शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
फिल्म

पुसमै धमाधम फिल्म छायांकन, कति सहज ?

शुक्रबार, २६ पुस २०८१, १६ : ३०
शुक्रबार, २६ पुस २०८१

काठमाडौँ । फिल्म रिलिजझैँ छायांकन गर्न पनि पुस उपयुक्त महिना मानिँदैन । यसमा छोटो दिन, चिसो मौसम, लाइटिङ, खुला वातावरण नहुनेलगायत समस्या कारण हुन् । यद्यपि, कलाकारको व्यस्तता, रिलिज मिति पहिल्यै निर्धारण र पहिल्यैदेखि फ्लोरमा लगायतका कारणले पुसमा छायांकन हुँदै आएको छ ।

यो पुसमा ‘सोल्टिनी’, ‘कर्मा’, जेरी अन टप’, ‘जन्ते बाख्रो’, ‘नरसिंहाः अवतार’सहित करिब आधा दर्जन फिल्म धमाधम छायांकनमा छन् । ‘सोल्टिनी’ मंगलबारदेखि छायांकनमा उत्रिएको हो । इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ–मुहूर्त गर्दै छायांकन सुरु गरिएको फिल्मका निर्देशक अर्जुन सुवेदी हुन् । 

जसको ३१ दिनको तालिका छ । मुख्य कलाकार प्रकाश सपूतको व्यस्तताका कारण अहिले सुरु गरिएको हो । प्रकाशका अलावा विल्सनविक्रम राई, परीक्षा लिम्बू, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहने निर्माण पक्षले बताएको छ ।

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने ‘जेरी अन टप’ पनि फ्लोरमा छ । गत कात्तिक १२ मा सुरु यो फिल्मको ६० दिनको सेड्युल पुससम्म रहेकाले छायांकन गर्नुपरेको हो । सुयोग गुरुङ निर्देशक रहेको फिल्ममा अनमोलका अलावा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगीता मगर र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् ।

‘जन्ते बाख्रो’ पनि फ्लोरमै छ । यही पुस २० गते फ्लोरमा निस्किएको फिल्मका निर्देशक सिमोस सुनुवार हुन् । जुन फिल्ममा सौगात मल्ल, आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय रहनेछ ।

कथाअनुसार ‘जन्ते बाख्रो’ मंसिर–पुसमै छायांकन गर्नुपर्ने भएकाले अहिले सुरु गरिएको लेखक प्रदीप भारद्वाजको भनाइ छ । उनका अनुसार यो फिल्म विवाहको कथामा छ । विवाहको सिज भनेको मंसिर हो । अहिलेको मौसम मंसिरसँग मिल्दो पनि छ ।

फ्लोरमा रहेको फिल्म ‘कर्मा’ पनि हो । गत मंसिर २८ गते छायांकनमा गएकामा पुसमा नियमित छायांकन सेड्युल हो । ४० दिन दाङ र एक साता रुकुममा छायांकन हुने भनिएको छ । 

कलाकारको व्यस्तता र रिलिज मिति पूर्वनिधारण भएका कारण पुसमा पनि नियमित छायांकन गर्नुपरेको निर्माण पक्ष बताउँछ । विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मको प्रदर्शन आगामी चैत २९ निर्धारण गरिएको छ ।

दिवाकर भट्टराई निर्देशित ‘नरसिंहाः अवतार’को छायांकन दुई महिनाअघि सुरु भएको हो । जुन फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराईलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

ddr

एक गीत बाँकी भएकाले छिट्टै सकिने निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार गत असोजमा सुरु भएको छायांकन सेड्युल लम्बिँदा पुससम्म आएको हो । यसबाट अभिनेता राजेश आठ वर्षपछि कमब्याक गर्दै छन् । फिल्मले आगामी फागुन १४ गते शिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

  • छायांकन कति सहज ?

यति बेला फिल्म निर्माणले तीव्रता पाएको छ । ‘हरिबहादुरको जुत्ता’, ‘महाभोज’, ‘माग्ने राजा’, ‘कुस्ती’, ‘कोसेढुंगा’लगायत दर्जनभन्दा बढी फिल्म निर्माण घोषणा गरिएका छन् । अधिकांशले छायांकन मिति पुसपछि नै तोकेका छन् । कतिपयले छायांकन तयारीका लागि पुसपछि तोकेका हुन् । कतिले पुस महिना छल्नकै लागि पछि तोकिएको देखिन्छ ।

पुस वर्षभरिकै छोटो महिना मानिन्छ । त्यसमाथि छोटो दिन, जाडो समय र मौसम पनि सफा नहुने भएकाले छायांकनमा यो महिना असहज हुने फिल्मकर्मीले बताउँदै आएका छन् ।

निर्देशक भट्टराई यही कुरो दोहोर्‍याउँछन् । ‘सुटिङका लागि पुस एकदमै असहज समय हो,’ उनी भन्छन्, ‘सिनेम्याटिक हिसाबले पनि पुसको मौसम राम्रो मानिन्न ।’ 

दिन छोटो, लाइटिङमा समस्या, समयमा सुटिङ समस्या, राति सुटिङ समस्यालगायत धेरै असहज हुने भट्टराईको भनाइ छ । ‘पहिलेदेखि फ्लोरमा रहेका फिल्मले त बाध्य भएर पुसमा छायांकन गर्नुपर्छ । त्यसमा कलाकार, प्राविधिकलगायत धेरै कारण छन्,’ उनी भन्छन् । उनका अनुसार प्रोडक्सन खर्च पनि बढ्ने भएकाले पुसमा हत्तपत्त छायांकन नराखिने हो ।

भट्टराईको विचारसँग सहमत जनाउँछन् निर्देशक ऋषि लामिछाने । उनी पनि फिल्म छायांकनका लागि उचित समय नभएको दोहोर्‍याउँछन् । ‘कथाले नै पुस मागेको छ । धुम्म परेको मौसम, घाम नलाग्ने, बाक्ला लुगा मागेको छ भने ठिकै हो,’ लामिछाने भन्छन्, ‘समयमा छायांकन सुरु गर्न नसकिने, ढिलासम्म खिच्न नसकिनेलगायत कारणले अन्य महिना सात दिनको काम पुसमा दश दिन लाग्छ ।’ 

उनका अनुसार यसले बजेट बढाउँछ । धेरै दिन खर्चनुपर्छ । त्यसैले प्रायःले पुसमा छायांकन नगर्ने लामिछानेको भनाइ छ । उनी ‘माग्ने राजा’ निर्देशन तयारीमा छन् । छायांकन फागुनदेखि गरिने उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप