शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्न माग

बिहीबार, २५ पुस २०८१, १५ : ४५
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरूले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोषिमा कार्कीले विश्वविद्यालयको लागि बनाइएको संरचनाले सुदूरपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने माग राखिन् । उनले सेती प्रादेशिक अस्पतालमा बिरामीको थेगी नसक्नु भीड भएको उल्लेख गर्दै विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने बताइन् । उनले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीन÷तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डमा उक्त अस्पतालले धान्न नसक्ने बताइन् । उनले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबिच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरू विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नको लागि निर्देशन दिन समितिसमक्ष माग गरिन् । उनले विधेयकहरू विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि भन्दै प्रश्न समेत गरिन् । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षामा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताए । उनले चिकित्सा शिक्षा अत्याधिक महँगो भएकाले सर्वसाधारण वञ्चित हुनुपरेको बताए । उनले विश्वविद्यालयका प्राध्यापकहरु र कर्मचारीहरू मुलुकको विकासका  लागि निःस्वार्थ भावनाले लाग्नुपर्ने समेत बताए । 

नेकपा (एमाले)का सांसद रघुजी पन्तले सबै विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्री राख्न नहुने धारणा राखे । उनले त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री राखेपनि अन्य विश्वविद्यालयको कुलपति प्रदेश प्रमुखलाई बनाउनुपर्ने माग राखे । उनले छिमेकी मुलुक भारतमा समेत सोही अभ्यास भइरहेको बताए । 

बैठकमा अधिकांश सांसदहरूले चिकित्सा शिक्षामा सर्वसाधारणको सहज पहुँच पुग्नेगरी विधेयक ल्याउनुपर्ने धारणा राखेको थिए । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो । सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप