शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
सुप्रिम सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी

शुक्रबार, २६ पुस २०८१, १६ : ०६
शुक्रबार, २६ पुस २०८१

बुटवल  । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई मुद्दा चलाउनुपर्ने राय प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले बिहीबार लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित  १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले  पुराना २८ र नयाँ  १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय सहित सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रतिवेदन बुझाएको रातोपाटीलाई बताए ।

जिल्ला सहकारी वलिकाको कार्यलय रुपन्देहीको प्रमुख प्रेमराज पौडेलले प्रतिवेदन आएपति कसरी जाने भन्ने छलफलकै क्रममा रहेको रातोपाटीलाई बताए ।

उनले भने, ‘अध्ययन गरिहरेका छौ । अब कसरी जाँदा उपयुक्त हुन्छ भनेर छलफल भइरहेको छ ।’

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यस्तै पूर्वडीआइजी जोशी पनि सोही बेला रुपन्देही पुगेर बयान दिएका थिए । प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविको व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गरिएको छ ।

त्यस्तै जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक  १ करोड ७७ लाख ८८ हजार गरी ४ कोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ ।

यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार  बिगो माग दाबी प्रहरी प्रतिवेदनमा छ ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

अहिले पूरक अभियोजनमा रविसहित ४४ प्रतिवादी बनाइएको छ ।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबारमात्रै छुटेका छन् । पोखरामा लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र केसी
लेखकबाट थप