शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अपरिहार्य छ’ (भिडियोसहित)

शनिबार, २७ पुस २०८१

विभिन्न अध्ययनले नेपालमा क्यान्सर रोगको दर र जोखिम बढ्दै गएको देखाउँछन् । त्यसमा पनि महिलालाई लाग्नेमध्ये पाठेघर मुखको क्यान्सर सबैभन्दा धेरै पाइएको छ । नेसनल क्यान्सर रजिस्टरी प्रोग्रामले तीन–तीन वर्षमा नेपालका क्यान्सर रोग पहिचान गर्ने १२ अस्पतालमा गर्ने अध्ययनअनुसार पाठेघर मुखको क्यान्सरले ठूलो हिस्सा ओगटेको छ । यो महिलामा हुने प्रमुख क्यान्सरका रूपमा देखिएको छ ।

सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १० देखि १४ वर्षका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाउने भएको छ । जुन कार्यक्रम आगामी माघ २३ देखि फागुन ६ गतेसम्म देशव्यापी रूपमा सञ्चालन गर्ने तयारी छ । सोही विषयमा केन्द्रित रही रातोपाटीकर्मी सरिता थारूले बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

एचपीभी खोप भनेको के हो ?
एचपीभी खोप भनेको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य छ । 

हामी विद्यालयकेन्द्रित अभियान गर्न गइरहेका छौँ । यसमा ६ देखि १० कक्षाका किशोरीलाई खोप लगाउँदै छौँ । यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई लगाइनेछ । यसले भविष्यमा हुने पाठेघर मुखको क्यान्सर न्यूनीकरण गर्छ । 
एपीभी भनेको भाइरस हो । यसमा दुई सयभन्दा बढी प्रजातिका भाइरस छन् । त्यसमध्ये क्यान्सर गराउने भाइरस थोरै छन् । तीमध्ये पनि १६ देखि १८ प्रजातिका भाइरसले क्यान्सर गराउँछन् । नेपालमा पनि सोही खोपलाई प्रयोग गर्दै छौँ । 

कक्षा ६ देखि १० मा अध्ययनरत विद्यार्थी कति छन् ?
देशभर यो उमेरमा पर्ने विद्यार्थी संख्या १६ लाख ८८ हजार छ । हामीले बिचमा तथ्यांक पनि लिएका छौँ । अहिले देशभरका विद्यालयसँग समन्वय गरी कहाँ कति कति विद्यार्थी छन् ? यो र खोप नयाँ भएकाले स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा छौँ । माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रूपमा एकैसाथ खोप लगाइनेछ । 

यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई लगाइनेछ । यसले भविष्यमा हुने पाठेघर मुखको क्यान्सर न्यूनीकरण गर्छ ।

खोप कति उपलब्ध छ ? 
देशभरका १६ लाख ८८ हजार किशोरीलाई खोप लगाउन १७ लाख ७० हजार २० डोज खोप छ । यो सबैलाई पुग्छ ।

यो खोप कति डोज लगाउनुपर्छ ?
एचपीभी खोप एक मात्रा डोज लगाउनुपर्छ । एक मात्रा लगाए जीवनभर पुग्छ । त्यही भएर हामीले एक मात्रा लगाउने भनेर अभियान चलाउँदै छौँ । करिब १५ लाख डोज खोप आइसकेको छ । यो विभिन्न प्रदेशमा पु¥याइसकेका छौँ । थप दुई लाख ६६ हजार खोप आउने क्रममा छ । त्यो आएपछि हामीले बाँकी भएका प्रदेशमा खोप पु¥याउनेछौँ । देशभर यो खोप पुग्नेछ । 

पाठेघर मुखको क्यान्सरका कारण दैनिक चार जना महिलाको मृत्यु हुन्छ भनिन्छ । देशभर क्यान्सर भएको संख्या कति छ ?
देशभर पाठेघर मुखको क्यान्सर भएका संख्या करिब २२ सय छ । यसलाई अझै विस्तृतमा भन्नुपर्दा २१ सय ४९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित हुनुहुन्छ । यो संख्या वार्षिक हो । तीमध्ये करिब १३ सय जनाको बर्सेनि मृत्यु हुन्छ । सुरुमा परीक्षण गरेर पहिचान हुन सके उहाँहरूलाई बचाउन सकिन्छ । ढिलो पहिचान भए बचाउन सकिने अवस्था रहँदैन वा मुस्किल हुन्छ । 

पाठेघर मुखको क्यान्सरमा एचपीभी खोपले कसरी काम गर्छ ? 
यो खोप भाइरस संक्रमणविरुद्ध हो । पाठेघर मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसलाई मानिन्छ । यो भाइरसको संक्रमणबाट जोगाउँछ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमण एक न एकपटक हुन्छ नै । लामो समयसम्म संक्रमण भइरहँदा संक्रमणबाट हुने घाउबाट क्यान्सरमा परिणत हुन्छ । 

यो खोपको काम नै ह्युमन प्यापिलोमा भाइरस संक्रमण रोक्ने हो । यसले गर्दा भोलि हुने क्यान्सर रोक्ने हुन्छ । १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने भनिएको हो । यो उमेरका किशोरी ६ कक्षादेखि १० कक्षासम्म पढ्नेछन् ।  हामी यो वर्ष देशभर अभियानका रूपमा लगाउनेछौँ । अर्को वर्षदेखि नियमित खोप तालिकाअनुसार खोप लगाउनेछौँ । हरेक वर्ष फागुनमा खोप लगाउनेछौँ । नेपालको राष्ट्रिय खोप तालिकामा अपडेट गरेका छौँ । 

२१ सय ४९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित हुनुहुन्छ । यो संख्या वार्षिक हो । तीमध्ये करिब १३ सय जनाको बर्सेनि मृत्यु हुन्छ । सुरुमा परीक्षण गरेर पहिचान हुन सके उहाँहरूलाई बचाउन सकिन्छ ।

१० देखि १४ वर्ष उमेरका किशोरीलाई मात्रै किन खोप लगाउने ?
यो उमेरका किशोरीलाई खोप लगाए सबैभन्दा बढी प्रभावकारी हुन्छ । यो विश्व स्वास्थ्य संस्थाको सिफारिस हो । राष्ट्रिय खोप सल्लाकार समितिबाट थप अनुसन्धान गरेर १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने भनिएको छ । 

यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशतलाई लगाउनुपर्नेछ । यो भएपछि मात्रै निवारणको काम अगाडि बढ्नेछौँ । ३० वर्ष उमेरका महिलालाई पाँच–पाँच वर्षमा पाठेघर मुख क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ । ती महिलामा क्यान्सर छ भने कम्तीमा ९० प्रतिशतको सफल उपचार गर्नुपर्छ । 

सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मुल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिनेछ ।  

यो खोप निःशुल्क हो ?

सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ । यो अन्य देशले लगाइरहेका छन् । विश्व स्वास्थ्य संस्थाले मान्यता दिएको छ । औषधि व्यवस्था विभागले मान्यता दिएको छ । 

खोप लगाउने आगामी माघ महिना तोकिएको छ । यो समयबाहेक लगाउन खोज्नुभयो भने खोप नपाइन सक्छ । पाठेघर मुखको क्यान्सर मात्रै होइन, अन्य क्यान्सरबाट पनि जोगाउँछ । जस्तैः एनल क्यान्सर भन्छौँ । यौनांग वरिपरि आउने मुसाहरू भन्छौँ । ओरोफ्यारेन्जियल क्यान्सर लगायतबाट जोगाउने कार्य यो खोपले गर्छ । त्यही भएर यो खोप अनिवार्य लगाउनुपर्छ ।

सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ ।

के यो यौन सम्पर्कबाट सर्छ ? 

यौन क्रियाकलापमा संलग्न भइसकेपछि देखिने रोग भनिन्छ । अध्ययनहरूले के देखाएका छन् भने जीवनमा कुनै–कुनै पटक पाठेघर मुखको क्यान्सर गराउने भाइरसको संक्रमण हुन्छ नै । त्यसमा यौन क्रियाकलाप संलग्न होस्, फ्लुडहरूबाट संक्रमण आएर होस् । संक्रमण हुन सक्ने देखिन्छ ।   

एचपीभी खोप लगाइसकेपछि पनि महिलाले पाठेघरको परीक्षण गर्नुपर्छ ? 

एचपीभी खोप लगाइसकेपछि पनि पाठेघर मुखको क्यान्सर गराउने अन्य कारण पनि छन् । हामी अहिले ह्युमन प्यापिलोमा भाइरसमा मात्रै फोकस छौँ । अन्य कारण पनि छन् । यो भाइरसबाट क्यान्सर गराउने रिस्कलाई घटायो । तर, अन्य कारणलाई घटाएको छैन । 

पाठेघर मुखको क्यान्सर स्क्रिनिङ गर्ने उपयुक्त उमेर कुन हो ? 

३० वर्ष पुगेका महिलाले पाँच–पाँच वर्षमा स्क्रिनिङ गर्नुपर्छ । एचआईभी संक्रमित महिलाले २५ वर्षदेखि स्क्रिन गर्न सकिन्छ । उहाँहरूले तीन–तीन वर्षमा एकपटक पाठेघर मुखको क्यान्सर स्क्रिनिङ गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया