जिउनुको अर्थ सकियो

शिशिरको पालुवा जस्तै, मन उजाडियो
मरिसकेको दिलमा बसेको एउटा आकृति उजाडियो
आँखा पहिल्यै रित्तिएका थिए, भरोसा नि उजाडियो
बाँकी के छ र ! रित्तो जिन्दगी ! त्यो पनि बढारियो ।
गोरेटोमा भेटियो, बिचैमा बाटो मोडियो
सेतो गुलाब, लुछेर फालिएको कौमार्य
कुइनेटामा राताम्मे लास भेटियो
तिमीले फेरेको काँचुलीमा मेरो भविष्य लेखियो ।
बिना गणित जोडियो, चौबाटोमा गुणन गरियो
भ्रूण, दल, जरा, बोट, कोपिला, फूल कता कता जोडियो !
समाजको बगैँचामा दुर्गन्धित बनाइ छाडियो
भूमिका उस्तै !! गोडमेल मेरो गरियो ।
झुटो दिलमा बास बस्यौँ ! फेरी छोडियो
वासनाको पछि लाग्यौँ घृणा जोडियो
प्रकृति हुँ ! जननी हुँ ! भन्ने अहङ्कार तोडियो
पत्रपत्र खोतलेर विचलित बनाइ छोडियो ।
तिम्रो बस्तीमा कोमल फक्रियो ! मेरो सासै रोकियो
जित्नु, पाउनुको परिभाषा फेरियो, सँगैको यात्राको अर्थ फेरियो
यादको मलामी जाँदा जाँदै हत्केलाको रेखा फेरियो
फरक यात्रीको साथमा जिउनुको अर्थ सकियो ।।