शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल

शनिबार, २७ पुस २०८१, ०८ : ३०
शनिबार, २७ पुस २०८१

विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आयसँगै बजेटको आकार निरन्तर खुम्चिँदै गएको छ । चालु आर्थिक वर्षको यथार्थ आम्दानीले गत आर्थिक वर्षको आम्दानीलाई उछिन्ने सम्भावना कम छ । यद्यपि महानगरपालिकाले आन्तरिक आम्दानी थोरै भए पनि बढाएको छ ।

चालु आर्थिक वर्षको पुस १५ गतेसम्ममा १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ यथार्थ आम्दानी गरेको विराटनगर महानगरपालिकाले लक्ष्यको ३५ प्रतिशत मात्रै यथार्थ आय गरेको हो । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ आय अनुमान गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरेको छ । तर, पुस १५ गतेसम्ममा जम्मा २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै आम्दानी भएको राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए ।

लक्ष्य अनुसार आन्तरिक आम्दानी नहुने गौतम बताउँछन् । ‘अहिलेको ट्रेण्ड हेर्दा महानगरपालिकाले ७० करोडभन्दा बढी आन्तरिक आम्दानी गर्छ जस्तो मलाईचाहिँ लाग्दैन,’ गौतमले भने । यथार्थ आम्दानी पनि गत वर्षको भन्दा नबढ्ने उनको अनुमान छ ।

‘संघ सरकारले दिने अनुदान तथा बाँडफाँटबाट प्राप्त हुने राजस्वमा पनि कमी भएको छ । प्रदेश सरकारबाट प्राप्त हुने राजस्व पनि घट्ने अनुमान छ । यो हिसाबले हेर्दा गत वर्षको भन्दा यथार्थ आम्दानी बढ्ने देखिँदैन,’ उनले भने, ‘५–१० करोड तलमाथि हुनसक्छ ।’

राजस्व बाँडफाँटबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा हालसम्म १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ मात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ मात्रै प्राप्त भएको छ ।

nagesh-koirala

महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा पुस १५ सम्मको आम्दानी २१ करोड ५४ लाख ३ हजार ६०७ रुपैयाँ भएको थियो । त्यसको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा आम्दानी झण्डै १ करोड बढी अर्थात् २२ करोड ६१ लाख ४९ हजार ८०३ रुपैयाँ भएको तथ्याङ्क छ । उक्त वर्ष महानगरको जम्मा आम्दानी ६४ करोड रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा महानगरले संघ, प्रदेशसमेतबाट आएको सबैखालका अनुदान र आफ्नो आम्दानीसहित २ अर्ब ७४ हजार ९० करोड ७४ हजार ६०३ रुपैयाँ यथार्थ आम्दानी गरेको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा भने महानगरको यथार्थ बजेटको आकार घटेर २ अर्ब ६६ करोड १ लाख ७७ हजार २५० रुपैयाँको भयो । आर्थिक वर्ष २०८०/०८१ मा भने अझै घटेर यथार्थ आम्दानी २ अर्ब ३२ करोड ३३ लाख ८४ हजार ८६१ रुपैयाँ भयो ।

महानगरपालिकाले खर्च पनि गर्न सकेको छैन । महानगरले पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च गरेको छ । उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको हो ।

विराटनगर महानगरपालिकाले बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यान, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठुला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । बितेको अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल,  ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण सम्पन्न गरेको महानगर प्रमुख नागेश कोइराला बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप