शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा

शुक्रबार, २६ पुस २०८१

काठमाडौँ । विश्वका थुप्रै फेष्टिभलमा अवार्ड जित्न सफल दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ अर्थात् ‘ह्वाइट सन’ युट्युबमा आएको छ । बाँसुरी फिल्मस्ले रिलिज गरेको सेतो सूर्य नेपाली फिल्मको इतिहासमा उत्कृष्टको सूचीमा पर्छ ।

फिल्ममा दयाहाङ राई, रवीन्द्रसिंह बानिया, सूमी मल्ल, दीपक क्षेत्री, गणेश न्यौपाने, आशा मगराती, अमृत परियार, प्रमोद अग्रहरी, देशभक्त खनाल लगायतको अभिनय छ । 

सन् २०१६ मा प्रदर्शनमा आएको यो फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समीक्षकहरुले समेत रुचाएका थिए । फिल्मको सुरूआत शंखध्वनी बजेर हुन्छ । एउटा शव उठाउनै लाग्दा छोरा सुरजले भित्रबाट एउटा झन्डा लिएर आउँछ । ‘बुबाको अन्तिम इच्छा थियो’ भन्दै त्यो झन्डा शवमाथि ओढाइदिन्छ । शव उठाउनै लागेका ठुलो छोरा चन्द्रलाई त्यो सह्य हुँदैन । थुतेर फालिदिन्छ ।

बाबुको शव छेउमा दुइटा छोराको घम्साघम्सी पर्नै लागेका बेला गाउँले अलमलमा पर्छन् । एउटा छोरा सेनामा काम गरेर गाउँमा जमेको, अर्को माओवादी भएर वर्षौं बाहिरै बसेको । सेतो सूर्य (ह्वाइट सन) को कथा त्यसैमा अगाडि बढेको छ । फिल्ममा दयाहाङले चन्द्रको र रवीन्द्रसिंहले सुरजको भूमिका निर्वाह गरेका छन् । 

भेनिस फिल्म फेस्टिभल, टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभलमा प्रिमियर गरेर यात्रा सुरू गरेको फिल्म थुप्रै विश्वप्रसिद्ध महोत्सवहरूमा देखाइएको थियो ।

२७ औँ सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभलमा यसले ५५ हजार डलरसहित सर्वोत्कृष्ट अवार्ड जितेको फिल्मले । फ्रिवर्ग इन्टरनेसनल फेस्टिभलमा चार वटा अवार्ड र भेनिस फिल्म फेस्टिभलमा एउटा अवार्ड प्राप्त गरेको थियो ।

त्यस्तै, पाम स्प्रिङ फिल्म फेस्टिभलमा पनि अवार्ड जितेको थियो । यसबाहेक इन्टरनेसनल फिल्म फेस्टिभल, गोल्डेन हर्समा मनोनयनमा परेको थियो । ९० औँ अस्कर अवार्डका लागि नेपालबाट यो फिल्म गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया