काठमाडौँ जिल्ला अदालतमा कहिले हाजिर हुन्छन् रवि, के हुन्छ प्रक्रिया ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्कीबाट रिहा भएसँगै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुँदै छन् । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उपसमिति सदस्य कमल लामा धरौटीमा रिहा भइसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
बिहीबार साँझ रिहा भएका लामिछाने काठमाडौँ फर्केका छैनन् । लामिछाने गएराति पोखरामा नै बसेको उनका प्रेस सहयोगी प्रमोद न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ पोखरामा नै हुनुहुन्छ, आज काठमाडौँ आउनुहोला ।’
काठमाडौँ आएपछि अदालतमा उपस्थित भएर निवेदन दिनुपर्छ । निवेदन कानुन व्यवसायीमार्फत पनि दिन सकिन्छ । प्रतिवादीको निवेदन आएपछि मात्र इजलास तोकिने काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म उहाँको निवेदन आएको छैन, निवेदन आएपछि इजलास गठन प्रक्रिया अघि बढ्छ ।’
गोला प्रणालीबाट इजलास तोकिएपछि रवि लामिछानेसँग बयान लिइन्छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । बयान र थुनछेक पूरा नहुँदासम्म उनलाई अदालतले पुनः हिरासतमा पठाउने कानुनी व्यवस्था छ । थुनछेक बहस पुरा भएपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी लिएर छाड्ने भन्नेबारे आदेश गर्छन् ।
लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन । चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।