शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

बिहीबार, २५ पुस २०८१, २२ : ५१
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैसाखी नटेकी आफैँ  दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे ।

अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ  अगाडि बढ्न प्रेरित गर्दै सफलताको कामना गरे । मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाएका र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट पारे ।

अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको बताए । अध्यक्ष ओलीले भने, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग सम्बन्धित पुस्तक पनि विमोचन गरे । एमालेका महासचिव शङ्कर पोखरेलले भविष्यका कर्णधार विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुनसक्ने बताए । 

अनेरास्ववियुका पूर्वअध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायत नेताहरुको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा स्ववियु निर्वाचन हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप