‘भीम रावलजस्तो साथी पार्टीबाट अलग भएर जाँदा कसको मन अमिलो हुन्न र ?’
२०२६ सालदेखि नेपाली राजनीतिमा सक्रिय युवराज ज्ञवाली नेकपा एमालेका पुराना नेता हुन् । भीम रावललाई पार्टीबाट निकाल्ने विषय वा विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई निलम्बन गर्ने प्रस्तावमा अध्यक्ष केपी ओलीसँग असहमति राख्ने नेताहरूमध्ये ज्ञवाली पनि एक हुन् । तर पार्टीको निर्णयलाई हुबहु मान्नेमा ज्ञवाली पनि पर्छन् ।
प्रतिनिधि सभामा टिकट पाएर पनि चुनाव महँगो भएको र आफूसँग चुनाव लड्ने पैसा छैन भन्दै टिकट पार्टीलाई नै फिर्ता गर्ने नेता पनि हुन् उनी । एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ज्ञवालीसँग भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकका विषयमा रातोपाटीले कुराकानी गरेको छ । ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश–
- एमालेको विगत र अहिलेको केन्द्रीय कमिटी बैठकमा के भिन्नता रह्यो ?
सामान्यतया बैठक एकै किसिमकै हुन्छ । तर यस पटकको बैठकमा हामीले के ग¥यौँ भने बोल्न चाहने सबैलाई निश्चित समय तोकेर बोल्न दिने काम भयो । खुलस्त मनमा लागेका कुरा यहीँ भन्नुस् भन्ने वातावरण बनाइयो । त्यसले नीति निर्माण गर्दा वस्तुगत आधार पनि बन्छ ।
- केन्द्रीय सदस्यले पनि बैठकमा बोल्न पाउने कुरा एमालेको बैठकमा नयाँ नै हो । तर यस्तो कुरामा अध्यक्ष केपी शर्मा ओलीलाई कसरी सहमत गराउनुभयो ?
यो ठुलो उपलब्धि मान्ने विषय त होइन । कमिटीभित्र खुलस्त रूपमा कुरा राख्ने परम्परा नै हो । मुख्य नेताकै पनि आलोचना हुन्थ्यो । त्यसबापत कसैलाई कारबाही हुँदैन थियो । तर पछिल्लो कालमा यो उपलब्धिमूलक नै मान्नुपर्छ ।
- नवौँ महाधिवेशनपछि त पार्टीभित्र आन्तरिक लोकतन्त्र हरायो नि ?
पछि आएर बोल्ने चलन अलि कम भयो । यसलाई यसैगरी नै भनौँ । लोकतन्त्र छैन भनौँ भने महाधिवशेन भयो । चुनाव भयो । भोट हाल्न पाइने त भइराखेको छ । पार्टीको लोकतान्त्रिकीकरणको दस्तावेज नै छुट्टै लेखिएको छ ।
- सबै त भयो तर आफूसँग प्रतिस्पर्धा गरेकोलाई पार्टीबाटै निकाल्दिनेचाहिँ पहिला थिएन कि ?
कमिटीभित्रका कुरालाई एक्स्पोज गर्ने, पटकपटक प्रश्न उठाउनेलाई कारबाही पहिला पनि हुन्थ्यो । त्यस्ता धेरै पटक गरेका छौँ । भूमिगतकालमा पनि भएका छन् ।
- तपाईंले धेरै नेताहरूसँग काम गर्नुभयो । अहिलेका अध्यक्ष पनि पार्टीभित्र प्रश्नैप्रश्न गरेर अध्यक्ष हुनुभएको हो । तर अहिले उहाँलाई अरुले गरेको प्रश्नचाहिँ किन मन पर्दैन ?
उहाँ त प्रश्न उठाउनेमा एक नम्बर नै हो । त्यो राम्रो कुरा हो ।
- अनि अहिले उहाँलाई प्रश्नै गर्न किन पाइँदैन त ? उठाइहाले कारबाही किन गरिहाल्नुहुन्छ ?
प्रश्न उठाउन पाइँदैन भनेर कहिल्यै उहाँले भन्नुभएको छैन । बोल्न दिन्नन्–बोल्न दिन्नन् भन्ने बाहिर जुन हल्ला छ, त्यस्तोभन्दा पनि कतिपय साथीहरू बोल्न खोजेर पनि बोल्न चाहनुहुन्न । कतिपय साथीहरू मनमा चाहिँ लागिरहेको हुन्छ, अनौपचारिक कुरा गर्दा असन्तुष्टि देखाउनुहुन्छ तर त्यही कुरा अध्यक्षको अगाडि बोल्नुहुन्न । के मनोवैज्ञानिक असर परेको हो कुन्नि ?
- यसको मतलब अध्यक्षसँग बोल्न डराउनुहुन्छ ?
बोल्न किन डराउनुहुन्छ साथीहरू ? कतिपय जे विषयमा पनि बोल्ने, कोही चाहिने कुरामा पनि नबोल्ने साथीहरू देखिन्छन् । भन्ने त कमिटीमै हो नि । निर्णय विरुद्धचाहिँ बाहिर बोल्न मिल्दैन, चित्त बुझे पनि नबुझे पनि ।
- सचिवालयबाट निर्णय हुन्छ, त्यो कुरा कुनै केन्द्रीय सदस्यलाई चित्त बुझेन । केन्द्रीय कमिटीको बैठक बस्दासम्म निर्णय कार्यान्वयन भइसक्छ । अनि कहाँ कुरा राख्ने ?
एउटा समस्या त छ । तर सचिवालयको निर्णय थाहा पाइएन भने विरोध गर्न मिल्छ । त्यसमा ‘एक्स्क्यूज’ पनि होला । तर निर्णय थाहा पाएपछि विरोध गर्न पाइँदैन ।
- तपाईंहरूले नै सिकाउनु भएको हो– सर्वोच्च अदालतको निर्णयमा त असहमति जनाउन पाइन्छ भनेर । अनि एउटा पार्टीको सचिवालयले गरेको निर्णय चित्त बुझेन भन्न पनि नपाइने ? चित्त बुझेनभन्दा निष्कासित हुनुपर्ने, निलम्बनमा पर्नुपर्ने हुन्छ त ?
अदालतको निर्णय चित्त बुझेन भन्न पाइन्छ तर निर्णय उल्लङ्घन गर्न पाइँदैन । नेताहरूलाई भेट्न पाइन्छ । पार्टी कार्यालय खुलै हुन्छन् । टेलिफोन गरेर पनि भन्न सकिन्छ ।
- जसलाई पार्टीबाट निष्कासन गरियो, ज–जसलाई निलम्बन गरियो, त्यसको त तपाईं पनि विपक्षमै हुनुहुन्थ्यो त । बैठकमा असहमति राख्नुभएको होइन ?
बैठकमा असहमति राखेको हो । तर बल्खुमा पार्टी कार्यालय बनाउने समयमा म आर्थिक विभाग प्रमुख थिएँ । धेरैले सहयोग दिएर पार्टी कार्यालय बनाएको हो । धेरैबाट लिन मिल्छ, एउटैबाट धेरै लिनुहुन्न भन्ने बहस छ ।
- निर्वाचनमा उम्मेदवार बन्नुभयो, कसैले सहयोग गर्ला, त्यो ठिकै होला । तर तपाईंको घरै कसैले चलाइदिन थाल्यो, दाल, चामल, नुन सबै किन्न थालिदियो भने तपाईंलाई मान्य हुन्छ ?
प्रश्न उठाउने सबै बेवकुफ हुन् भन्ने होइन । अर्ब–अर्बको पैसा किन दियो ? त्यसबापत पार्टीबाट उनले केही फाइदा लिन पो खोजे कि भन्ने आशङ्का उठेको हो ।
- संविधान संशोधन गर्छौं भनेर सरकार बनाउने तर अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा संविधान संशोधनमा आशङ्का किन व्यक्त गरियो ?
कांग्रेस र एमालेमात्र मिलेर संविधान संशोधनका लागि संख्या पुग्दैन । अर्को कोही खोजौँ भने त्यसले पूरै गर्न नसकिने माग राखिदिन्छ । त्यसबेला एमाले–कांग्रेस फस्ने कुरा हुन्छ । यो त्यति सजिलो छैन ।
- प्रतिवेदनमा माओवादी अध्यक्ष प्रचण्डलाई सत्तरोसराप किन गर्नुभएको ? प्रचण्डका कारण एमालेले काम गर्न सकेन भनिएको छ । एमाले प्रचण्डले चलाइदिने हो र ?
यसपटक हाम्रो दस्ताबेजमा माओवादीप्रति बढी आलोचना छ । अस्थिरता त देखिएकै हो ।
- २०४८ साल यताको यो ३३ वर्षमा कांग्रेस र एमालेविनाको सरकार बनेकै छैन । अनि बेथितिको दोष अरुलाई दिन मिल्छ ? एमालेले लिनुपर्दैन ?
एमाले र कांग्रेस नै पहिलो र दोस्रो दल बने । एउटाविना सरकार बनाउन सक्ने संख्या नै नपुगेपछि बाध्यताले त्यस्तो भएको हो ।
- अध्यक्ष ओलीको दस्ताबेजले भन्छ– प्रचण्डका कारण सुशासन दिन सकेन एमालेले । ओलीजी आफू काम गर्न नसक्ने अनि दोष अर्कोको टाउकोमा हाल्न मिल्छ त ?
हिजो भएन त भन्न सकियो । तर आज सुशासन दिन नसकेको जिम्मा हामीले नै लिने हो । अहिले सुशासन हामीले दिने हो । अहिले सुशासन भयो कि भएन भन्ने कुराको जिम्मेवारी हामीले नै लिने हो ।
- ‘सकिएन भने’ होइन कि अब सकिएन भनेर हात उठाउने बेला भएन र ?
जनताले आशा गरेजस्तो परिणाम आएको छैन । सत्य हो । तर पाँच महिनाले टुंगो लाग्दैन । अहिलेका काम, क्रियाकलाप र गतिविधिले भविष्यको सम्भावना राम्रो देखिन्छ । यो सरकार आउनुभन्दा पहिला सडकभरि जुलुस हुन्थे । अहिले हटेर गएको छ । जनतामा आशा देखिएको छ ।
- प्रतिवेदनमा सात लाख सदस्य वृद्धि गर्ने उल्लेख छ । पार्टी ओरालो लागिरहेको छ । पार्टी छाड्नेको संख्या त्यत्तिकै छ । कारबाही गरेर पनि निकालिरहनु भएको छ । अनि ती सात लाख कहाँबाट ल्याएर थप्ने भनेको ?
एमाले एक्स्प्रेस ट्रेन हो । मानिसहरू चढ्ने, ओर्लने भइराख्छ ।
- बैठकमा जनताले दिनदिनै भोगिरहेका समस्याबारे चाहिँ किन छलफल नभएको ? खाली सदस्य थप्ने, चुनाव कसरी जित्ने, कसलाई के शब्दले गाली गर्ने भन्ने मात्र कुरा हुन्छ, हो ?
हामीले पारित गरेका प्रस्तावमा आमजनताका कुरा छन् ।
- नेतालाई कारबाही गरेका पनि तपाईंलाई मन परेको छैन । कुनै व्यापारीले पार्टी कार्यालय बनाइदिने कुरा पनि मन परेको छैन । यस्तै अरुलाई पनि होला ? यस्तो उकुसमुकुस सहेर र मन अमिलो पारेर नेता, कार्यकर्ता कति बस्छन् ?
भीम रावलजस्तो साथी पार्टीबाट अलग भएर जाँदा कसको मन अमिलो हुन्न र ? उषाकिरण र विन्दा पाण्डेजस्तो भरभराउँदो महिला नेताहरू निलम्बनमा पर्दा कसको मन अमिलो हुँदैन ?
- पार्टीको आन्तरिक सङ्कट के हो भन्ने तपाईंलाई थाहा छ । समस्या कहाँ छ भन्ने पनि थाहा छ। हैन ?
किन थाहा नहुनु ?
- तर बोल्न डर लाग्छ ?
आत्मकेन्द्रित व्यक्तिवाद अहिलेका पार्टीहरूको मुख्य समस्या हो । त्यो समस्या एमालेभित्रको समस्या पनि त्यही हो ।
- एमालेभित्रको उकुसमुकुसको ओत लाग्ने ठाउँचाहिँ पूर्वराष्ट्रपति विद्या भण्डारीको निवास भएको छ भनिन्छ नि ?
धेरै नेता–कार्यकर्ताले भेटेका पनि होलान्, कुरा गरेका पनि होलान् । तर त्यहाँबाट सञ्चालित छ भन्ने कुरा गलत हो ।
- तपाईचाहिँ जानुभएको छैन भेट्न ?
गएको छैन । मौका मिले जाउँला । अध्यक्षले नै भेटेर घण्टौँ कुरा गरिसक्नुभएको छ । अब अरुले भेट्न नमिल्ने कुरै भएन नि ।
- विद्या भण्डारी पार्टीको अध्यक्ष बन्ने सम्भावना कति ?
बाँकी जिन्दगी अझै पनि देशका लागि केही गर्छु भन्नु राम्रो कुरा हो । म गतिशील हुन चाहन्छु भन्दा ‘होइन, तपाईं थपक्क लागेर बस्नुपर्छ । भेट्न आउनेलाई नमस्कार गर्ने, अर्ती उपदेश दिएर बस्नुस्’ भनेर भन्न मिल्छ ? सक्रिय राजनीति गर्न चाहनुहुन्छ, महाधिवेशनले बनायो भने अध्यक्ष बन्नुहुन्छ नि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक निशान पदमार्गमा पदयात्रा
-
ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
-
विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा
-
युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
-
विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस
-
व्यवसायी लामालाई आक्रमण गर्ने पाँचौँ आरोपी पक्राउ