शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट

आर्मी क्लबले बागमती प्रदेशलाई दियो २०४ रनको लक्ष्य

बिहीबार, २५ पुस २०८१, १५ : ००
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’को आफ्नो दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । प्रतियोगिताको दोस्रो दिन बिहीबार आर्मी क्लबले आठ विकेटको नोक्सानीमा एक सय २७ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको हो ।   

दोस्रो पालीमा आर्मी क्लबका लागि ओपनर तृतराज दासले २८ रनको योगदान गरे । उनले ३९ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । कप्तान विनोद भण्डारीले पनि २७ रन बनाए । उनले ३० बलमा पाँच चौका प्रहार गरे ।

ओपनर इमरान शेखले टोलीको खातामा १५ रन थपे । उनले ४० बलमा एक छक्का र एक चौका प्रहार गरे । कशुल मल्लले पनि टोलीका लागि अविजित २१ रनको योगदान गरे । उनले केवल १६ बलमा एक छक्का र दुई चौका हिर्काए ।

दोस्रो पालीमा आर्मी क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मी क्लबले अतिरिक्त रुपमा पनि २३ रन पायो । बागमती प्रदेशका बलर नन्दन यादवले चार विकेट लिए । प्रतिस जीसीले पनि तीन विकेट हात पारे । रिजन ढकालले एक विकेट लिए । 

त्यसअघि, दोस्रो दिन बिहीबार नै आर्मी क्लबले पहिलो पालीमा बागमती प्रदेशसँग ७६ रनको अग्रता हासिल गरेको थियो । बागमती प्रदेशले नौ विकेटको नोक्सानीमा दुई सय रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । बागमती प्रदेशले आफ्नो पहिलो पालीमा ५० ओभरमात्र ब्याटिङ गरेको थियो । 

बागमती प्रदेशले पाँच विकेटको नोक्सानीमा एक सय २४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । बागमती प्रदेशका लागि मध्यक्रमका ब्याट्सम्यान नन्दन यादवले अर्धशतकीय पाली खेलेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ५१ रन बनाए । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका नन्दनले ८० बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । बागमती प्रदेशका लागि शुभ कंसाकारले पनि ३४ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान शुभले ३५ बलको सामना गरी एक छक्का दुई चौका हिर्काए । 

विकेटकिपर ब्याट्सम्यान उत्तम मगरले पनि टोलीको खातामा २८ रन थपे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तमले ३९ बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे । ओपनर रित गौतमले २१ रन बटुले । उनले १७ बलमा पाँच चौका प्रहार गरे । 

अर्का ओपनर आशुतोष घिरैया ११ रनमै पेभेलियन फर्किए । विपिन आचार्यले पनि २० रन बटुले । उनी अघिल्लो दिन एक रनमा अविजित थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विपिनले ६४ बलको सामना गरी तीन चौका पनि हिर्काए । 

कप्तान सन्दीप लामिछाने ९ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भए । प्रतिस जीसीले पनि १६ बलमा एक चौकाको मद्दतले ११ रन बटुले । आर्मी क्लबका बलर आकाश चन्दले तीन विकेट लिए । सोमपाल कामी, साहब आलम र पवन कार्कीले पनि दुई–दुई विकेट हात पारे । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि सात रन पायो । 

त्यसअघि, विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो पालीमा दुई सय ७६ रन बनाएको थियो । आर्मीले ६० ओभरमा पाँच विकेटको नोक्सानीमा दुई सय ७६ रन बनाएको हो । प्रतियोगितामा कुनै पनि टोलीले ६० ओभर ब्याटिङ गरेपछि अनिवार्य रुपमा पाली समाप्तिको घोषणा गर्नु पर्ने नियम रहेको छ । 

जारी जय ट्रफीमा कुनै पनि टोलीले एक पालीमा बनाएको यो सर्वाधिक रन पनि हो । यसअघि जारी जय ट्रफीमा एक पालीमा सर्वाधिक दुई सय ११ रन बनेको थियो । त्यो रन आफ्नो अघिल्लो खेलमा मधेस प्रदेशले बागमती प्रदेशविरुद्ध बनाएको थियो । 

जनकपुरमा जारी बागमती प्रदेशविरुद्धको खेलमा आर्मीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । जारी प्रतियोगिताको एउटै पालीमा दुई ब्याट्सम्यानले अर्धशतक बनाएको यो पहिलो पटक हो । ओपनर ब्याट्सम्यान इमरान शेखले टोलीका लागि ७२ रनको योगदान गरे । 

१९ वर्षीय इमरानले एक सय चार बलमा ११ चौका प्रहार गरे । इमरानले अर्धशतक भने ७६ बलमा आठ चौकाको मद्दतले पुरा गरेका थिए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबका लागि इमरान शेख र तृतराज दासले ओपनिङ विकेटमा एक सय तीन रनको साझेदारी गरेका थिए । 

२२ वर्षीय तृतराज ४४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ७८ बलको सामना गरी ६ चौका पनि हिर्काए । अर्धशतकतर्फ अगाडि बढिरहेका तृतराजलाई २३.२ ओभरमा बागमती प्रदेशका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने एलबीडब्लूको धरापमा पारेका थिए । 

विकेटकिपर ब्याट्सम्यान इमरान शेख र तृतराजबिच भएको साझेदारी जारी जय ट्रफीमा कुनै विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो । आर्मी क्लबका लागि बसिर अहमदले पनि अविजित ५३ रनको योगदान गरे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका २१ वर्षीय बसिर अहमदले ६४ बलको सामना गरी आठ चौका पनि हिर्काए । सातौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले पनि टोलीको खातामा अविजित ३५ रन थपेका थिए । उनले ४३ बलमा एक छक्का र चार चौका हिर्काए ।

तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि टोलीको खातामा ३२ रन थपे । उनले ५१ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारीले भने खातासम्म खोल्न सकेनन् ।  

सोमपाल कामीले सात रन जोडे । बागमती प्रदेशका बलर विपिन आचार्यले तीन विकेट लिए । सन्दीप लामिछानेले पनि दुई विकेट हात पारे । आर्मी क्लबले अतिरिक्त रुपमा पनि ३३ रन पायो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले पाएको यो नै सर्वाधिक अतिरिक्त रन पनि हो ।

प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अंकसहित बागमती प्रदेश पहिलो, समान अंक जोडेको मधेस प्रदेश दोस्रो र समान अंक हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अंकसहित चौथो स्थानमा छ । यसअघिको दुबै खेल बराबरीमा सकिए पनि बोनस अंकका कारण आर्मी चौथो स्थानमा रहेको हो ।

नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । 

फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । 

जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेस प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप