सहकारी प्रकरणका चर्चित को–को अभियुक्त कुन अवस्थामा छन् ?
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर झण्डै तीन महिना लामो हिरासत जीवन बिताएका रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दियो । अदालतको आदेशबमोजिम धरौटी बुझाएका लामिछाने हिरासतमुक्त भए ।
यद्यपि काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको प्रकरणमा उनी फेरि पक्राउ पर्ने भएका छन्। स्वर्णलक्ष्मीमात्रै नभएर चितवनको सहारा, वीरगञ्जको सानो पाइला र बुटवलको सुप्रिम सहकारीका रकम हिनामिनामा समेत उनीमाथि छानबिन भइरहेको छ ।
लामिछानेमाथि अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गर्नुको अर्थ उनी दोषमुक्त भएका भने होइनन् । प्रमाण नष्ट गर्ने वा मुद्दालाई नै प्रभावित गर्ने सम्भावना नभएको तथा तीन वर्षभन्दा धेरै जेल सजाय नहुने अवस्थामा धरौटीमा छोड्नसक्ने व्यवस्था छ ।
हिरासतमुक्त नभएका कारण लामिछाने सांसदका रूपमा तत्काल बहाल हुने सम्भावना छैन । तर, धरौटीमा छाड्ने आदेशले उनको राजनीतिक करियरलाई एक हदसम्म भने बचाइराखेको छ ।
लामिछानेको हकमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि रिहा नहुने अवस्था एकातिर देखिएको छ भने अर्कोतिर सहकारीको रकम हिनामिना प्रकरणमै मुछिएका कतिपयको हकमा भने फरक परिदृश्य देखिएको छ । कतिपय आरोपित त यस्ता पनि छन्, जसलाई राज्यका निकायले पक्राउ गर्न आवश्यक ठानेका छैनन् भने कोही पक्राउ परेकै दिन अदालतमा बयान लिने र सोही दिन धरौटी बुझाएर रिहा भएका पनि देखिन्छन् ।
अनुसन्धान नै नभएका आरोपितहरू
सहकारी प्रकरणमा मुछिएर अहिलेसम्म अनुसन्धानसमेत हुन नसकेका चर्चित भीआईपीको संख्या सीमित छ । तर, यी यतिसम्म शक्तिशाली देखिएका छन् कि उनीहरूमाथि छानबिनको सम्भावनासमेत कमजोर बनेको छ ।
अनुसन्धान नै नभएकाहरूको सूचीमा पहिलो नम्बरमा कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल छन् । पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको उमागौरी सहकारी ठगीमा मुछिएकी थिइन् । फरार रहेकी उनीविरुद्ध प्रहरीले मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । फरार अवस्थाबाटै अदालतमा उपस्थित भएकी उनलाई अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी एक दिन पनि हिरासतमा नबसी रिहा भइन् ।
उता, डिभोर्स भएको भनिएकी धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ अहिले फरार अवस्थामा छिन् । मितेरी बचत तथा ऋण सहकारीको बचत रकम दुरुपयोगको सम्बन्धमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फरार भएकी गुरुङविरुद्ध प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । तर, उनी अझै पनि पक्राउ परेकी छैनन् । धनराजले भने पाँच वर्ष अघि नै ज्योतिसँग डिभोर्स भएको भन्दै उक्त प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दैै आएका छन् ।
जो पक्राउ नै परेनन्, परेर पनि छुटे
त्यस्तै, साई स्वागत बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न रहेको भनिएकी रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि अहिलेसम्म पक्राउ परेकी छैनन् । सोही प्रकरणमा पक्राउ परेका संस्थाका अध्यक्ष भरत जंगम र कोषाध्यक्ष लुमन दाहाल धरौटी बुझाएर रिहा भइसकेका छन् ।
पुल्चोकको लालीगुराँस सहकारीमा बचत रकम दुरुपयोगको आरोपमा पक्राउ परेका संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पनि अहिले जेलबाहिर छन् । अदालतको आदेश अनुसार धरौटी बुझाएर उनीसँगै अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल पनि धरौटी बुझाएर रिहा भएका छन् ।
समस्याग्रस्त अवस्थामा रहेको ओरेन्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष समेत रहेका सुधीर बस्नेत पनि अहिले जेल बाहिर छन् । लामो समय जेलजीवन बिताएका उनी पाँच वर्षअघि नै साधारण तारेखमा रिहा भएका थिए ।
यी हुन् फरार अभियुक्तहरू
सहकारी ठगी प्रकरणमा अहिलेसम्म सबैभन्दा चर्चित पात्र मानिएका जीबी राई फरार अवस्थामा छन् । उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । त्यस्तै, राप्रपाकी सांसद गीता बस्नेत, सुमेरु सहकारीका भरत महर्जन पनि अहिले फरार अवस्थामै छन् । उनीहरूविरुद्ध समेत इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गरिएको छ ।
जो अहिले पनि जेलमै छन्
केही चर्चित व्यक्ति भने सहकारी ठगी प्रकरणमा अहिले पनि जेलमै छन् । पूर्वसांसद समेत रहेका सिभिल को–अपरेटिभ लिमिटेडका अध्यक्ष इच्छाराज तामाङ, आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती, कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा, शिवशिखर बहुद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा लगायत व्यक्तिहरू यतिबेला जेलमै छन् ।
त्यस्तै, ढोरपाटन नगरपालिकका मेयर देवकुमार नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम दुरुपयोगको आरोपमा अहिले जेलमा छन् । फरार भएका उनलाई मुम्बईबाट पक्राउ परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा पाँच हजार बढी फरार प्रतिवादी पक्राउ
-
शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित
-
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौँमा सुरु
-
रवि लामिछाने २ बजेको फ्लाइटमार्फत काठमाडौँ आउने
-
प्रियङ्का अभिनीत ‘ममी’को पोस्टरमा के छ ?
-
‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अख्तियार विधेयक रोक्नुहुन्छ भन्ने मलाई लाग्दैन’