शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

बीमा प्राधिकरणका अध्यक्षको चासो, ‘जीवन बीमामा सरेन्डर बढ्नुको जिम्मेवार को ?’

निजी क्षेत्र, बीमक र प्राधिकरणबिच गरमागरम सवालजवाफ जवाफ
बिहीबार, २५ पुस २०८१, १८ : १०
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले जीवन बीमामा बढ्दै गएको सरेन्डरप्रति चासो व्यक्त गरेका छन् । बिहीबार राजधानीमा आयोजित ‘सेकेन्ड नेशनल इन्स्योरेन्स डिस्कोर्स २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले बीमामा सरेन्डर बढ्नुमा जिम्मेवार को हो ? भन्दै प्रश्न गरेका हुन् । उनले बढ्दो सरेन्डरको अवस्थालाई समाधान गर्न यसको कारण पहिल्याउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए । 

उनले तथ्यांकमा बीमामा अझै पनि जनचेतनाको कमी भएको भन्दै बीमा कम्पनीले आवश्यक चेतना फैलाउन नसकेको बताए । 

कार्यक्रममा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सहभागी थिए । कार्यक्रममा महासंघका अध्यक्ष ढकालले बीमा क्षेत्रमा अहिलेको समस्या लागत धेरै भएको तथा दाबी भुक्तानी पाउन गाह्रो हुने अवस्था रहेको बताएका थिए । 

त्यस्तै, परिसंघका अध्यक्ष राजेश अग्रवालले आयोजनामा महँगो ट्यारिफ बीमाको प्रावधानका कारण लागत बढेको गुनासो गरेका थिए । उनले विश्व बजार ट्यारिफबाट नन ट्यारिफमा गइरहेको अवस्थामा नेपाल उल्टो बाटो हिँडेको भन्दै गुनासो समेत गरेका थिए । उनले नियमक निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेका संस्थाको मात्रै संरक्षण गर्ने गरेको आरोप समेत उनले लगाए । 

जवाफमा उनले बीमा प्रिमियम महँगो भएको र लागत बढेको कुरा अस्वीकार गरे । नेपालको अर्थतन्त्रको हिसाबले अहिलेको बीमा प्रिमियम स्वभाविक नै भएको उनको भनाइ थियो । बीमा कम्पनीले लागत बढाएको भन्ने विषयमा उनले बीमा कम्पनीले क्षतिमा गरेको सहयोगलाई समेत विचार गर्न आग्रह गरे । 

बीमामा भुक्तानी नपाउने समस्या रहेको भने उनको स्वीकारोक्ति थियो । यस्तो समस्या समाधान गरेर बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्नेमा दाहालको जोड थियो । 

कार्यक्रममा नेपाल जीवन बीमा संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पोखरेलले बीमा क्षेत्रले संकलन गरेको पुँजीको ब्याज निकै कम भएको भन्दै बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार गरिदिन प्राधिकरणसँग माग गरेका थिए । उनले आफूहरुले गाउँ गाउँको रकमलाई ल्याएर पुँजी परिचालन गरेको भन्दै बैंकमा गर्ने लगानीमा संस्थागत लगानीकर्ता भनेर फरक व्यवहार गर्ने गरेको उल्लेख गरे । भारतमा बीमा क्षेत्रको ब्याजदर २ प्रतिशत विन्दुले बढी दिने गरेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पनि यस्तो सुविधा प्राप्त गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले नेपालमा बीमा गर्नेले धेरै जोखिम नेपालमै राख्ने गरेको भन्दै तत्काल विदेशी मुद्रा बचाउने निहुँमा भोलिको जोखिमलाई नजरअन्दाज गर्न नहुने उल्लेख गरे । उनले जोखिमलाई जति धेरै बाँडफाँट गर्न सक्यो उति दाबी भुक्तानी सहज हुने उल्लेख गरे । 

प्राधिकरणका अध्यक्ष दाहालले बीमा कम्पनीको लगानीको दायरा विस्तार गर्ने कुरामा आफू सकारात्मक भएको भन्दै यसको लागि लगानी गर्ने क्षेत्र र त्यो क्षेत्रमा जोखिम नहुने विश्वसनीय आधार लिएर आउन बीमकहरुलाई आग्रह गरे । सरकारले अहिले ल्याएको वैकल्पिक वित्तसम्बन्धी व्यवस्थामा बीमा क्षेत्रको लगानीका प्राधिकरणको अध्यक्षका हैसियतले आफूले सक्दो प्रयास गरिरहेको उनको भनाइ थियो । 

दाहालले बीमा कम्पनीले अहिले प्रस्तुत गरेको बीमाको पहुँचसम्बन्धी तथ्यांकको विश्वसनीयतामा शंका समेत व्यक्त गरे । ‘हामी अहिले बीमाको पहुँच ४४ प्रतिशत छ भन्छौं, जीवन बीमाको १७ प्रतिशत छ भनिन्छ । मेरै (प्राधिकरण) वेभसाइटमा त्यो पाइन्छ,’ दाहाल भन्छन्, ‘यसको विश्वसनीयता कति छ भन्ने चाहिँ बीमक साथीहरुलाई नै थाहा होला ।’

उनले बीमा प्राधिकरणमा आफ्नो छोटो अनुभवले बीमा क्षेत्र अहिले पनि वामे सर्दै गरेको देखेको बताए । उनले प्राधिकरणले बीमकमाथि नियमन मात्रै गर्न चाहेको भन्दै पछिल्लो समय बीमा कम्पनीको सीईओ नियुक्त गर्न प्राधिकरणसँग स्वीकृति लिनु नपर्नेगरी गरिएको व्यवस्था एउटा प्रयास भएको उल्लेख गरे ।

तत्कालीन अध्यक्ष सूर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि प्राधिकरण सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सहसचिव दाहाललाई मन्त्रालयले अध्यक्षको जिम्मेवारी दिएको छ । नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि उनले अध्यक्षको पूर्ण हैसियतमा काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप