शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

देउवामाथि माधव नेपालको आरोप– कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजियो

बिहीबार, २५ पुस २०८१, १४ : २५
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् । 

अध्यक्ष नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए । उनले छिमेकी जिल्लाहरू बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए । उनले उदयपुर र डडेल्धुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे । 

अध्यक्ष नेपालले आफ्नो जिल्लामा पनि आफूले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए । विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उनले बताए । 

उनले भने, ‘एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरु बनाउँछौँ । यो बिल्डिङ नबनाई नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भएपनि । यो अर्बौंअर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरू ठाउँमा पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरू हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ?’ 

अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठुला बिल्डिङहरु किन बनाएको भन्दै प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप