चिनियाँ टोली १० दिने कोशी भ्रमणमा, जलस्रोत र पर्यटनको सम्भावना हेर्दै किमाथाङ्का पुग्ने
विराटनगर । कोशी प्रदेशमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न इच्छा देखाउँदै आएको एक चिनियाँ टोली १० दिने भ्रमणको लागि कोशी प्रदेश आइपुगेको छ ।
चाइना पावर कम्पनी र सिने हाइड्रो कम्पनीका तर्फबाट वाङ झी झाङको नेतृत्वमा ११ जनाको टोली बिहीबार विराटनगर आइपुगेको हो ।
उक्त टोलीलाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका साथै अन्य सरकारी अधिकारीहरू र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वागत गरेका थिए ।
उनीहरूको स्वागतमा बिहीबार बेलुका होटेल बिगमा छोटो औपचारिक कार्यक्रम र डिनर आयोजना गरियो ।
त्यहाँ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेश सांसद भीम पराजुली, एमाले कोशीको इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, नेकपा एमालेका कोशी अध्यक्ष घनश्याम खतिवडा, मोरङको प्रमुख जिल्ला अधिकारीबाट भर्खरै गृह मन्त्रालयमा सरुवा भएका प्रेमप्रसाद भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियालगायत थिए ।
सो औपचारिक कार्यक्रममा बोल्दै झाङले नेपालमा लगानी गर्न चाहेको बताएका थिए । ‘पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार छौँ । त्यसको वातावरण बनाउन सहयोग गर्नुपर्यो भन्ने उहाँहरूको कुरा थियो । हाम्रो तर्फबाट लगानी गर्नुहोस्, हामी सहजीकरण गर्छौँ भन्यौँ । उनीहरू खासगरी जलस्रोत र पर्यटनको क्षेत्रमा काम गर्न इच्छुक छन्,’ भेटमा सहभागी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले भने ।
त्यसक्रममा बिग होटलमा डिनर पनि संयुक्त भएको थियो । औपचारिक कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मन्त्री भण्डारीले र महानगरको तर्फबाट विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले मन्तव्यसहित स्वागत गरेका थिए । उक्त टोलीले शुक्रबार बिहान मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भेट गरेको छ । भेटका अवसरमा लगानीको वातावरण बने आफूहरू पर्यटन र जलविद्युत्को क्षेत्रमा काम गर्न इच्छुक रहेको कुरा चिनिया टोलीले दोहोर्याएको थियो । मुख्यमन्त्री कार्कीले, ‘लगानी गर्न इच्छुक हुनुहुन्छ भने हामी वातावरण बनाउन तयार छौँ’ भन्दै प्रतिबद्धता जनाएका थिए ।
उक्त भेटघाट उद्योगी, व्यवसायी भीम घिमिरे र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीको समन्वयमा भएको भेटमा सहभागी एक नेताले बताए ।
सो टोली संखुवासभाको किमाथाङ्कासम्म जाने बताइएको छ । किमाथांका चीनको सीमा क्षेत्रमा पर्छ । ‘टोली कोशी प्रदेशको १० दिने भ्रमणमा आएको हो । परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर कोशीमा हुने लगानीको सम्भाव्यता अध्ययन गर्दै संखुवासभाको किमाथाङ्कासम्म जाने बुझेका छौँ,’ भेटमा सहभागी एक सरकारी अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता