्धलाई नै हेरौँ । त्यो सुगन्ध आँखाले देखिँदैन । तर त्यसले हामीलाई आफ्नै उपस्थितिमा एक प्रकारको आनन्दको अनुभूति गराउँछ । त्यो सुगन्धले मनलाई ताजा बनाउँछ । थकाइ मेटाइदिन्छ । जीवनप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउँछ । वास्तवमा त्यो सुगन्ध प्रकृतिको आत्मा हो । जसले हामीलाई देखाउँछ कि सौन्दर्य महसुस गर्ने कुरा हो ।
प्रकृतिको एक रूपबाट अर्को रूपमा पाइला फड्को मार्दै यात्रा गर्दा फरक सौन्दर्य देख्न र महसुस गर्न सक्छौँ । हरियो बोटबिरुवा, हिमालको श्वेत रङ, खोला र झरनाका झरझर आवाज, चरा चिरबिराएका मधुर ध्वनि ! यी सबैले हाम्रो जीवनमा सौन्दर्यको अर्थ थप्छन् । यी सबैले मनमा शान्ति र सुखद अनुभूति सिर्जना गर्छन् ।
सत्य कुरा यही हो— सौन्दर्य भौतिक वस्तु होइन । यो प्रेम, करुणा, दया र आत्मीयता जस्ता गुणहरूमा पनि भेटिन्छ । एकजना आमाको काखमा सुतिरहेको बच्चा, एक मित्रको मुस्कान अथवा एकजना अपरिचित व्यक्तिको सानो सहयोगमा पनि सौन्दर्य हुन्छ । यस्ता क्षणहरू आँखाले देख्न सक्दैनौँ । तर आत्माले महसुस गर्न सकिन्छ ।
त्यसैले सौन्दर्य बाहिरी रूपरङ वा बनावटमा मात्र सीमित रहने कुरा होइन । यो हाम्रो हृदयको संवेदनशीलता, हाम्रो मनको निर्मल पाटो र हाम्रो आत्माको पवित्रतामा अवस्थित हुन्छ । चिसो हावासँगै मिसिएर बग्ने फूलहरूको सुगन्धले जीवनमा नवीन उमङ्ग र आनन्द प्रवाह गर्छ । वास्तवमा जीवनमा पाएको स–साना सौन्दर्यका क्षणले पनि हाम्रो मनलाई आनन्दित बनाउँछ ।
सौन्दर्यको वास्तविकता बुझ्न आँखालाई मात्रै होइन, मन र आत्मालाई पनि खुला राख्नुपर्छ । मूलतः संसारलाई आत्मीय दृष्टिले हेर्न सक्ने क्षमताले मात्र हामीलाई वास्तविक सौन्दर्यको अनुभूति गराउँन सक्छ ।
फूलको सुन्दरताको अनुपस्थितिमा मनुष्यका भावनाहरू पनि स्तब्ध रहन्छन् । मायालु मनहरूले ती फूलहरूलाई खोज्छन् । तर जताततै मौनता मात्र छ ।
अतः सौन्दर्य मनको अनुभूति हो । बाहिरी आँखाले देखिनेभन्दा भित्री मनले महसुस गर्ने कुरामा यसको वास्तविकता झल्किन्छ ।
जाडोको सौन्दर्यमा एउटा गहिरो जीवनदर्शन पनि लुकेको हुन्छ । जस्तो कि, कठोरता र कठिनाइका क्षणमा पनि कोमलता र सुन्दरताको खोजी गरिनुपर्छ । प्रकृतिले हरेक जाडोमा हामीलाई यही पाठ सिकाउँछ । हिउँले जमेको धर्तीलाई सुन्दरतामा बदल्ने फूलहरूको साहस र सन्देशले मानव जीवनमा आशा र प्रेरणा थप्छ ।
यसरी हिउँदे जाडो र फूलहरूको सौन्दर्य केवल बाहिरी दृश्यको कुरा मात्र होइन, यो भावनाको एउटा सम्पूर्ण संसार हो । यो मौसमले हाम्रो हृदयलाई समृद्ध बनाउने र जीवनको गहिरो मर्म बुझ्ने अवसर प्रदान गर्छ । हिउँको सेतो परिवेश र फूलहरूको रङ्गीन मुस्कानले जीवनलाई उल्लासमय आवरणमा अवतरित गरिदिन्छ ।
फूलको सुन्दरताको अनुपस्थितिमा मनुष्यका भावनाहरू पनि स्तब्ध रहन्छन् । मायालु मनहरूले ती फूलहरूलाई खोज्छन् । तर जताततै मौनता मात्र छ । रङ्गीन प्रकृतिको अभावले मानिसको मन पनि गहिरो सोचमा डुब्छ । जहाँ गर्मीयाममा प्रकृतिका कण–कण रमाउँथे, त्यहाँ अहिले चिसो मौसमले सबैलाई थिचेको हुन्छ ।
भँवराहरूको भुनभुन सुन्ने चाहनामा वातावरणमा मौनताको हावाले कुनै संकेत दिँदैन । ती भँवराहरू, गर्मी मौसममा फूलहरूसँग नाच्थे । फूलहरूका कोमल स्वप्निल रङहरूमा रमाउँदै चुम्थे । तिनै फूलका रस चुस्थे । अहिले फूलहरू पनि फुल्न नसकेर चुपचाप र मौन छन् । यस मौनता र शून्यतामा हुस्सुले ढाकेको चिसो प्रकृतिको दृश्यले दुःख झल्काउँछ । जताततै तुषारोले ढाकिएको भू–भागले मानौँ प्रकृतिले आफ्नो आँसु पोखिरहेजस्तो लाग्छ ।
यद्यपि हिउँदे जाडोले सधैँ दुःख मात्र ल्याउँदैन । यो प्रकृतिको एउटा विश्रामको समय हो । यो मौनता, यो ओइलाउने क्रम र यो स्थिरता आफैँमा नयाँ जीवनको तयारी हो । हिउँदको कठिनाइपछि वसन्तको आगमन हुन्छ, जसले प्रकृतिलाई पुनः जीवन्त बनाउँछ । ओइलाएका फूलहरू फेरि हाँस्नेछन् । भँवराहरू फेरि फूलका वरिपरि झुम्मिन आउनेछन् । फूललाई मायाले म्वाई खाँदै, रस चुस्दै नाच्नेछन् । र, मायालु मनहरूले फेरि प्रकृतिको रङ्गीन स्वरूप तथा सुगन्धित वातावरणको आनन्द उठाउनेछन् ।
यसरी हिउँदे जाडो र तुषारोको कठोरता भोगेपछि मात्र हामी वसन्तको महत्त्वलाई बुझ्न सक्छौँ । प्रकृतिको यो चक्रले हामीलाई जीवनको यथार्थ बुझाउँछ– संकटपछि सम्भावना, दुःखपछि आनन्द र मौनतापछि सुमधुर संगीत । वास्तवमा जीवनको सुन्दरता यही हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको जलपानमा प्रधानमन्त्री, तस्बिरहरू
-
स्करपियो र कार ठोक्किँदा घाइतेमध्ये एक जनाको मृत्यु
-
ह्वाइट वासबाट जोगियो श्रीलंका
-
मुलुकको आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन : गृहमन्त्री
-
जोसेफ स्टालिन र राजा महेन्द्र : नेतृत्वका जटिलता र चुनौती
-
७ करोड ठगेको आरोपमा काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष पक्राउ