शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म

बिहीबार, २५ पुस २०८१, २२ : ००
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । आज मिति २०८१ साल पुस महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. रविसहित ६ जना रिहा

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

२. रास्वपामा उत्साह

कार्यवाहकहरूका भरमा सञ्चालन भइरहेको रास्वपालाई कास्की जिल्ला अदालतबाट बिहीबार भएको आदेशले राहत मिलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उक्त पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश आएपछि उत्साह छाएको हो ।

 

३. अब कसरी अघि बढ्छ मुद्दा ?

कास्की जिल्ला अदालतले बिहीबार अभियोगपत्र दायर भएपछि पहिलो सुनुवाइ गर्दै धरौटी माग गरेको हो । अब अदालतले आफ्नै रूपमा मुद्दा अघि बढाउनेछ । अदालतले अबका पेसीमा प्रमाण झिकाउने र थप सरकारी साक्षी बुझ्ने आदेश गर्दै अघि बढ्नेछ ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार पहिलो थुनछेक आदेश भएको छ । अब नियमित प्रक्रियामा सुनुवाइ अघि बढ्नेछ । अदालतले आवश्यक प्रमाण झिकाउँदै सबैसँग लिखित जवाफ मागेर अन्तिम फैसला सुनाउनेतिर अघि बढ्नेछ । जिल्ला अदालतले प्रमाण र साक्षीको बयान सकेपछि फैसला सुनाउनेछ ।

४. दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् ।

५. क्यासिनोमा कडाइ

झण्डै ११ वर्षपछि सरकारले क्यासिनो नियमावली परिमार्जनको तयारी गरेको छ । क्यासिनो सञ्चालन, नवीकरण तथा नियमनसम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै पर्यटन विभागले क्यासिनो (व्यवस्थापन तथा सञ्चालन) नियमावलीको मस्यौदा तयार गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको उक्त मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ ।

अहिले क्यासिनो सञ्चालन तथा व्यवस्थापन नियमावली २०७० कार्यान्वयनमा छ । उक्त नियमावली पछिल्लो पटक २०७६ सालमा संशोधन गरिएको थियो । करिब ११ वर्षपछि नयाँ नियमावली ल्याउन लागिएको पर्यटन विभागको होटल तथा क्यासिनो हेर्ने शाखाका निर्देशक लिलाधर अवस्थीको भनाइ छ ।

६. त्रिविका प्राध्यापकहरुको माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शिक्षक–कर्मचारी निरन्तर आन्दोलनमा छन् । स्थायी तथा आंशिक र करार शिक्षक–कर्मचारीहरूका छुट्टाछुट्टै माग छन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले पुस १६ गते उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०८१ वैशाख २६ गते पेस गरेका सामूहिक मागको सुनुवाइ नभएको भन्दै संघले आन्दोलनको चेतावनीसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।

७. कांग्रेसको असन्तुष्टि

मंगलबार आफ्नै दल नेकपा एमाले केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ साल अघि संविधान संशोधन हुन नसक्ने बताए । बैठक समापन बोल्दै प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।

ओलीको सो अभिव्यक्तिपछि उनी नेतृत्वको सरकारको कार्यदिशामाथिनै प्रश्न उठेको छ ।  सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र पनि यो विषयले बहस सिर्जना गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा मौन रहे पनि अन्य केन्द्रीय नेताहरू प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर रुष्ट बनेका छन् ।

८. सेयर बजार

६ दिन लगातार बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव तथा नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेलविरुद्ध अदातलमा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा मोरङ अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमित दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

१०. प्रचण्ड–नेपाल भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । दुई नेताबिच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप