पुस २७ गते बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मदिन, हामीलाई नेपाली नाम र पहिचान दिने युग–पुरुषलाई सम्झने दिन । यसमा हामी कुनै नेपालीले हीनताबोध गर्नुपर्ने अन्यथा सोच्नु र तर्क गर्नुपर्ने कुनै कारण छैन ।
पृथ्वीजयन्ती नेपालको राष्ट्रिय एकता दिवस हो । पृथ्वीनारायण शाह नभएको भए आज हामीले नेपाली नाम पाउने थिएनौँ । नेपाली नाम र पहिचान दिने नेपाली राजाको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु हामी सबैको कर्तव्य हो ।
पछिल्ला केही वर्ष पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउन मुख्य राजनीतिक दलहरू नै अग्रसर भए । हामी कसरी नेपाली भयौँ, कसरी स्वाधीन र स्वतन्त्र राष्ट्रको नागरिक हुने सौभाग्य प्राप्त गर्यौँ भन्ने कुरा हाम्रो भावी सन्ततिले थाहा पाउनुपर्यो । त्यो अवसरबाट हाम्रो भावी सन्ततिले वञ्चित हुन नपरोस् भनेर यो परम्परालाई जीवित राख्नका लागि राप्रपाले यसलाई हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको छ । यसलाई गत वर्षबाट सरकारले आफ्नो क्यालेन्डरमै उल्लेख गरेर सार्वजनिक बिदा दिने परम्पराको सुरुवात भएको छ । यो पनि राप्रपा सरकारमा सामेल भएकाले हो । राष्ट्रिय एकता दिवसका रूपमा घोषणा गरे पनि मान्यता दिए पनि सरकारले औपचारिक रूपमा कार्यक्रमहरूको आयोजना गरेको छैन ।
राष्ट्रिय एकता दिवस मनाउने विषयमा राज्यले धेरै गर्न सक्छ । पहिलो कुरा पाठ्यक्रममै यो विषय समेटिनुपर्छ । त्यसो गर्दा भावी पुस्ताले आफ्नो देशको इतिहास बुझ्नेछन् ।
एकता दिवस र पृथ्वीनारायणबारे नयाँ पुस्ताले बिस्तारै बुझ्दै छ । गत वर्ष हामीले नवयुवाका लागि पृथ्वी शीर्षकमा कविता प्रतियोगिता आयोजना गरेका थियौँ । त्यसमा सहभागी कविका कविता सुन्दा हामीलाई लाग्यो, नयाँ पुस्ता चुपचाप बसेको छैन । पृथ्वीनारायण शाहबारेको जानकारी पाठ्यक्रममा नराखे पनि नयाँ पुस्ताले यसबारे खोजी गरेको छ, पृथ्वीनारायण शाहबारे जानकारी प्रशस्त लिन थालेको छ भन्ने हाल अनुभूत हुन थालेको छ ।
राष्ट्रिय एकता दिवस मनाउने विषयमा राज्यले धेरै गर्न सक्छ । पहिलो कुरा पाठ्यक्रममै यो विषय समेटिनुपर्छ । त्यसो गर्दा भावी पुस्ताले आफ्नो देशको इतिहास बुझ्नेछन् । योसँगै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ । संस्कृति मन्त्रालयका माध्यमबाट सरकारले यसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने व्यवस्था गर्नुपर्छ । प्रज्ञा प्रतिष्ठानले यस्ता उत्सव तथा कार्यक्रमको नेतृत्व गर्नुपर्छ ।
जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गरी एउटा समृद्ध राष्ट्र र समतामूलक समाज निर्माण गर्नका लागि हामीले कुनै विश्वविद्यालय गएर पढ्नैपर्दैन, बडामहाराजधिराज पृथ्वी नारायण शाहको दिव्योपदेश पढे पुग्छ । पृथ्वीनारायणले भूगोल मात्र जोडेनन् त्यो भूगोललाई कसरी समृद्ध बनाउने, त्यो भूगोलमा बस्ने बासिन्दाका बिचमा कसरी समता कायम गर्ने, छिमेकहरूसँगको सम्बन्ध कस्तो गर्ने, उद्योग व्यापार कसरी गर्ने भन्नेदेखि बस्ती विकाससम्मका योजना दिए । उनी एउटा कम्प्लिट प्याकेज हुन् । त्यस कारण यो देश बनाउन विश्वविद्यालयमा गएर पढ्नैपर्दैन, उनको दिव्योपदेश पढे पुग्छ । अहिले देशमा जति पनि विभेद बाँकी छ, मानिसहरू राज्यको मूल प्रवाहबाट पछि परे भन्ने गुनासो छ, त्यसबाट देशलाई मुक्त गराउन नेतृत्वमा बस्ने मानिसले इमानदारीपूर्वक कार्यान्वयन गरे पुग्छ ।
पृथ्वीनारायण शाहले जुन एकीकरण अभियान चलाए त्यो एकीकरण थियो कि, साम्राज्य वा राज्यविस्तार थियो भनेर तर्क गर्ने पनि छन् । त्यसलाई राज्य वा साम्राज्य विस्तार जे भन्नुस्, म त एकीकरण भन्छु ।
पृथ्वी जयन्ती होस्, राजसंस्थाको कुरा होस्, चाहे हिन्दु राष्ट्रको कुरा होस्— यो कुनै दल विशेषको कुरा होइन । यो नेपालको पहिचान र एकतासँग सम्बन्धित विषय हो । तपाईं भन्न सक्नुहोला, यी विषय नेपालको पहिचान र स्थायित्वसँग सम्बन्धित छन् भने किन अरू दलहरूले यसमाथि आक्रमण गर्छन् ? विदेशीले बुझेका छन् कि नेपालको स्थायित्व र पहिचानका आधार भनेकै पृथ्वीजयन्ती, हिन्दु राष्ट्र र राजसंस्था नै हुन् । यिनीहरूलाई कमजोर नबनाईकन नहटाईकन नेपालको एकता र पहिचानलाई कमजोर बनाउन सकिँदैन । त्यसैले यसमाथि उनीहरूको योजनाबद्ध प्रहार छ । त्यसमा हाम्रा कतिपय मानिसको जानाजान संलग्नता छ भने धेरैको अज्ञानतामा संलग्नता छ । यो कुरा अहिले बिस्तारै प्रस्ट हुँदै आएको छ । राजनीतिक दलहरूले पनि कतिपय सन्दर्भमा बुझ्न थालेको अवस्था छ । जसले पृथ्वीनारायण शाहको सालिक ढाले, जसले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुहुन्न भने उनीहरूले नै पृथ्वीनारायण शाहको सालिक खडा गर्नेदेखि पृथ्वीदिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ भन्ने सहमति दिनेसम्मको वातावरण बन्दै गएको छ ।
पृथ्वीनारायण शाहले जुन एकीकरण अभियान चलाए त्यो एकीकरण थियो कि, साम्राज्य वा राज्यविस्तार थियो भनेर तर्क गर्ने पनि छन् । त्यसलाई राज्य वा साम्राज्य विस्तार जे भन्नुस्, म त एकीकरण भन्छु । जे नाममा गरेको भए पनि उनी थिएनन् भने आजको नेपाल हुने थिएन् । उनले जोड्ने काम नगरेको भए हामीले नेपालीको पहिचान प्राप्त गर्ने थिएनौँ । पृथ्वीनारायणले नेपालको एकीकरण नगरेको भए, लिम्बुवान र काठमाडौँ उपत्यकालाई आफ्नो एकीकरणभित्र सामेल नछुट्टै छाडेको भए आज यो खाल्डो अलग्गै राज्य हुन्थ्यो त ? पूर्वमा लिम्बुवान वा किरात भन्ने राज्य हुन्थ्यो ? म राजेन्द्र लिङ्देन वा अर्काे कोही लिम्बुको राजा भइरहेको हुन्थ्यो र ?
राज्य एकीकरणका बेला भएका सामान्य विषयलाई लिएर तिम्रो पुर्खालाई पृथ्वीनारायण शाहले यसो गरेका थिए र तिमीले बदला लिनुपर्छ भन्नु मूर्खता पूर्ण सोच हो । हामीले गौरव गर्नुपर्छ कि पृथ्वीनारायणले गर्दा हामीले यो भेगमा एउटा सार्वभौम राष्ट्र प्राप्त गरेका छौँ । कसैको अधीन र नियन्त्रणमा नपरेको राज्य प्राप्त गरेका छौँ र दुनियाँको अगाडि हामीले गौरव गर्ने मौका पाएका छौँ । यसमा हीनताबोध गर्नेले आफूलाई नेपाली नभने हुन्छ ।
(रातोपाटीकर्मी रोमन आचार्यले गरेको संवादमा आधारित ।)
प्रतिक्रिया