नवलपरासीको हुलाकी सडक निर्माण कछुवा गतिमा : सांसद विनोद चौधरीको भूमिकाप्रति प्रश्न
बुटवल । नवलपरासी जिल्ला अन्तर्गत हुलाककी सडक निर्माणको प्रगति निराशाजनक छ । २०७६ सालमा तीन खण्डमा छुट्टाछुट्टै ठेक्का लगाए पनि तीन वटै खण्डको निर्माण कार्यमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती पाउँदै आएका छन् ।
सडक निर्माण समयमै सम्पन्न गर्न स्थानीयस्तरमा दबाब सिर्जना गरिए पनि संघीय सांसदले जनताको समस्यालाई उपेक्षा गरेको गुनासो व्याप्त छ ।
नवलपरासीको प्रतापपुर बेलाटारी चोक नजिकै पंचरकटी टोल घर भएका सुरेन्द्र शर्माले सदरमुकाम आउजाउ गर्दा सास्ती हुने गरेको बताए । मोटरसाइकलमा हिँड्दा धुलो तथा हिलोका कारण मानिसको रङरुप नै चिन्न नसकिने हुने गरेको उनले सुनाए ।
बेलाटारी चोकको एक चिया पसलमा भेटिएका शर्माले रातोपाटीसँग भने, ‘पुरानो सडक हो तर निर्माण गर्न वर्षौं लाग्यो । हामीले सधैँ प्रयोग गर्नुपर्ने यो सडक दिक्कलाग्दो छ ।’ सडकको अवस्थाकै कारण कतै हिँड्न मन नलाग्ने उनले बताए ।
हुलाकी सडक अन्तर्गत पर्ने बेलाटारी–कठहवा ९ किलोमिटर सडक विस्तारका लागि हुलाकी सडक डिभिजन कार्यालय कपिलवस्तुले २०७६ सालमा ठेक्का लगाएको थियो । तेस्रो पटक म्याद थप पाएको ‘द कसेन्ट प्रालि काठमाडौँ’ले अझैसम्म काम सम्पन्न नगरेको डिभिजन कार्यालयले जनाएको छ ।
यो सडक निर्माणका लागि २८ करोड ९० लाखमा ठेक्का दिइएको हो । ठेकदार कम्पनीले काममा ढिलाइ गर्दा स्थानीयले वर्षौंदेखि सास्ती बेहोर्दै आएको बेलाटारीका लख्नु यादवको गुनासो छ ।
हुलाकी सडक विस्तारको काम तीन खण्डमा छुट्टाछुट्टै ठेक्का लगाएजस्तै चार वटा कल्भर्टको ठेक्का अलगअलग लगाइएको छ ।
जिल्लाको सदरमुकाम परासीदेखि नारायण चोकसम्मको साढे १२ किलोमिटर हुलाकी सडक निर्माणको काम तुलानामत्क रूपमा अलि राम्रो भए पनि नारायण चोकदेखि त्रिवेणीसम्म १६ किलोमिटर सडकको अवस्था निराशाजनक छ । यो खण्ड निर्माणको ठेक्का बज्रगुरु महालक्ष्मी जेभी काठमाडौँले ५८ करोडमा लिएको थियो । तर अहिलेसम्म यसको भौतिक प्रगति जम्मा ३५ प्रतिशतमात्रै भएको हुलाकी सडक कार्यालय कपिलवस्तुका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले रातोपाटीलाई बताए ।
यो खण्डको ठेक्काको म्याद आगामी चैतमा सकिँदैछ । उक्त समयभित्र निर्माण कार्य सम्पन्न नहुने निश्चितजस्तै छ । आचार्यले ठेक्का सम्झौता अनुसार काम नभएकाले अब के गर्ने भन्नेबारे आन्तरिक छलफल भइरहेको बताए ।
हुलाकी सडक अन्तर्गत अहिले कल्भर्ट निर्माणको काम भने धमाधम भइरहेको छ । ४ वटा कल्भर्टमध्ये एउटा पूरा भएको छ । अन्य तीन वटा कल्भर्टको काम पनि ७० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको इन्जिनियर आचार्यले रातोपाटीलाई बताए ।
- संघ र प्रदेशको ध्यान पुगेन
नवलपरासीको क्षेत्र नम्बर १ पर्ने प्रतापपुर, सुस्ता गाउँपालिका बासिन्दाले हुलाकी सडक विस्तारको नाममा वर्षौंदेखि सास्ती बेहोर्दै आएका छन् । संघीय सांसद विनोद चौधरीले यस विषयमा कतै आवाज नउठाएको भनेर स्थानीयवासी रुष्ट बनेका छन् ।
गत भदौमा स्थानीय जनप्रतिनिधिले नारायाणचोकदेखि त्रिवेणीसम्मको सडक समयमा निर्माण गर्नुपर्ने माग अघि सारेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका थिए । तर, यो क्षेत्रका संघीय सांसद विनोद चौधरीले यसबारे कतै केही नबोलेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले रातोपाटीलाई बताए ।
उनले भने, ‘हामी स्थानीय तहले मात्रै दबाब दिएर पुगेन । संघ र प्रदेशका सांसदहरू केही बोल्दैनन् ।’
संघीय सांसद विनोद चौधरीले जनताका समस्याका बारेमा चासो नदिएको पालिका अध्यक्ष यादवले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड विस्तार थालिएपछि हुलाकी सडकलाई विकल्पका रूपमा प्रयोग गर्न थालिएको छ । जसले गर्दा हुलाकी सडकमा सवारी चाप बढेर थप समस्या सिर्जना भएको स्थानीयको भनाइ छ ।
सुस्ता गाउँपालिका–५ का राम प्रवेश कहार पनि संघीय सांसद विनोद चौधरीको भूमिकालाई लिएर प्रश्न गर्छन् । चुनावमा घोषणा गरे अनुसार सांसद चौधरीले सडक निर्माणमा ध्यान नदिएको उनको भनाइ छ ।