शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
भिडियो संवाद

‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अख्तियार विधेयक रोक्नुहुन्छ भन्ने मलाई लाग्दैन’

के अब नीतिगत निर्णय हो भनेर ललिता निवास प्रकरण छाडिदिने ? : हृदयराम थानी
शुक्रबार, २६ पुस २०८१

संसदीय उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा सर्वसम्मत सहमति गरेर पूर्ण समितिलाई प्रतिवेदन बुझाए पनि उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा अड्केर बसेको छ । नीतिगत निर्णयमा अख्तियार प्रवेश गर्न पाउने गरी उपसमितिले प्रतिवेदन तयार पारेपश्चात् विधेयक समितिमा अड्किएको हो ।

विशेष गरेर सत्तामा रहेका दलका शीर्ष नेताहरू नीतिगत निर्णयमा अख्तियारले प्रवेश पाउन नहुने पक्षमा छन् । त्यसैले यो विधेयकलाई रोकिएको र आईसीयूमा पुर्‍याइएको उपसमिति संयोजक हृदयराम थानीको ठहर छ । विधेयक अब के हुन्छ भन्ने अन्योल सिर्जना भएको अवस्थामा रातोपाटीका रोमन आचार्यले विधेयकसँग सम्बन्धित विषयमा केन्द्रित संयोजक थानीसँग संवाद गरेका छन् । प्रस्तुत छ संवादको सम्पादित अंशः

  • दफावार छलफल गरेर तपाईं नेतृत्वकै उपसमितिले अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक राज्य व्यवस्था समितिमै आईसीयूमा थन्किएको छ भनेर तपाईंले भन्दा चर्काचर्की नै पर्‍यो । विधेयकको वर्तमान अवस्था कस्तो छ ?

सान्दर्भिक प्रश्न उठाउनुभयो । उपसमिति गठन गरेर हामीलाई दुई वटा विधेयक दिइएको थियो । एउटा भ्रष्टाचार र अर्को अख्तियारको विधेयक थियो । यी दुवै विधेयक नङ र मासुजस्तै एक अर्कामा परिपूरक विधेयक हुन् । उपसमितिले यी दुवै विधेयक प्रतिवेदनसहित पुस ४ गते एकसाथ बुझायौँ । पुस १८ मा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकलाई उपसमितिको प्रतिवेदन हुबहुसहित समितिको पूर्ण बैठकले पारित गर्‍यो । त्यसपश्चातको बैठकमा भ्रष्टाचार निवारण विधेयकबारे मैले चासो राखेँ ।

फेरि, सम्माननीय प्रधानमन्त्रीज्यूले यो विधेयक चाँडो पास गर भन्नुभएको थियो । गृहमन्त्रीले पनि पटकपटक समिति बैठकमा आउँदा विधेयक चाँडो पास गर्नु भन्नुभएको थियो । त्यसैले ‘एउटा विधेयक पास गर्ने, अर्काे विधेयक यत्तिकै राख्ने भएकाले यसलाई चाँडो ल्याउनुपर्‍यो सभापतिज्यू ! कतै आईसीयूमा त विधेयक पुगेको हैन ?’ भनेर जानकारी लिन खोजेपछि कुराकानी भएको हो ।

मलाई लाग्छ, यो विधेयक मैले जहाँ भनेको, त्यहीँ पुगेको छ । सँगै बुझाएको भ्रष्टाचार विधेयक १५ दिन पश्चात् पास भयो, तर यो आजसम्म पास भएको छैन । मलाई थाहा छैन को–को मिल्नुभयो ? तर हेर्दा आईसीयूमै पुर्‍याएको हो नि ! यो विधेयक ल्याउनुभन्दा निजामती विधेयकमाथि छलफल भयो, त्यस पश्चातको बैठकमा समितिमा परेको उजुरी खोलियो ।

यस अर्थ यो विधेयक केकालागि राखिएको हो ? यो विधेयक कसको उद्देश्यले थन्क्याएर किन राखियो ? यसको जस्टिफाइ समिति सभापति र गृहमन्त्रीले गर्नुपर्छ । मन लाग्यो भने अघि बढायो, नलागे थन्क्यायो गर्न पाइँदैन ।

hridayaram thani

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक थन्क्याइनुको कारणचाहिँ के देख्नुहुन्छ ?

अलिकति राजनीतिक अनि अलिकति आर्थिक कारण पनि होला । उपसमितिले प्रतिवेदन तयार गरेको पनि हैन । राष्ट्रिय सभाको विधायन समितिको प्रतिवेदनसहित आएको विधेयकलाई स्वीकार गरेको हो । २७ जनामध्ये उपसमितिमा १२ जना थियौँ र सबैको सहमतिले, कुनै विरोध नभइकन यो विधेयक पारित गरिएको हो ।

नीतिगत भ्रष्टचारको विषयमा जुन प्रावधान आयो, त्यसमा कतिपयको असहमति होला । अख्तियारको २०७५ सालको प्रतिवेदन अनुसार ३०.४ प्रतिशतचाहिँ नीतिगत निर्णयको जगमा टेकेर भ्रष्टाचार हुन्छ भनिएको छ । अनि नीतिगत भ्रष्टाचारलाई छाड्ने भए के ७० प्रतिशतमात्र भ्रष्टाचारको अध्ययन गर्ने ? माथिको अध्ययन गर्नै नहुने ? माथि ठुला भनिएकालाई उन्मुक्ति दिने, अनि तलमात्र भ्रष्टाचारको विषय हेर्ने ? दुनियाँमा कहीँ हुन्छ यस्तो कुरा ?

अख्तियारले नीतिगत भ्रष्टाचारलाई छुट्कारा दिने भए अन्य भ्रष्टाचारको विषय पनि हेर्दै नहेरे भइहाल्यो नि । भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो । चाहे ललिता निवास होस् वा अन्य कुनै । ललिता निवासजस्ता धेरै विषय छन्, जुन सबै नीतिगत भ्रष्टाचार हुन् । नीतिगतमा लाउडादेखि वाइडबडीसम्म धेरै विषय होलान् नि !

  • एमाले र तपाईंकै दल नेपाली कांग्रेसले यो व्यवस्था विधेयकमा पर्न दिँदैनौँ भनिरहँदा किन नीतिगत निर्णयमा अख्तियार प्रवेश गर्नैपर्ने ?

किनभने ठुलठुला भ्रष्टाचार देखिएको छ । चाहे ललिता निवास होस् वा अरू । धेरै भ्रष्टाचार नीतिगत निर्णय हो भनेर भएको छ । के अब नीतिगत निर्णय हो भनेर ललिता निवास प्रकरण छाडिदिने ? नीतिगत भ्रष्टाचारमा माथिका सबै जोगिने, तलका कोही बाँकी नरहने भइरहेको छ, अर्थात् आदेश दिने छुट्ने अनि साधारण टिप्पणी उठाउनेहरू पक्राउ पर्ने अवस्था भइरहेको छ । टिप्पणी उठाउने पक्राउ पर्दा आदेश दिनेहरू पनि पक्राउ पर्नुपर्‍यो । यहाँ त छुटकारा माग्ने कुरा छ ।

अख्तियार आफैँले पनि बारम्बार वार्षिक प्रतिवेदनबाट नीतिगत भ्रष्टाचारको व्याख्या माग भइहेको छ । अनि भ्रष्टाचार नहोस् भनेर नीति बनाउने तर, ३० प्रतिशतभन्दा बढी भ्रष्टाचार भइरहेको क्षेत्र नीतिगत निर्णयलाई चाहिँ हामी हेर्दैनौँ भन्न त मिल्दैन नि ।

पास नगर्ने भए नगरौँ तर, समितिमा त छलफल गरौँ न भन्ने मेरो कुरा । उपसमितिले सर्वसम्मत गर्‍यो भन्दैमा समितिको पूर्ण बैठकले सर्वसम्मत् गर्नुपर्छ भन्ने पनि छैन । म पनि डेमोक्रेट हुँ । ल्याउँ छलफल गरौँ ।

उपसमितिले धेरै केही गरेको पनि हैन । भ्रष्टाचारको उजुरीमा हदम्यादको कुरा गृहमन्त्रीले भदौ १४ गते नै फिर्ता लिएँ भन्नुभयो । चाहे सदासयताले फिर्ता लिनुभयो, चाहे मिडिया बोलेर वा संशोधनकर्ताहरू बोलेर होस् । जसरी भए पनि फिर्ता उहाँले लिनुभयो । अर्काे, बेनामे उजुरीको विषयमा हामीले अख्तियार र विज्ञहरूसँग विस्तृत छलफल गर्‍यौँ । अख्तियारले ठुलठुला र ९५ प्रतिशत उजुरी यही बेनामेबाट आएको छ उजुरीकर्तालाई पनि ज्यानको सुरक्षाको चिन्ता छ । किनभने बदमासी गर्ने त पावरफूल नै हुन्छ । सरकाले सुरक्षा दिन सक्दैन । त्यसकारण उजुरीको मात्रा घट्छ, ठुला उजुरी आउँदैन भन्नुहुन्छ । उहाँहरू वाइडबडी, ललिता निवास, सुडान घोटला कान्ड लगायतमा उजुरी बेनामे आएको भन्नुहुन्छ । विज्ञले पनि अन्तर्राष्ट्रिय रूपमा बेनामी उजुरी खुला रहेको बताउनुहुन्छ । अनि दुवैतिरको तर्क सुनेर हामीले बेनामे उजुरी राख्यौँ । प्रतिनिधि सभा नियमावलीको पेज नम्बर ४४ को ११३ को १ को ‘ख’ मा जसलाई सरकारले दफा खोलेको छैन, सो दफा नलाने भन्ने कुरा भयो र बेनामे उजुरीको विषय पनि टुंगो लगायौँ ।

  • मन्त्रिपरिषद् बैठकले गर्ने निर्णय नीतिगत निर्णय हो । सरकारलाई चारैतिर हातखुट्टा बाँधेपश्चात् उसले कामचाहिँ कसरी गर्छ ? अख्तियारलाई समानान्तर सरकार बनाउन खोजेको हो ?

मन्त्रिपरिपषद्ले के के काम गर्ने भनेर कार्यविभाजन भएको छ । महानिर्देशकले गर्ने काम मन्त्रिपरिषदमा लिएर जाने ? सचिवले गर्ने काम मन्त्रिपरिषदमा लिएर जाने ? अनि मन्त्रीस्तरीय गर्ने निर्णयचाहिँ कहाँ लिएर जाने ? सोझो अर्थ हो, नीतिगत निर्णय भनेर गरिएको काममा भ्रष्टाचार मुद्दा लाग्दैन र महानिर्देशक, सचिवले गर्ने काम क्याबिनेटमा लगिन्छ ।

अहिले साना कर्मचारी समातिनुभएको छ । भ्रष्टाचारको आदेश दिने नेताहरू घुमफिर गरिरहनुभएको छ । यो बारेमा तपाईंहरू पनि अध्ययन गर्नुहोस् न । ०५१ सालतिर पूर्वसांसदहरूले पनि भत्ता पाउँथे । त्यसमा अदालतले भनिदियो– ऐन बनाएर गर ।

अहिले पनि केही गर्न छ भने ऐन बनाएर गरे भयो नि । म तपाईंलाई सोध्छु– नीतिगत निर्णयको नाममा हुने ३०.४ प्रतिशत भ्रष्टाचारलाई अब छोड्दिनु ? त्यो त सुहाउँदैन ।

  • अख्तियारको कार्यशैलीमा सुस्तता छ । पुराना मुद्दा किनारा लागेकै छैन । त्यसतर्फ अख्तियारलाई बाध्य पार्नुपर्ने समयमा थप अधिकार दिएर अख्तियारले कसरी काम गर्छ ? हिजो लोकमानसिंह कार्कीले जस्तो अधिकारको गलत प्रयोग हुन्छ कि भन्ने तर्क पनि छ नि ?

जसलाई विश्वास गरेर नियुक्त गर्नुहुन्छ, त्यसलाई अन्धविश्वास गर्नु पनि हुन्न । आयोगमा नियुक्ति कसले गरेको हो ? तपाईंले भनेझैँ नीजि क्षेत्रमा अख्तियार प्रवेश गराउने विषय भने हटाइदिएका छौँ । नीतिगत निर्णयलाई छाडेर हुँदैन, कुनै न कुनै हालतमा यो विषय ऐनमा पार्नुपर्छ । मैले पत्रिकामा हेरेको थिएँ, नीतिगत भ्रष्टाचारलाई उन्मुक्ति दिनु राष्ट्र संघसँगको महासन्धिको पनि खिलाफ हो भनेर । ठुलाठुला मान्छे नीतिगत निर्णयको नाममा समातिनुभएको छ । कतिपय छुट्नु पनि भएको होला । आखिर कर्मचारी धेरै तानिएका छन् ।

  • उपसमिति सन्तुष्ट, अख्तियार सन्तुष्ट, प्रधानमन्त्री कार्यालय, विज्ञ सबै सन्तुष्ट अनि विधेयक रोक्न लाग्नेचाहिँ को हो ?

आज कता छलफलमै छ भनेर बोलेको पढ्दै थिएँ । म अचम्म पर्छु । उहाँहरू मात्र जान्ने भन्ने त हैन होला नि ! राष्ट्रिय सभाले पनि केही नबुझी पठाएन होला नि ! ममात्रै जान्ने भन्ने चलन नेपालमा छ । तर त्यस्तो होइन र हामीले मात्र यो विधेयक बनाएको पनि होइन । हामीले केही नबुझ्ने अनि जो सत्तामा छ उहाँहरूले मात्र बुझ्ने भन्ने त होइन नि ! हामीले विज्ञ, कानुन सचिव, प्रधानमन्त्री कार्यालयको सचिव, अख्तियार सबैको कुरा सुनेका छौँ ।

ए बाबा ! नीतिगत निर्णयको विषय हटाउनु नै छ भने समितिमा ल्याउनुहोस् न । छलफल गरौँ र नछुने भन्ने हो भने नछुने निर्णय गरौँ । अनि ७० प्रतिशत भ्रष्टाचारमात्र हेरौँ । ३० प्रतिशत छोडौँ । तर, समितिमा छलफल गरौँ ।

  • यो विधेयकलाई अघि बढ्न नदिनुमा प्रधानमन्त्री केपी शर्मा ओली, तपाईंकै पार्टी सभापति शेरबहादुर देउवा अथवा अरू कसैको हात हो ? तपाईंलाई दबाब आएको हो ?

यो विधेयकमाथिको छलफल प्रतिवेदन उपसमितिको संयोजकको हैसियतबाट बुझाउँदै मलाई दबाब आउँछ भन्ने थाहा थियो । मैले त्यो दिन ०५९ सालमा अख्तियार सम्बन्धी विधेयक पास गर्दा समिति सभापति म नै थिए र त्यो क्रान्ति थियो भनेको थिएँ । अहिलेको विधेयकमा नवीन प्रविधि टेलिफोन रेकर्डदेखि कम्प्युटरमा अदालतको स्वकीकृतिमा लिएर गोप्य सूचनासम्मको पहुँच दिएको छ । यस्तै, अर्काे उपलब्धि नीतिगत निर्णयको हो । त्यसैले मैले समितिमा दह्रो खुट्टा टेक्नुपर्छ भनेर बोलेको हो ।

यस्ता विधेयकमा कहीँ न कहीँबाट प्रेशर आउँछ नै । यो मान्छे सोझो वा एकोहोरो छ भनेर हो कि ! मलाई भन्नुभएको छैन । तर, यस्तोमा प्रेशरचाहिँ आउँछ । प्रत्यक्ष–अप्रत्यक्ष हामीले अहिले भोगेका छौँ । त्यसैले विधेयक आउन सकेको छैन ।

०५९ मा म सभापति हुँदा ५/६ जना मन्त्रीको यो विधेयकमा सहमति थिएन । तर, त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदा पनि दबाब आएन । विधेयक पास गर्न पाएको हो । अहिले विधेयक आईसीयूमा राखिदिएका छन् । उठेर आउने हो कि होइन ! फुल समितिमा ल्याऊ, पास गर्न मन नभए फेल गरिदिए भयो । तर, विधेयक ल्याउनु पर्‍यो नि !

भ्रष्टचार नेपालमा कहाँ छैन ? देशको विकासको बाधक बनेको छ । हामीचाहिँ त्यही नियन्त्रण गर्ने विधेयक पास गर्ने कि नगर्नेमा अड्किएर बस्नु परेको छ ।

  • भ्रष्टाचार गर्न पाउनु पर्छ, खान पाउनु पर्छ भनेर विधेयक बनाऊ भनेर दबाब आउँछ । सांसद भएर सोच्दा कस्तो लाग्छ ?

यसलाई अर्काे पाटोबाट पनि हेरौँ । सम्मानानीय प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्नुभएको छ । उहाँले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुभएको छ । प्रधानमन्त्रीले यसो भन्दा यो विधेयक कसले रोकेको छ ? त्यो मलाईचाहिँ थाहा छैन । भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र अनुहार पनि हेर्दिन भन्ने प्रधानमन्त्री पाएकाले पनि मलाई काम गर्ने जाँगर चलेको छ । उच्च निकाय त प्रधानमन्त्रीनै हो नि । त्यसैले प्रधानमन्त्रीकै उच्च स्प्रिट अनुसार यस्तो विधेयक पास गर्न म त ढुक्कले लागेको छु । उपसमितिमा पनि लागेँ, समितिमा पनि लाग्छु । मलाई प्रधानमन्त्रीमा भरोसा छ । यो विधेयक पास हुन्छ भन्नेमा म ढुक्क छु । बिचमा कसले के स्वार्थ राखेको छ, त्यो प्रधानमन्त्रीको पनि चासोको विषय हो नि !

  • प्रधानमन्त्री भ्रष्टाचार विरूद्धमा बोल्नुहुन्छ अनि यस्ता विधेयकचाहिँ रोकिन्छ, अचम्मलाग्दो रहेछ, हैन ?

यही मिडियाबाट भन्न चाहन्छु– विधेयक नअड्काइदिनुस् । पास गर्दिनुस् ।

  • अख्तियारले मुद्दा किनारा लगाउने समयसीमा तोकौँ भनेर विषय उठेको छ । यो विषय तपाईंको प्रतिवेदनमा किन अटेन ?

यसमा हामीले गहन छलफल गरेका हौँ । माथिको पाँच वर्षे हदम्याद हटायौँ तर, तल हदम्याद राख्यौँ भने माथिको हदम्याद तल सरेको हो कि भन्ने सन्देश जाने भयो ।

अर्काे पक्ष, २/३ वर्ष हदम्याद राखियो र त्यो समयमा मुद्दा टुंगो लागेन भने के गर्ने ? अख्तियारले तीन वर्षमा काम गर्न सकेन भने त्यो मुद्दा के हुन्छ ? यी सबै विषयलाई समावेश गरेर अख्तियारको नियमावलीभित्र कुन मुद्दालाई कसरी लाने हो भनेर क्याटेगोराइज गरेर नियमावलीमा राख्न अख्तियार सहमत भएको छ ।

छलफल गरौँ न ! वाइबडी, ललिता निवास, क्यान्टोन्मेन्ट सबैको कहिलेसम्म टुंगो लगाउने भनेर अख्तियारसँग छलफल गरौँ न ! जाँगर त चलाउनु पर्‍यो नि ! बोलाउँ, ल्याउँ अनि छलफल गरौँ । अघि तपाईंले अख्तियार अर्काे सरकार हुन्छ कि भन्नुभयो । आफूले विश्वास गरेर नियुक्त गर्ने, अनि अलिकति बढी भइस् भन्ने !

  • अख्तियार विधेयक तपाईंहरूकै प्रतिवेदन जस्ताको त्यस्तै पास भए के–के सुधार हुन्छ नेपालमा ?

सबैभन्दा पहिले राजनीति गर्ने हामीलाई राम्रो हुन्छ । सडकमा हिँड्दा नेतालाई भ्रष्टाचारी भन्छन् । त्यो त ढुक्क हुन्छ नि ! सचिव, महानिर्देशक लगायतले गर्ने काम क्याबिनेटमा जान रोकिन्छ र राजनीतिक शुद्धता आउँछ । स्पष्टीकरण सोध्ने र कति पाने भर्नु नपर्ने स्थिति हुन्थ्यो । राजनीति गर्ने मान्छेको कन्ट्रोल हुँदै जनताको नजरमा राम्रो हुन्छ । अमेरिका, सिंगापुर लगायत देशमा पुगेर भ्रष्टाचार हुने काम बन्द हुने थियो कि ! नेपाल राम्रो र भ्रष्टाचार न्यूनीकरणको मुलुकमा पर्ने थियो कि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया