पुलिस क्लबसँग इनिङ्स अन्तरले पराजित भयो मधेस प्रदेश
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को आफ्नो दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सजिलो जित हात पारेको छ । पुलिस क्लबले मधेस प्रदेशलाई एक इनिङ्स र ३५ रनको फराकिलो अन्तरले हराएको हो ।
वीरगञ्जमा सम्पन्न प्रतियोगिताको दोस्रो दिन बिहीबार मधेस प्रदेश आफ्नो दोस्रो पालीमा केवल ९४ रन बनाउँदै अलआउट भएपछि पुलिस क्लबले सफलता हात पारेको हो । दोस्रो पालीमा मधेस प्रदेशका ब्याट्सम्यानहरू ३२.२ ओभरमात्र क्रिजमा टिक्न सके । जारी जय ट्रफीमा स्पष्ट नतिजा निस्किएको यो पहिलो खेल हो ।
दोस्रो पालीमा मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर मयान यादवले २२ रन बनाए । उनले ४५ बलमा दुई चौका पनि हिर्काए । मध्य क्रमका ब्याट्सम्यान विशाल पटेलले सर्वाधिक २७ रन बनाए । उनले ३९ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।
विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्तले टोलीको खातामा १७ रन थपे । उनले ४३ बलमा दुई चौका प्रहार गरे । मधेस प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो पालीमा पुलिस क्लबका बलर कुशल भुर्तेलले पाँच विकेट लिए ।
कुशल भुर्तेलले तीनवटा विकेट त एउटै ओभरमा लिएका थिए । गुलसन झाले तीन विकेट हात पारे । ललित राजवंशले पनि दुई विकेट लिएका थिए । मधेस प्रदेशले दोस्रो पालीमा अतिरिक्त रूपमा १० रन पाएको थियो ।
त्यसअघि, पुलिस क्लबले पहिलो पालीमा मधेस प्रदेशसँग एक सय २९ रनको अग्रता हासिल गरेको थियो । प्रतियोगिताको दोस्रो दिन बिहीबार नै पुलिस क्लबले चार विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा ग¥यो । पहिलो पालीमा पुलिस क्लबका ब्याट्सम्यानहरूले ५९ ओभर ब्याटिङ गरेका थिए ।
पुलिस क्लबले तीन विकेटको नोक्सानीमा एक सय ७४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६३ रनको योगदान गरे । उनले ६८ बलको सामना गरी १० चौका पनि हिर्काए ।
अर्का ओपनर दिलीप नाथले पनि ४० रनको योगदान गरे । उनले ७९ बलको सामना गरी चार चौका हिर्काए । कुशल र दिलीपले ओपनिङ विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । कप्तान आरिफ शेख ४० रनमा अविजित रहे ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफले ८१ बलको सामना गरी चार चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठ ३५ रन बनाउँदै आउट भए । उनले ४९ बलको सामना गरी पाँच चौका प्रहार गरे ।
यसैगरी, अर्जुन साउदले टोलीको खातामा २२ रन थपे । ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिनुअघि उनले ३० बलमा चार चौका हिर्काए । शंकर रानाले पनि टोलीका लागि अविजित ३१ रनको योगदान गरे । सातौँ नम्बरका ब्याट्सम्यान शंकरले ३३ बलमा तीन छक्का र एक चौका हिर्काए ।
गुलसन झा भने १४ बलमा तीन छक्काको मद्दतले २० रन बनाउदै आउट भए । मधेस प्रदेशका बलर हरिशंकर साहले दुई विकेट लिए । अभिषेक तिवारी र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे । पुलिस क्लबले अतिरिक्त रूपमा पनि सात रन पायो ।
त्यसअघि, मधेस प्रदेश पहिलो पालीमा केवल एक सय २९ रन बनाउँदै अलआउट भएको थियो । मधेस प्रदेशका ब्याट्सम्यानहरू ४२.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । वीरगञ्जमा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेस प्रदेशका लागि ओपनर ब्याट्सम्यान मयान यादवले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
मयानले ५९ रन बनाएका थिए । मयानले एक सय दुई बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । १८ वर्षीय मयानले ७९ बलमा दुई छक्का र चार चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले अघिल्लो खेलमा पनि शतक बनाएका थिए । उनी जारी जय ट्रफीमा शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । मयानले बागमती प्रदेशविरुद्धको खेलमा एक सय ६ रन बनाएका थिए ।
पुलिस क्लबविरुद्धको खेलमा मधेस प्रदेशका लागि नीरज यादवले पनि २९ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नीरजले ३४ बलमा ६ चौका पनि हिर्काए । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित १७ रन थपे ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका अभिषेकले २९ बलको सामना गरी चार चौका हिर्काए । मधेस प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यानसमेत रहेका कप्तान हरिशंकर साह नौ रन बनाउँदै आउट भएका थिए ।
कप्तान हरिशंकरले १८ बलको सामना गरी दुई चौका पनि हिर्काए । विशाल पटेल ६ रन बनाउँदै आउट भए भने साहिल पटेलले खातासम्म खोल्न सकेनन् । राहुल मण्डल एक र विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त दुई रन बनाउँदै आउट भए ।
रुपेश सिंह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । रञ्जित कुमार पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अफरुद्दिन रैन शून्य रनमै आउट भए । मधेस प्रदेशले अतिरिक्त रूपमा पनि पाँच रन पाएको थियो ।
पुलिस क्लबका बलर गुलसन झाले पाँच विकेट लिए । उनले १३ ओभरमा चार मेडन राख्दै ४० रन खर्चिए । कुशल भुर्तेलले पनि दुई विकेट हात पारे । ललित राजवंशी र श्रवण यादवले पनि एक–एक विकेट लिए ।
प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अङ्कसहित बागमती प्रदेश पहिलो, समान अङ्क जोडेको मधेस प्रदेश दोस्रो र समान अङ्क हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अङ्कसहित चौथो स्थानमा छ । यसअघिको दुवै खेल बराबरीमा सकिए पनि बोनस अङ्कका कारण आर्मी चौथो स्थानमा रहेको हो ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ ।
फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरू सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेस प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई