अखिल क्रान्तिकारीभित्र उमेरहद विवाद उत्कर्षमा, छानबिन समितिले समाधान गर्ला ?
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्ष उमेरहद र खुला पक्षधरबिच विवाद उत्कर्षमा पुगेको छ ।
नेतृत्वका लागि उमेरहद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो लगाउन पुस १३ गते भएको निर्वाचनमा पराजित भएका खुला पक्षधरले धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले पार्टीकै केही शीर्ष नेताको निर्देशनमा निर्वाचन धाँधली भएको आरोप लगाउँदै आएका छन् ।
खुला पक्षधरले निर्वाचन समितिको निष्पक्ष भूमिकामाथि पनि प्रश्न उठाएका छन् । दुई पक्षबिचको विवाद सामाजिक सञ्जालमा पनि छरपस्ट भइरहेको छ ।
संगठनभित्रको विवाद गम्भीर बन्दै गएपछि पार्टीले छानबिन समिति बनाउने निर्णय गरेको छ । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले संगठनभित्रको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने निर्णय ग¥यो । उमेरहदबाट बाहिरिएका नेताहरूलाई पार्टीले नै व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको थियो ।
पार्टीको तर्फबाट गठन भएको छानबिन समितिले विवाद समाधान दिने संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले विश्वास व्यक्त गरे ।
‘पार्टीले नै संगठनभित्रको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ । निर्धारित समयमै बाँकी निर्वाचन प्रक्रिया अगाडि बढ्छ । छानबिन पश्चात नेतृत्व हस्तान्तरणको प्रक्रिया पनि सहज रूपमा हुन्छ,’ शर्माले भने, ‘उमेरहदबाट बाहिरिएका नेताहरूको व्यवस्थापनका लागि पनि छानबिन समितिले नै सुझाव दिन्छ ।’
प्रदेशमा ३२ वर्षमाथिका नेताहरू निर्वाचित भएर आइसकेको अवस्थामा कसरी सन्तुलन गर्ने भन्ने विषयमा पनि छानबिन समितिले निष्कर्ष दिने शर्माले बताए । संगठनको विधान अनुसार प्रदेशका अध्यक्ष केन्द्रीय समितिमा सचिवसरह हुने भनिएको छ । तर केन्द्रमा ३२ वर्ष मुनिका नेताहरू निर्वाचित भएपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नको जवाफमा शर्माले उपाध्यक्षसरह बनाउन सकिने गरी व्यवस्थापन गर्न सकिने बताए । यद्यपि यी समग्र समस्याको समाधानका लागि पार्टीले निर्देशिका नै जारी गर्न सक्ने उनको भनाइ छ ।
क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष पवन कार्कीले बाहिरी वर्गीय संघर्ष र आन्तरिक संघर्ष फरक विषय भएकाले आन्तरिक जनवादमा हस्तक्षेप गर्ने, धाँधली गर्ने कुरा आगामी दिनमा नहोस् भन्नका लागि सचेत गराएको दाबी गरे ।
‘संगठनमा ३२ वर्ष उमेरहद लगाउने विषयमा हाम्रो कुनै असहमति छैन । यो निर्वाचनबाट पाठ सिक्नुपर्छ । जो–जो नेताहरू प्रत्यक्ष रूपमा प्रभावित गर्न लागे उनीहरूलाई पार्टीले छानबिनको दायरामा ल्याउनुपर्छ’, उनले भने, ‘संगठनलाई एउटा विधिमा ढाल्नुपर्छ । उमेरमात्र सबै कुरा होइन । आयोगमा परेको उजुरीउपर कि छानबिन गर्नुपर्छ, कि खारेज गर्नुपर्छ, कि फिर्ता लिनुपर्छ ।’
यो कुनै पनि प्रक्रिया निर्वाचन समितिले पूरा गरेको नदेखिएको भन्दै कार्कीले अर्को निर्वाचन समिति बनाउनुपर्ने जिकिर गरे । गलत अभ्यास सिकाएर नयाँ पुस्तामा झन् समस्या थोपर्ने काम पार्टीले गर्न नहुने उनको तर्क छ ।
प्रदेशका अध्यक्षलाई केन्द्रमा उपाध्यक्षसरह बनाएर जाँदा पनि सन्तुलन कायम नहुने कार्कीले बताए ।
अर्का निवर्तमान उपाध्यक्ष मदन भुलले पार्टीको निर्णय मानेर जान तयार भएको बताए । तर निर्वाचनमा धाँधली भएको विषयमा परेको उजुरीमाथि छानबिन समितिले रिपोर्ट नदिएसम्म समाधान नहुने उनको तर्क छ ।
‘हामी पार्टीको निर्णय मानेर जान तयार छौँ । उमेरहदको विरोधी पनि होइनौँ । तर, निर्वाचनमा जुन प्रकारको धाँधली भएको छ, त्यो छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो । समाधानको उपायबारे छानबिन समितिले के रिपोर्ट दिन्छ ? त्यसपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्छ’, भुलले भने ।
भुलले उमेरहद लागु भएमा निवर्तमान पदाधिकारीसहित करिब एक हजार नेता बाहिरिने दाबी गरे ।
निर्वाचन परिणाम अनुसार ३२ वर्ष उमेरहद पक्षधरले खुला पक्षधरलाई २१ मतान्तरले पराजित गरेको थियो । दुई हजार ३९८ मतदातामध्ये एक हजार ७८९ मत खसेको थियो । खुला पक्षधरले ९०० मत पाउँदा ३२ वर्ष उमेरहद पक्षधरले ८७९ मत पाएको थियो । दश मत बदर भएको थियो ।
नेतृत्व छनोटका लागि दोस्रो चरणको निर्वाचन माघ ५ गतेबाट सुरू हुँदैछ । माघ १२ गते सबै प्रदेशमा एक साथ निर्वाचन गर्ने निर्णय भएको छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मलेन उमेरहद विवादका कारण स्थगित भएको थियो । पार्टीको विधानमा जबस÷मोर्चा स्वायत्त हुने भनिएको छ । तर आन्तरिक समस्या क्रान्तिकारीले समाधान गर्न नसक्दा विवाद पार्टी पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकसम्म पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको भनाइमा सञ्चारमन्त्रीको प्रस्टोक्ति– संविधान संशोधन हुन्छ
-
घिसिङले पेस गरे कार्यसम्पादन मूल्यांकन, ९८.९९ प्रतिशत अङ्क दाबी
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
-
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छ : प्रधानमन्त्री
-
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
-
‘भीम रावलजस्तो साथी पार्टीबाट अलग भएर जाँदा कसको मन अमिलो हुन्न र ?’