१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. रवि रिहा
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
२. रास्वपामा उत्साह
कार्यवाहकहरूका भरमा सञ्चालन भइरहेको रास्वपालाई कास्की जिल्ला अदालतबाट बिहीबार भएको आदेशले राहत मिलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उक्त पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश आएपछि उत्साह छाएको हो ।
३. अब कसरी अघि बढ्छ मुद्दा ?
कास्की जिल्ला अदालतले बिहीबार अभियोगपत्र दायर भएपछि पहिलो सुनुवाइ गर्दै धरौटी माग गरेको हो । अब अदालतले आफ्नै रूपमा मुद्दा अघि बढाउनेछ । अदालतले अबका पेसीमा प्रमाण झिकाउने र थप सरकारी साक्षी बुझ्ने आदेश गर्दै अघि बढ्नेछ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार पहिलो थुनछेक आदेश भएको छ । अब नियमित प्रक्रियामा सुनुवाइ अघि बढ्नेछ । अदालतले आवश्यक प्रमाण झिकाउँदै सबैसँग लिखित जवाफ मागेर अन्तिम फैसला सुनाउनेतिर अघि बढ्नेछ । जिल्ला अदालतले प्रमाण र साक्षीको बयान सकेपछि फैसला सुनाउनेछ ।
४. दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् ।
५. क्यासिनोमा कडाइ
झण्डै ११ वर्षपछि सरकारले क्यासिनो नियमावली परिमार्जनको तयारी गरेको छ । क्यासिनो सञ्चालन, नवीकरण तथा नियमनसम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै पर्यटन विभागले क्यासिनो (व्यवस्थापन तथा सञ्चालनं) नियमावलीको मस्यौदा तयार गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको उक्त मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ ।
अहिले क्यासिनो सञ्चालन तथा व्यवस्थापन नियमावली २०७० कार्यान्वयनमा छ । उक्त नियमावली पछिल्लो पटक २०७६ सालमा संशोधन गरिएको थियो । करिब ११ वर्षपछि नयाँ नियमावली ल्याउन लागिएको पर्यटन विभागको होटल तथा क्यासिनो हेर्ने शाखाका निर्देशक लिलाधर अवस्थीको भनाइ छ ।
६. त्रिविका प्राध्यापकहरुको माग
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शिक्षक–कर्मचारी निरन्तर आन्दोलनमा छन् । स्थायी तथा आंशिक र करार शिक्षक–कर्मचारीहरूका छुट्टाछुट्टै माग छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले पुस १६ गते उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०८१ वैशाख २६ गते पेस गरेका सामूहिक मागको सुनुवाइ नभएको भन्दै संघले आन्दोलनको चेतावनीसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।
७. कांग्रेसको असन्तुष्टि
मंगलबार आफ्नै दल नेकपा एमाले केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ साल अघि संविधान संशोधन हुन नसक्ने बताए । बैठक समापन बोल्दै प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन कुनै पनि हालतमा नहुने स्पष्ट पारे । ओलीको सो अभिव्यक्तिपछि उनी नेतृत्वको सरकारको कार्यदिशामाथिनै प्रश्न उठेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र पनि यो विषयले बहस सिर्जना गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा मौन रहे पनि अन्य केन्द्रीय नेताहरू प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर रुष्ट बनेका छन् ।
८. सेयर बजार
६ दिन लगातार बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।
१०. प्रचण्ड–नेपाल भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । दुई नेताबिच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
११. ६१ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका–१ गुर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो ।
१२. फरार १२ जना पक्राउ
अदालतको फैसलापछि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ
-
पूर्वराजाको सन्देश– नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ (भिडियोसहित)
-
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
-
संविधान संशोधनमा ओलीको ‘मिसन–०८७’ : सत्तामा सङ्कट आएको विपक्षी दलहरूको विश्लेषण