हामीलाई अरुन्धती रोय किन चाहिन्छ ?
यो वर्षको पेन पिन्टर पुरस्कार अरुन्धतीले पाएकी छन् । अरुन्धती भन्नासाथ मलाई छुट्टै मजा आउँछ । अरुन्धतीको प्रशंसा गर्नभन्दा धेरै मजा मलाई कमै काम गर्दामात्रै आउँछ । सामान्य अवस्थामा हुँदा मलाई उनका उपन्यासका पात्रहरू वा र उनका एक हरफवाला गज्जबका वाक्यहरू सम्झिन धेरै आनन्द लाग्छ ।
यहाँ म उनका केही चर्चित लेख र भनाइहरूको कुरा गर्दै छैन । २१औँ शताब्दीको सुरुमा धेरैको इमेल सिग्नेचर बनेको ‘अर्काे दुनियाँ सम्भवमात्रै नभएर..’ भन्ने हरफको कुरा गर्दै छैन, वा उनले कोरोनाको कहरको बेला लेखेको ‘यो महामारी एउटा पानीढलो हो’ भन्ने निबन्धको पनि कुरा गर्दै छैन, जसले हामीलाई त्यो सङ्कट कसरी मानव इतिहासको घुम्ती हो भन्ने बताएको थियो । यसले हामीलाई आफूले खोजेजस्तो यात्राको लागि तत्काल हामीले रोज्नुपर्ने बाटोबारे पनि बताएको थियो ।
म ती थोरैमात्र चर्चा गरिएका र आम रूपमा कमैमात्र थाहा भएका विचारहरूको बारेमा कुरा गर्दैछु, जसले हामीलाई इतिहासका घटनाक्रमहरू तीव्र गतिमा चलेको घडीमा पक्रिन मद्दत गरे । सन् २००१ को सेप्टेम्बर ११ को घटनापछि जब अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले ‘तिमी या त हामीसँग हुन्छौ वा आतङ्कवादीहरूसँग’ भनेका थिए, त्यसबेला अरुन्धतीले सम्झाइन् कि हामीले यस्ता अतिहरूमध्ये एक छान्नुपर्दैन । हामीले ‘खराब मिक्की माउस र पागल मुल्ला’बिच एउटा छान्नैपर्छ भन्ने छैन, धर्तीको सुन्दरता यस्ता अतिहरूमा हैन, बिचमा कतै हुन्छ भनेर सम्झाइन् । जब अमेरिकी जेटहरूले अफगानिस्तानमा अन्दाधुन्द बमबारी गरे तथा बमबारी लगत्तै खाद्य सहायताको बोरा बाँड्न थाले, उनले यस्तो तमासालाई ‘बदामको बटर र स्ट्रवेरीको जामले छोपेको क्रूरता’ भनिन् । उनले हाम्रा फोनहरूलाई शरीरका अङ्गहरूसँग तुलना गर्दै सोधिन्, ‘सोच्नुहोस् त ! यदि तपाईंको कलेजो र तपाईंको पित्तथैलीलाई मुटुसँग सरोकार छैन भने के हुन्छ ?’
उनले मध्यमवर्गीय वातावरणवादको आलोचना गर्दै भनिन्, ‘यी गफाडीहरू हामी केही पनि नफेरी कसरी परिवर्तन गर्न सक्छौँ भन्दै हिँडेका छन् ।’
म यस्ता धेरै कुरा भन्न सक्छु । म उनका लेखनीको सङ्कलक हुँ । तपाईंले देख्नुभयो नि ! म अरुन्धतीविद् हुँ !
उनका उपन्यासहरूमा एउटा संसारभित्र अर्काे संसारको सिर्जना भएको हुन्छ । तिनीहरूभित्र फेरि अर्काे संसार बुनिएको हुन्छ । एउटाभित्र अर्काे जेलिएको हुन्छ । सन् २०१७ मा आएको उपन्यास ‘द मिनिष्ट्री अफ ह्याप्पिनेस’का पात्रहरू वैश्विक पुँजीवाद र नश्लीय राष्ट्रवादरुपी एकलकाँटे र लठेप्रा जुम्ल्याहाविरुद्ध भङ्जाहा र अनियन्त्रित विविधता बोक्छन् । जोन बर्गरले कुनै बेला भनेका थिए ‘अरुन्धतीका आख्यान हुन् वा गैरआख्यान, ती उनका संसार घुम्ने एक जोडी खुट्टाजस्तै छन् ।’ यसको अर्थ हुन्छ– यदि हामी उनले गरेको संसार विचरणको मौलिकता बुझ्ने हो भने उनका आख्यान र गैरआख्यानलाई एक–अर्काेसँग जोडेर हेर्नुपर्छ ।
थोरैको संख्यामा केही यस्ता लेखक पनि छन् जो, मान्छेले अन्य मान्छे तथा प्रकृतिमाथि गर्न सक्ने निकृष्ट कृत्यसँग जुध्न खोज्छन् । साथै केही यस्ता पनि छन्, जो बहुत जोडदार रूपमा सुन्दरताको खोजी गर्छन् ।
उनले दर्जनौँ निबन्ध लेखेकी छन्, भाषणहरू दिएकी छन् । सन् २०१९ मा आएको सुन्दर संग्रह ‘माई सेडिसियस हर्ट’ र सन् २०२० मा आएको ‘आजादी’ जस्ता कृतिका १ हजारभन्दा धेरै पृष्ठ यस्तै निबन्ध र भाषणले भरिएका छन् । हामीले यी लेखाइहरूमा मसिनो गरी हेर्यौँ भने सन् १९९७ मा आएको ‘द गड अफ स्मल थिङ्स’ पछि कसरी उनी आफैँमा युद्ध संवाददाता बन्न पुगिन् भन्ने देख्न सक्छौँ । जसमा उनले असह्य वेदना, कहालिलाग्दो अन्याय तथा चरम राज्यहिंसा भोगिरहेका ठाउँ र मान्छेका कथा खोजेकी छन् । उनले यस्ता पीडाका कथा खोज्न काश्मिर, माओवादी आन्दोलन र गुजरात नरसंहारपछिको अवस्था, आणविक हतियार परीक्षणस्थल तथा नर्मदा उपत्यकालाई डुबानबाट जोगाउन भइरहेका आन्दोलनहरूमा चाहारेकी छन् ।
तर उनी त अरुन्धती रोय हुन् । उनी यी सबै द्वन्द्व र सन्दर्भलाई फगत एक युद्ध संवाददाताको जसरी त किन लेख्थिन् र ! उनले त यी सन्दर्भलाई उपन्यासकारले जस्तै गरी लेखिन् । उनले लेखकको रूपमा आफ्नो अद्भूत प्रतिभा प्रयोग गरिन्, अथाह कल्पना शक्ति लगाइन्, मसिनो गरी खोतल्न र पूर्णतामा हेर्न आफ्ना दिव्य चक्षु उपयोग गरिन् । विरोध जुलुसमा काव्य खोज्न अविस्मरणीय विम्ब हालिन् । छापामार युद्धमा ‘डार्क ह्युमर’ भेटिन् । उनले आफ्नो कलात्मक आँखाबाट देखाएकैले हामीले न्याय र अस्तित्वका लागि भएका यति धेरै संघर्ष अझ राम्रोसँग बुझ्न पायौँ । गहिरो गरी अनुभूति गर्न सक्यौँ ।
थोरैको संख्यामा केही यस्ता लेखक पनि छन् जो, मान्छेले अन्य मान्छे तथा प्रकृतिमाथि गर्न सक्ने निकृष्ट कृत्यसँग जुध्न खोज्छन् । साथै केही यस्ता पनि छन्, जो बहुत जोडदार रूपमा सुन्दरताको खोजी गर्छन् । जो बहुत बेपर्बाह पारामा यो संसारसँग बारम्बार प्रेममा परिरहन्छन् ।
तर एकसाथ कुरुपतासँग जुध्ने र सौन्दर्य खोज्ने लेखक भने दुर्लभ छन् । लेखकको रूपमा एकसाथ विनाशका लागि दौडेको भिडका निर्जीव आँखामा नियाल्नु र आम मानिसहरू एकताबद्ध भएर संसारलाई अझै उन्नत बनाउन लाग्ने कुराको विश्वासमा दृढ रहनु विरलै भेटिन्छ ।
अरुन्धती त्यही दुर्लभ लेखक हुन् । बेलायती–इजिप्टेली पृष्ठभूमिका अला अब्द अल–फत्ताह पनि त्यस्तै दुर्लभ लेखक हुन् । अरुन्धतीले अब्द अल–फत्ताहलाई आफूसँगै यो सालको ‘पेन साहसी लेखक’ प्राप्त गर्न छानिन् भन्दा मलाई अनौठो लागेको थिएन । शैलीगत रूपमा भिन्न भए पनि यी दुई जना सहोदर नातेदारजस्तै एक–आपसमा जोडिएका छन् ।
मैले सन् २०२१ मा आएको अब्द अल–फत्ताहको पुस्तक ‘यु ह्याब नट यट बिन डिफिटेड’मा भूमिका लेख्ने सौभाग्य पाएकी थिएँ । हफ्तौँसम्म उसको लेखाइमा डुबेपछि म अलको प्रशंसामा टिप्पणी गर्न पाउँदा असाध्यै हर्षित भएकी थिएँ । उसको कृतिमा भेटिएका केही वाक्य तथा अन्तर्दृष्टि त्यसपछिको दिनमा मेरो चिन्तन प्रणालीमा सधैँका लागि गडेर बसेका छन् ।
म उसले राष्ट्रवादबारे दिएका चेतावनीहरू, सहभागितामूलक लोकतन्त्रमा उसको अगाध आस्था तथा लेखनीको रुप र शैली दुवैमा उसले गरेका साहसी प्रयोगहरूबारे भन्न सक्छु । म उसले तानाशाहहरू, ठगहरू तथा कायरहरू विरुद्ध घृणा ओकल्न प्रयोग गरेका मौलिक शैलीबारे पनि तपाईंहरूलाई सुनाउन सक्छु । यसमा त अरुन्धती र अलाको शैली उस्तै–उस्तै लाग्छ । यतिमात्र नभएर क्रान्तिकारीहरूले कसरी उनीहरूको आफ्नै आन्दोलनको हार र पथ–विचलनलाई हेरेका हुन्छन् भन्ने पनि लेख्न सक्छु । यस्तो कुरा अब्द अल–फत्ताहले असाध्यै सावधानी र कुशलतासाथ लेखेका छन् ।
यस्तै गुणहरू, तीक्ष्ण विश्लेषणात्मक क्षमताले भरिएको रणनैतिक मष्तिष्क भएकैले उनी सन् २०११ मा कायरोको ताहरिर चोकमा भएको ३ दशक पुरानो होस्नी मुबारकको शासन फाल्ने आन्दोलनको मुख्य मान्छे बन्न पुगे । यहाँ भन्नुपर्ने कुरा धेरै छन् ।
अहिले जब म अरुन्धती र अला दुवैको प्रशंसाका शब्द लेख्न लागेँ, यतिखेर मलाई तिनका शब्द, किताब, निबन्ध र वाक्यांशको प्रयोगमा मात्रै ध्यान केन्द्रित गर्न साह्रै अप्ठ्यारो अनुभव भयो । पक्कै पनि तिनीहरूका लेखाइले आफ्नो देशभित्र र बाहिर न्याय, मुक्ति र सम्मानसाथ बाँच्न पाउने अधिकारका लागि लडिरहेका लाखौँ मानिसहरूका लागि राख्ने महत्त्वमा मात्रै ध्यान केन्द्रित गर्न पनि उपयुक्त हुँदैनथ्यो ।
म एउटा मामुली तथ्यमा पुगेर अड्किएँ । पक्कै पनि यी दुवै लेखक नितान्त फरक परिवेशमा छन् । तर यी दुवै खतरामा छन् । अक्टोबर १० मा ब्रिटिस लाइब्रेरीमा भएको हुने भनिएको यो अवार्ड समारोहमा मलाई पेन पुरस्कार समितिले बोल्नका लागि दिएको निमन्त्रणापत्रमा हामीलाई स्तब्ध पार्ने एउटा चेतावनी पनि समावेश थियो– विद्यमान संसारको अवस्था र अला तथा अरुन्धती दुवैलाई उनीहरूको सरकारद्वारा बनाइएको निशानाको परिप्रेक्ष्यमा हामीलाई राम्रोसँग थाहा छ, यी दुवैजना स–शरीर पुरस्कार समारोहमा आइपुग्न सक्छन् वा आइनपुग्न पनि सक्छन् ।
आजभन्दा १२ दिन पहिलेनै आफ्नो पछिल्लो बेतुकमा दिइएको सजाय पूरा गरेर अब्द अल–फत्ताह रिहा भइसक्नु पर्ने हो । उनी अहिले यहाँ हुनुपर्थ्यो । यसका लागि बेलायती सरकारले आफूसँग भएको हरेक तरिकाको प्रयोग गर्नुपर्थ्यो । यसो गर्दा सायद उनी यहाँ हुन सक्थे । प्रस्ट छ– त्यसो हुन सकेन ।
अब्द अल–फत्ताहले आफ्नो जीवनको एक दशकभन्दा बढी समय इजिप्टको कालकोठरीभित्र बन्दी भएर गुमाइसकेका छन् । यो कैद यति लामो, यातनापूर्ण र स्वेच्छाचारी छ कि उनकी आमा लैला सोयफले पछिल्लो समय थपको प्रपञ्चलाई आफ्नो छोराको ‘अपहरण’ भएको भनेकी छन् ।
यसैबिच पेनले अरुन्धतीलाई पुरस्कार दिने घोषणा गर्नासाथ उनलाई उनको स्वतन्त्रतामा ठुलो आँच आउन सक्ने गरी भारतमा आतंकवाद विरोधी कठोर कानुन लगाउन सक्ने खबर आउन थाले । यी खबरले सञ्चारमाध्यममा तहल्का पिट्न थाले । जसले उनलाई झन् अप्ठ्यारोमा पारिदियो । पहिले यस्तै हुँदा आक्रोशित भिड उनको ढोकासम्मै आइपुगेको थियो । उनी राज्यसँगै भिडको निशाना बन्न सक्ने खतरामा थिइन् ।
जसोतसो अरुन्धती यो समारोहमा भाग लिन आइपुगिन् । यो साह्रै खुसीको कुरा हो । तर हामी ढुक्क हुने अवस्था पक्कै पनि छैन । यहाँनिर हामी सबैले ख्याल गर्नुपर्ने कुरा के छ भने हामीले कुनै पनि लेखक, जो जत्तिकै प्रसिद्ध किन नहोस्, उसको स्वतन्त्रता र सुरक्षाबारे ढुक्क हुनु पटक्कै हुँदैन ।
अरुन्धती र अला दुवैलाई मैले कदर गर्ने मुख्य कारण भनेको अन्य उत्कृष्ट सार्वजनिक बौद्धिकजस्तै यिनीहरूले हामीलाई इतिहासमा हाम्रो समय बुझ्न सघाउँछन् । यो कठिन काम हो । परिवर्तन निरन्तर हुन्छ र मूलतः बिस्तारै हुन्छ । कहिलेकाहीँ हामीलाई छक्क पार्ने गरी एक्कासी ठुलो परिवर्तन पनि हुन्छ । जब हामी नयाँ अध्यायमा प्रवेश गर्दै गरेका हुन्छौँ, त्यसले हाम्रो विद्यमान चेतनाभन्दा फरक दृष्टिको माग गरिरहेको हुन्छ । यस्तो बेला हाम्रा लेखकहरूले हामीलाई यो हेर्न मद्दत गर्छन् ।
‘यो महामारी एउटा पानीढलो हो’ भन्ने रचनामा अरुन्धती भन्छिन्– हामी कुनै नयाँ ठाउँमा जाँदैछौँ, ख्याल गर्नुहोला !
अब्द अल–फत्ताह जेलबाट आफ्ना कमरेडहरूलाई ताहरिर क्रान्तिकारीहरूको समय गुज्रिसकेको तथा नयाँ रणानीति आवश्यक परिसकेको कुरा बुझ्न सघाउँछन् । उसलाई राम्रोसँग थाहा छ, प्रत्येक पराजय कथाको अन्त्यनै हुनुपर्छ भन्ने छैन । तथापि तपाईं पुरानै अध्यायमा अड्किएर बस्नुभयो भने नयाँ अध्याय लेख्न कदापि सक्नुहुन्न ।
म यो कुरामा विशेष जोड दिएर भन्दैछु, किन भने ती दुवै पुरस्कृत व्यक्ति यो वर्षको पुरस्कार समारोहमा आइनपुग्न पनि सक्छन् भन्ने वाक्यले हामीलाई धेरै महत्त्वपूर्ण कुरा भनिरहेको छ । मलाई लाग्छ, यसले ‘हामी नयाँ युगमा प्रवेश गरेका छौँ’ भन्दैछ । ‘हामीले राम्रोसँग ध्यान दिनुपर्छ’ भन्दैछ । ‘ख्याल गर्नुपर्छ’ भन्दैछ ।
अरुन्धती र अला दुवै प्रख्यात लेखक हुन् त्यसैले हामी उनीहरूको अवस्थाबारे थाहा पाउन सक्छौँ । तर यहाँ त हामीले नचिनेका हजारौँ अभियन्ता, पत्रकार, प्राज्ञिक तथा वकिलहरू छन्, जसलाई भारतको जेलमा कठोर कानुन वा झुठा आरोप लगाएर बन्द गरिएको छ । तिनीहरू त राज्यको दुश्मन घोषणा गरेर खुलेआम सडकमा हत्या नगरिएका मानिसहरू भए । कतिलाई त सोझै हत्या गरिएको छ । मानव अधिकार समूहहरूका अनुसार इजिप्टमा ६० हजारभन्दा धेरै राजनीतिक बन्दी छन् । यस्तो कहालिलाग्दो लाग्दो संख्याले कसरी नयाँ–नयाँ जेलहरू बनाउनु नै वर्तमान सत्ताको सबैभन्दा सफल व्यवसाय हो भनेर बुझ्न सघाउँछ ।
जब बहुराष्ट्रिय कम्पनीहरूले भारतलाई आफ्नो स्वरुपमा ढाले, अरुन्धतीले लेखिन्, ‘बिडम्बनाको कुरा, खुला बजारको युगले भारतमा सबैभन्दा ठुलो पृथकतावादी संघर्षको अगुवाइ गर्यो ।’
यी तथ्यहरूको आलोकमा म केही यस्ता कुरा भन्न गइरहेको छु, जो मानव अधिकारको गैरराजनीतिक बहसका कारण ओझेल पर्न पनि सक्छन् । अरुन्धती र अला दुवै आन्दोलनका लेखक हुन् । यी दुवैको आवाज एक्काइशौँ शताब्दीको कर्पाेरेट पुँजीवाद र सैन्यतन्त्र विरुद्धको अन्तर्राष्ट्रिय प्रतिरोध आन्दोलनसँग गहिरो रूपमा जोडिएको छ । यो आन्दोलन हामी देशैपिच्छे फरक स्वरुपमा गर्दैछौँ तर सामाजिक सञ्जालको अस्तित्वका कारण एक–आपसमा जोडिएका पनि छौँ । हामी एउटै संघर्ष फरक मोर्चामा लडिरहेका छौँ भनेर बुझ्न सक्छौँ । मेक्सिकोको चिआपासदेखि प्यालेस्टाइनसम्म, नर्मदादेखि जेनोआसम्म, ताहरिरदेखि ‘अकुपाई वाल स्ट्रीट’सम्म अरुन्धतीले भनेजस्तै अर्काे दुनियाँ छ, जहाँ उनी शान्त स्वरमा सास फेरिरहेको सुन्न सक्छिन् । यस्तो संसार त्यहाँ छ ।
म यो कुरामा जोड गरेर भन्दैछु किनभने यी दुई लेखकले झेलेको राज्य दमन र पीडासँग उनीहरूले उठाउन खोजेको र उनीहरूलाई बोकेको आन्दोलनले भोगेको दमन र पीडा छुट्ट्याएर हेर्न सकिँदैन । न त यी आन्दोलनले झेलेको पीडा नै उदाउँदो फासीवादी राजनीतिक शक्तिसँग छुट्ट्याएर हेर्न सकिन्छ । यहाँ आम रुपमा आक्रोश उत्पन्न गराउने घृणाजन्य विचारधाराहरूको बिगबिगी छ, जसले सम्भ्रान्तहरूमा सहज आक्रोश पैदा गरेको छ । त्यस्ता आक्रोशले व्यवस्थित र विधिवत रूपमा हाम्रा आ–आफ्ना समाजका असहाय र कमजोर मानिसहरूमा हिंसा थोपरिरहेका छन् । खासगरी युद्धले विस्थापित भएका आप्रवासीहरू, जलवायु विपदका पीडितहरू तथा हाम्रो विश्वव्यापी आन्दोलनले रोक्न खोजेका खराब आर्थिक नीतिबाट पीडित मानिसहरू यस्तो दुष्चक्रको मारमा पर्ने गरेका छन् ।
जब बहुराष्ट्रिय कम्पनीहरूले भारतलाई आफ्नो स्वरुपमा ढाले, अरुन्धतीले लेखिन्, ‘बिडम्बनाको कुरा, खुला बजारको युगले भारतमा सबैभन्दा ठुलो पृथकतावादी संघर्षको अगुवाइ गर्यो । मध्यम वर्ग र उच्च वर्गलाई उनीहरूको आफ्नै देशबाट पृथक गरायो । उनीहरू आकाशमा यति माथि पुगे कि त्यहाँ संसारभरका सम्भ्रान्तहरूसँग एकाकार हुन पुगे । धेरैमाथि आकाशमा तिनीहरूको आफ्नै संसार बन्न गयो । आकाशको यो राज्य आफैँमा पूर्ण ब्रम्हाण्डजस्तै छ । अब यो बाँकी भारतसँग पूर्ण रूपमा छुट्टिन पुगेको छ ।’
पक्कै पनि यस्तो भारतमा मात्रै भएको छैन । यो अहिले हाम्रो संसारभर हुन पुगेको छ । अब संसार यस्तो भइसक्यो कि धेरै जेल चाहिन थाले, धेरै हतियार चाहिन थाले । आइरन डोम चाहिन थाले । यस्तो इजरायलमा मात्रै होइन, जताततै चाहिन थालेका छन् । तर सत्य बोल्ने हिम्मत भएका लेखक भने धेरै चाहिएको छैन । खासमा तानाशाहरू र फासीवादीहरू आफूलाई देख्ने मान्छेप्रति साह्रै घृणा लाग्छ । जसले साँच्चै देख्छन्, अझ उनीहरू मार्फत नै पनि देख्न सक्छन र देख्नेमात्र होइन, साँचो विकल्प पनि प्रस्तुत गर्न सक्छन् । प्रेमको जगमा बनेको राजनीति, ऐक्यबद्धता र हाम्रा भिन्नताहरूबिच खुला हृदयले हुने अंकमाल प्रस्तुत गर्न सक्छन्, त्यस्ताहरूप्रति त झन् तिनीहरूमा शुद्ध घृणा हुन्छ ।
‘अंग्रेजी पेन’मा आबद्ध मानिसहरूलाई थाहा छ, लेख्नु भनेको जहाँ पनि खतरानक काम हो । तर जब ‘पेन’ले यी २ लेखकलाई सम्मान गर्दैछ । यी लेखकहरू खतरा अझ बढिरहेको देशबाट आएका छन्, जहाँ जेल र शवगृहहरू सत्य बोल्नेहरूले भरिएका छन् । यस्तोमा हामी राज्य हिंसाको नयाँ चरणमा प्रवेश गर्दैरहेछौँ भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ ।
यस्तो जघन्य हिंसा प्यालेस्टाइनमा जति अन्त कहाँ भयो होला र ! गाजाको स्वास्थ्य मन्त्रालय अनुसार गाजामा गत वर्षमात्रै १७६ पत्रकार मारिए । ३२ जना प्यालेस्टाइनी पत्रकार अहिले पनि जेलमा छन् । केही दिन अघिमात्रै इजरायली हमलामा परेर १९ वर्षे पालेस्टाइनी पत्रकार हस्सन हमाद उत्तरी गाजामा रहेको जाबालिया शिविरमा रहेको आफ्नै घरमा मारिए । उसको यति विभत्स हत्या भएको थियो कि, हत्या पश्चात उनको बाँकी शरीर जुत्ता राख्ने सानो बाकसमा अटाउने जति थियो । उनका सहकर्मीहरूले उनको मोबाइलमा आएको ‘ह्वाट्सएप मेसेज’ बाहिर ल्याएका थिए, जसमा भनिएको थियो– सुन ! यदि तैँले अझै इजरायलबारे झुठ फैलाउने काम छोडिनस् भने हामी तँलाई मार्न आउछौँ । यो तेरोलागि अन्तिम चेतावनी हो ।
यसै गरी अक्टोबर ९ मा इजरायलले अल–अक्सा टेलिभिजनका फोटो पत्रकार मोहम्मद अल–तन्नानीलाई मार्यो । त्यही दिन अल–जजिराको पत्रकार फडि अल्वाधीलाई घाँटीमा गोली हानियो । उनी अझै अचेत अवस्थामा छन् ।
यदि तपाईंहरूले अन्यथा ठान्नुहुन्न भने म यी अभिनन्दनका शब्दहरू केवल अरुन्धती र अलाका लागिमात्र नभएर हस्सन हमाद, मोहम्मद अल–तन्नानी र फडि अल्वाधी लगायत तमाम ती व्यक्तिहरूलाई पनि लेख्न चाहन्छु, जसले सत्य बोल्नुको शक्तिमा विश्वास गरे । जसले हामीलाई केही गर्न झक्झक्याउनका लागि आफ्नो सर्वस्व त्याग्न तयार भए ।
यहाँ अहिले कोही सुरक्षित छैन । उत्तर अमेरिकामा प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता जनाउनेहरूले आफ्नो जागिर र प्रतिष्ठा गुमाउनु परिरहेको छ । जिवाश्म इन्धनबाट लगानी हटाउनुपर्ने माग गर्ने प्राध्यापक र विद्यार्थीहरू आफ्नै क्याम्पसभित्र निर्मम दमनमा परेका छन् । बेलायतका जलवायु अभियन्ताहरूले फ्लोरिडामा हालै आएको जस्ता विनाशकारी आँधीको बारेमा सचेतना दिन शान्तिपूर्ण प्रयास गर्दा बहु–वर्षे जेल सजाय भोग्नु परिरहेको छ । केही हप्ता अघिमात्रै बेलायतका प्रमुख सहरहरूमा आप्रवासी विरोधी उग्र प्रदर्शन भएका छन् ।
हामी अहिले यो एक–आपसमा गहिरो रूपमा जोडिएको खतरनाक नयाँ अध्यायमा छौँ । त्यहाँ त्रास छ, साथै तागत पनि छ । यसको अर्थ हो– त्यहाँ धेरै नयाँ गठबन्धन बन्न सक्छन्, नयाँ ऐक्यबद्धता हुन सक्छन्, नयाँ रणनीतिहरू लागु गर्न सकिन्छ र नयाँ साहस पनि भेट्न सकिन्छ । किनकि अला अब्द अल–फत्ताहका शब्दहरूले हामीलाई सम्झाइरहेका छन् अर्थात् हामीले अझै हारिसकेका छैनौँ ।
(प्रस्तुत आलेख नाओमी क्लेनले सन् २०२४ को अक्टोबर १० मा अरुन्धती रोयलाई पेन पिन्टर पुरस्कार प्रदान गर्दा दिएको मन्तव्यको सम्पादित अंश हो । उक्त कार्यक्रममा रोयले अला अब्द अल–फत्ताहलाई यस वर्षको साहसी लेखकको रूपमा घोषणासमेत गरेकी थिइन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया न्यौपाने : निरङ्कुश राणा शासनमा विद्रोहको स्वर घन्काउने नारी
-
ललित र श्रवणको घातक बलिङ, अभागी ईशान : ११२ रनमा समेटियो बागमती
-
पृथ्वीनारायणको सालिकमा १०८ फिट लामो माला (तस्बिरहरू)
-
फेरि विवादमा कंगना, पक्राउ पर्न सक्ने
-
किन विवाह गर्न चाहँदैनन् सलमान ? यसो भन्छन् पिता सलिम खान
-
जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा हो : अर्थमन्त्री पौडेल