शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रहरी

प्रहरीमा २५ जना एसएसपी पद रिक्त, बढुवा हुन तीव्र प्रतिस्पर्धा

शीतलनिवास र बुढानीलकण्ठको आ–आफ्नै उम्मेदवार
शुक्रबार, २६ पुस २०८१, १४ : ३१
शुक्रबार, २६ पुस २०८१

काठमाडौँ । नेपाल प्रहरीमा २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ । रिक्त पदमा बढुवा हुन प्रहरी उपरीक्षक (एसपी)हरू शक्तिकेन्द्र धाइरहेका छन् ।

बढुवा प्रतिस्पर्धा सूचीको पहिलो नम्बरमा छन्, विमल बस्नेत । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ मा भर्ना भएर नेपाल प्रहरीमा आएका उनी २०७२ फागुनमा एसपीमा बढुवा भएका हुन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा बस्दा घुस लिएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई ५ वर्ष बढुवा नहुने गरी कारबाही गरेको थियो ।

२०५६ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका गोविन्द अधिकारी, विनोद सिलवाल, विमल राज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजीव बहादुर बस्नेत बढुवाको स्वाभाविक दाबेदार हुन् ।

२०५८ साउन १८ मा प्रहरीमा सेवामा प्रवेश गरेकाहरूको बिचमा तीव्र प्रतिस्पर्धा छ । डीएसपीबाट एसपीमा बढुवा हुँदा सो ब्याचबाट ४ लटमा बढुवा भएका थिए । पहिलो र दोस्रो सूचीमा बढुवा भएकाहरुसँगै चौथो सूचीका अधिकृतहरूले आफूलाई बढुवा गर्न शक्तिकेन्द्रमार्फत दबाब दिएका छन् ।

रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्ण प्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्याम कुमार महतो, कृष्ण प्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीर बहादुर बुढामगर पहिलो सूचीमा बढुवा भएका थिए । पहिलो सूचीका १३ जना २०७५ फागुन ३ मा एसपीमा बढुवा भएका थिए ।

होबिन्द्र बोगटी, बेद विष्ट, सन्तोष सिंह राठौर, शिव कुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष भट्टराई, प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाँल, दीपेन्द्र शाही, राम प्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला दोस्रो लटमा एसपी भएका हुन् ।

  • शीतलनिवास र बुढानीलकण्ठको आ–आफ्नै उम्मेदवार

गृह मन्त्रालयको नेतृत्व कांग्रेस नेता रमेश लेखकले सम्हालेका छन् । २०५८ साउनमा प्रहरीमा प्रवेश गरेका अधिकृतहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रपति रामचन्द्र पौडेलमाफ्र्रत बढुवा गर्न गृहमन्त्रीलाई दबाब दिइरहेका छन् । त्यसरी दबाब दिनेमा तेस्रो र चौथो सूचीमा एसपी भएकाहरू छन् ।

चौथो सूचीमा बढुवा भएका एसपी रमेश पण्डितले राष्ट्रपति पौडेलमार्फत बढुवाको लागि दबाब दिएको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । पण्डित हाल जिल्ला प्रहरी कार्यालय सिराहामा छन् । उनी पौडेलको नातेदार समेत हुन् ।

चौथो लटमा एसपी भएका चक्रराज जोशी चाहिँ कांग्रेस सभापति शेरबहादुर देउवाका उम्मेदवार हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले जोशीलाई बढुवा गर्न दबाब दिएको प्रहरी प्रधानका कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत योगेन्द्र सिंह थापा र कैलालीका एसपी पदम बहादुर विष्ट पनि बढुवाको तीव्र लबिङमा छन् । उनीहरू कांग्रेस सभापति तर्फका उम्मेदवार हुन् । थापा र विष्ट तेस्रो लटमा एसपी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप