काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको छैटौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यस एपिसोड नेपालीले कहिल्यै बिर्सन नहुने विद्रोहकी प्रतीक योगमाया न्यौपानेको विषयमा केन्द्रित छ ।
परिचय
नाम : योगमाया न्यौपाने
जन्ममिति : वि.सं. १९२४ असार
जन्मस्थान : सिम्ले, नेपालेडाँडा, भोजपुर
निधन : वि.सं. १९९८ असार २२ (अरुण नदी, भोजपुर)
माता : चन्द्रकला न्यौपाने
पिता : श्रीलाल न्यौपाने
कृति : सर्वार्थ योगवाणी
राणाकालीन निरङ्कुश शासनमा राजनीति तथा समाज सुधारका लागि उनले प्रशासनको तल्लो एकाइदेखि प्रधानमन्त्रीसम्म बुलन्द आवाज पुर्याएकी थिइन् । सामाजिक असमानता, भेदभाव, छुवाछुत, रूढिवादी अन्धसंस्कार, कुरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासीप्रथा, सतीप्रथा, बालविवाह, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थका विरूद्ध सशक्त विद्रोहको स्वर घन्काएकी थिइन् उनले ।
योगमाया अदम्य उत्साह, असीम साहस र स्तुत्य निर्भीकताकी प्रतीक मात्रै थिइनन्, विश्वमै अनुपम त्याग र वलिदानकी साक्षात् प्रतिमूर्ति समेत बनिन् । आध्यात्मिक उन्नयनका साथ समाज सुधारका दिशामा अविचल तथा क्रियाशील योगमाया देशका राजनीतिक, सामाजिक, सांस्कृतिक थितिमा सुधार ल्याउन चाहन्थिन् ।
विभेदरहित ‘धर्मराज्य’ को स्थापना उनको मूल उद्देश्य थियो । यसका निम्ति उनले सरकारसामु ‘सत्य धर्म भिक्षा’ को प्रस्ताव पनि राखेकी थिइन् । प्रस्तावमा २६८ वटा माग समावेश थिए ।
पटक–पटकको प्रयासपछि मात्रै प्रस्तावपत्र राणा प्रधानमन्त्रीसमक्ष पुगेको थियो । श्री ३ जुद्ध शमशेरले योगमायालाई सत्यधर्मभिक्षाको पालना गर्ने वचन पनि दिएका थिए ।
प्रस्ताव बुझाउनका लागि उनी भोजपुरबाट पैदलै काठमाडौं आएको भनाइ छ । वचन दिइए पनि तत्कालीन शासकद्वारा त्यसको मर्यादा राखिएन । कथनी अनुरूप व्यवहार नहुँदा योगमाया खिन्न हुन पुगिन् ।
विरोधस्वरूप उनले आफ्ना २४० अनुयायीका साथ अग्निदाह गरी प्राणत्याग गर्ने निधो गरिन् । वि.सं. १९९५ मङ्सिर पूर्णिमाका दिन भोजपुरको मझुवामा विशाल अग्निज्वाला दन्काई सामूहिक रूपमा प्राण त्याग्ने चर्चा जसै चल्यो, प्रशासनमा हल्लीखल्ली मच्चियो ।
योगमायासहित सबै जना पक्राउ परे । अग्निदाहको कार्यक्रम हुन पाएन । त्यसपछि, ‘स्त्री र केटाकेटीलाई छाड्नू’ भनिएकाले योगमाया पनि मुक्त भइन् ।
राणाशासकका व्यवहारले योगमाया वाक्क बनेकी थिइन् । समाज उत्थान, नारीविकास, धर्मरक्षा तथा न्यायको सम्भावना क्षीण हुँदै गएको देखेर बलिदानका माध्यमबाट शासकलाई चेताउने र भावी पुस्तालाई मार्गप्रशस्त गर्ने अठोट गरिन् । र, मोक्षका लागि समेत उनले जलसमाधिको बाटो अँगालिन् ।
वि.सं. १९२४ असारमा सिम्ले, नेपालेडाँडा, भोजपुरमा जन्मिएकी योगमायाले वि.सं. १९९८ असार २२ गते हरिशयनी एकादशीका दिन अरुण नदीमा जलसमाधि लिइन् । उनका साथमा ४३ महिला र १६ पुरुष गरी कुल ५९ जनाले जलसमाधि लिएका थिए ।कतिपयले जलसमाधि लिनेको सङ्ख्या ६८ बताएका छन् ।
यसरी एउटी महिलाको आह्वान तथा नेतृत्वमा राजनीतिक, धार्मिक, सामाजिक कुव्यवस्थाविरूद्ध सामूहिक रूपमा प्राणोत्सर्ग गरिएको यो घटना नेपालका लागि मात्रै होइन, विश्वकै परिदृश्यमा समेत अद्भुत, अपत्यारिलो तथा उल्लेखनीय छ ।
योगमायाको व्यक्तित्व अध्यात्म ज्योतिका रूपमा देदीप्यमान छ । उनको जप, तप, ध्यान, साधना अत्यन्तै प्रगाढ थियो । नपढेकी भए पनि परेर उनमा ज्ञानको अथाहा सागर थियो । उनले धेरै वर्ष गुफामा तपस्या गरेकी थिइन् । अरुण नदीमा पानीमै बसेर उनी कैयन् दिनसम्म साधना गर्थिन् रे ।
स्वर्गद्वारी महाप्रभु अभयानन्द द्वितीयसँग उनले दीक्षा लिएको भनाइ छ । उनमा दैवीगुण तथा चमत्कारिक शक्ति पनि प्रशस्त भएको उनका अनुयायीले बताएका छन् ।
उनका सम्बन्धमा किंवदन्ती जस्ता अनेक चर्चा पूर्वीय भेगमा प्रशस्त सुन्न सकिन्छ । विश्वमा कतै नराम्रो घटना हुँदा उनलाई पसिना छुट्थ्यो रे ।
गलामा सर्पका माला देखिन्थे । रुमालमा बसेर अरुण नदी तर्थिन् । बेला अनुसार उनका अनेक स्वरूप देखिन्थे ।
उनले फुकेर दिएको बिगुत लगाउँदा कडाभन्दा कडा रोग समेत बिसेक हुन्थ्यो रे । उनी गर्मीमा धुनी बालेर र जाडोमा चिसो पानीमा बसेर तपस्या गर्थिन् !
यस्ताखाले सजिलै पत्याउन नसकिने रहस्यमयी कामकुरोले गर्दा हुनसक्छ, उनलाई ‘औतारी माता’ समेत भनिन्थ्यो । योगमायाको विराट व्यक्तित्व जन्मजात वा स्वतःसिद्ध भएको चाहिँ पक्कै होइन ।
योगमायाले बाल्यकालदेखि अनेक दुःख, उत्पीडन, विरह र गहिरो व्यथा भोग्नुपरेको छ । आमाबावुकी एक्ली छोरी योगमायाका दुई भाइ पुष्पलाल र अग्निधर थिए ।
झन्डै पाँचवर्षको उमेरमा स्थानीय मनोरथ कोइरालासँग उनको विवाह भएको थियो । वैवाहिक जीवन भने सुखमय रहेन । करिव दुई वर्षमै पतिको मृत्यु भई वैधव्यजीवन बेहोर्नुपर्यो ।
घरमा नाना लाञ्छना तथा प्रताडना पनि कम थिएन । अति भएपछि उनी माइतीको दैलामा पुगिन् । त्यहाँ पनि धेरै समय शान्त भई बस्न अनुकूल भएन । कँडेल जैसीका साथमा उनी आसाम (भारत) गइन् ।
यिनै कँडेलसँग विवाह भई छोरी पाएको भनाइ समेत छ । कँडेल पनि दीर्घायुका रहेनछन् । केही समयमै उनको निधन हुनपुग्यो ।
यसपछि योगमायाले त्यतैका डोटेलसँग तेस्रो विवाह गरेको र उसबाट छोरी ‘नैनकला’ जन्मिएको भनाइ पनि छ । डोटेल पनि चाँडै कालको मुखमा परेकाले बिरक्तिई योगमाया योगको बाटामा लागेको एकथरी भनाइ छ ।
अर्को भनाइ अनुसार पुराणवाचकद्वारा ‘परस्त्रीगमन तथा परपुरूषगमन गरेमा रौरव नर्क भोग्नुपर्ने र यसबाट बच्न प्रायश्चित गर्नुपर्ने’ कथा सुनेपछि पूर्वचरित्रलाई धिक्कार्दै दुवै जना छुट्टिई अध्यात्मपथमा लागिपरेका हुन् । जे होस्, योगमाया अध्यात्मपथमा पूर्णरूपेण प्रवृत्त भइन् ।
ज्ञानको खोजीमा भौंतारिएकी योगमाया स्वर्गद्वारी हुँदै नेपाल तथा भारतका विभिन्न तीर्थमा पुगिन् । अन्ततोगत्वा, उनी १९६६ ताका अरुण नदीको तट मझुवाबेसीमा गई कुटी बनाएर बस्न थालिन् ।
त्यहीँको सेरोफेरो समेटी उनले गीत्यात्मक ढङ्गमा धर्म तथा समाजसुधारका लागि ज्ञान बाँड्न थालिन् । कथित उच्चजातिका नाममा कतिपय ब्राह्मणले फैलाएका विसङ्गति, विकृतिविरूद्ध योगमायाले यसरी काव्यात्मक रूपमा तीखोप्रहार गरेकी छिन् :
एउटा घर श्राद्ध खाई अर्का घरमा आँटे
ग्रहहरू बिन्ति गर्छन् पुरोहितले ढाँटे
पुरोहितको बुद्धि हेर निक्री लिने जुक्ति
एउटी गौले बाह्रजग्गा कहिले हुन्थ्यो मुक्ति ।।
अर्को ठाउँमा उनको यस्तो उल्लेख पाइन्छ :
ब्राह्मणले सत्य धर्म सब छाडी दिए
जगतमा भ्रष्ट कर्म सब गर्दा भए
त्राहि त्राहि पर्यो प्रभू झुट्टा कर्मैले
सारा लोक्मा छाड्यो प्रभू साँच्चा धर्मैले ।।
योगमायाले तत्कालीन प्रशासनमा हुर्कंदो घुसखोरी प्रथालाई पनि आफ्ना अभिव्यक्तिद्वारा सशक्त रूपमा प्रकट गरेकी छिन् :
सरकारका अड्डा अदालत रहेका
लोकको नियाँ हेर्न राखि दिएका
लोभले गर्दा धर्मको नष्ट पारी
नियाँ त्यसको थियो लियो घुस हकारी
दोहोरो दण्ड त्यसैमा लगायो
थियो जित्ने मुद्दा त्यो मुद्दा हरायो ।।
यसप्रकार गरिएको उनको सुधार आन्दोलनले विशेषतः भोजपुर, सङ्खुवासभा, धनकुटा, मोरङ आदि क्षेत्रलाई विशेष प्रभाव पार्यो ।
योगमाया बेथितीविरुद्ध जनमानसलाई आह्वान गर्दै भन्थिन्–
थितिदेखि बेथिति त भएकै छ अहिले
त्यही थिति बिग्रिनाले बिन्ती गरेँ मैले
भजनका माध्यमबाट ज्ञान र चेतना जगाउने योगमायाका सरल पद्यात्मक अभिव्यक्ति छोरी नैनकलालाई कण्ठस्थ थियो । त्यही सुनेर पण्डित प्रेमनारायणले लेख्यरूप दिएको भनाइ छ ।
यो, वि.सं. १९८८ मा लेखिएको अध्येताहरूको कथन छ । योगमायाको रचना ‘सर्वार्थ योगवाणी’ कृतिका रूपमा जनसामु आयो ।
‘सर्वार्थ योगवाणी’ को प्रथम प्रकाशन कहाँ, कहिले भयो, भन्नेबारे चाहिं एकमत छैन । वि.सं.१९९५ पूर्व नै यसको प्रकाशन भएकामा चाहिं मतैक्य छ ।
पछिल्ला वर्षमा यो कृति बनारस तथा कालिम्पोङमा पटक–पटक प्रकाशित भए । २०५३ सालमा इटहरीमा पुनर्मुद्रित गरियो ।
योगमायालाई जान्न, बुझ्न यो कृति महत्त्वपूर्ण सामग्री मानिएको छ । योगमायाका विचार आज पनि उत्तिकै मननीय छन् ।
यहाँको धर्तीमा योगमायाको योगदान अति विशिष्ट रहे तापनि उनका बारेमा यथोचित काम हुन सकेको छैन । सुखद कुरो, विभिन्न विद्वान्, लेखक, पत्रकार, योगमाया स्मृति प्रतिष्ठान नेपाल यस दिशामा केही अग्रसर रहेका छन् ।
अस्मिता महिला प्रकाशनले पत्रकार लेखनाथ भण्डारीको संयोजनमा विशेष उपयोगी बनाई सर्वार्थ योगवाणीको पुनः प्रकाशन गरेको पक्षलाई साधुवाद दिनुपर्छ । पुराना प्रकाशनहरू अप्राप्त रहेकाले चाहिँदो काम गर्न गाह्रो भएको भनाइ पत्रकार भण्डारीले सो कृतिमा उल्लेख गरेका छन् ।
योगमायाको सोधखोजमा जनकलाल शर्मा, मातृका तिम्सिना, ज्ञानमणि नेपाल आदिले बढाएका पाइला स्तुत्य छन् । अमेरिकाली समाजशास्त्री बारबरा निम्री अजिजको पनि गहिरो अध्ययन रहेको छ ।
निर्मलकुमार आचार्यको ‘प्रथम नेपाली महिला’ कृतिमा पनि योगमायाबारे संक्षिप्त प्रकाश पारिएको छ । २०६३ सालमा उनका सम्बन्धमा वृत्तचित्त समेत बनेको थियो ।
हाल आएर योगमायाका सम्बन्धमा अन्य साहित्यिक कृति पनि प्रकाशनमा आएका छन् । उनको जीवनीमा आधारित उपन्यास ‘योगमाया’ लाई २०७४ सालको मदन पुरस्कार दिइएको छ, उपन्यासकार हुन्– निलम कार्की निहारिका ।
योगमायाका सम्बन्धमा टङ्क चौलागाईद्वारा लिखित नाटक २०७६ सालमा काठमाडौँमा मञ्चन गरिएको थियो । नेपाल सरकारले समाजसुधारिका योगमायाका योगदानको कदर गर्दै २०७३ सालमा हुलाक टिकट प्रकाशन गरेको छ ।
‘योगमाया आयुर्वेद विश्वविद्यालय’ स्थापना गर्ने कुरो पनि चलेकै छ । यत्ति हुँदाहुँदै पनि योगमायाबारे धेरै कुरा गर्न र प्रकाशमा आउन बाँकी छ ।
शक्तिमाईका रूपमा परिचित योगमाया प्रथम नेपाली सन्त कवयित्री हुन् । योगमायालाई प्रथम नेपाली यथार्थवादी कवयित्री पनि भन्न सकिन्छ । उनलाई आन्दोलनकारी प्रथम नेपाली महिलाका रूपमा पनि चित्रण गर्न सकिन्छ । प्रथम नेपाली सन्त कवयित्री तथा विद्रोही योगमायाका सम्बन्धमा प्रचारबाजी भन्दा पनि ठोस काम जरुरी छ । उनलाई प्रथम नेपाली समाजसुधारिका भन्दा पनि हुन्छ । मूलतः उनी प्रथम नेपाली विद्रोही महिला हुन् ।
प्रतिक्रिया