त्यो वैभवशाली बागमतीको यो हबिगत !
(माथिको पुरानो तस्बिर सुन्दरीघाट खण्डको हो, जसलाई लेखकले सामाजिक सञ्जालमा भेटेका हुन् ।)
काठमाडौँ उपत्यकालाई मध्य भागबाट चिर्दै बग्छ, बागमती नदी । यो शिवपुरीको बाघद्वारबाट निस्केर चोभारको गल्छी छिचोल्दै फराकिलो मैदान हुँदै कटवाल दहको भुमरीमा मडारिएर उपत्यकाबाट बाहिरिन्छ । काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)को सभ्यता र संस्कृतिहरूको आधारशिला हो बागमती ।
जसरी संसारभरि नै नदी किनारमा मानव सभ्यता र संस्कृतिको विकास भएको छ, त्यसरी नै बागमती किनारमा पनि एक खालको सभ्यता र संस्कृति विकास भयो । खासगरी यहाँको नेवा संस्कृतिलाई विश्वमै विशेष संस्कृतिका रूपमा हेरिन्छ ।
(पहिले र अहिले सुन्दरीघाट क्षेत्र)
सामाजिक सञ्जालमा बागमती खोलाको एउटा पुरानो सुन्दर फोटो भेटियो । त्यो सुन्दरीघाट खण्डको फोटोले मेरो स्मृति ताजा बनायो । जहाँ मेरा बाल्यकाल र किशोर अवस्थाका समय बितेका छन् । त्यही बागमती खण्डसँग मेरो आत्मीयता, गहिरो प्रेम र अगाध आस्था पनि छ । चोभारको चक्रतीर्थ, पदमतीर्थ, नख्खुको जयतीर्थ र सानेपाको राजतीर्थबिच पर्ने सुन्दरीघाट वरिपरिको क्षेत्रमा म हुर्केको हुँ । त्यो फैलिएको फराकिलो खोला बगरमा गोठालो बनेर गाई चराई हिँडेको स्मृतिमा ताजै छ ।
बागमतीलाई हामी चाहिएको थिएन, ऊ हुँदा हामी त्यहाँ भयौँ । हामीलाई ऊ चाहिएको थियो । ऊ हाम्रो आवश्यकता थियो । ऊ हाम्रो अस्तित्वको मूलाधार थियो र त जीवन्त संस्कृतिको सिर्जना गरिदियो ।
जेठमा उखरमाउलो गर्मी हुन्थ्यो । बागमतीमा सङ्लो पानी अविरल बगिरहन्थ्यो । हामी निर्वस्त्र चोपलिन्थ्यौँ, पखालिन्थ्यौँ । खोलामा पौडिने क्रममा अलि परसम्म बग्थ्यौँ, दुई–चार घुड्की पानी खान्थ्यौँ । हाम्रा लागि त्यो बागमती अहिलेको स्विमिङ पुलभन्दा अद्वितीय थियो । दुई हातका अञ्जुलीले पानी उठाउँदै घुट्क्याएर प्यास मेटाएको अनुभव छ । खोलाको पिँधमा सेता बालुवा देखिन्थे, सिक्का टल्कन्थे । त्यही सिक्का टिपेर खोपी खेलेको याद छ । सङ्लो पानीमा लहरै दौडिने असला, बुदुना माछाका हुल छेकी पिर्रेघाँस घोलेर माछा मारेको संस्मरण छ । खोला किनारमा गुइँठा बल्दै माछा पोलेर खाएको स्वाद जिब्रोले अहिलेसम्म खोजिरहन्छ । बालुवाको बगरमा भकुण्डो खेल्दा लागेको थकाइ अझै महसुस हुन्छ । गोठाले सखाहरूसँग प्रतिस्पर्धा गर्दै घाटका भकारीबाट खोलामा कुदेको, बाढीको पानीमा हेलिएको, शव (लास) सुताउन बनाइएको ब्रह्मनालमा चिप्लेटी खेलेको दृश्य आँखाअगाडि अझै नाचिरहन्छ । श्रद्धालुहरूले गङ्गामा चढाएको पैसा टिपेको सम्झना छ । त्यो बागमती स्वच्छ, कञ्चन, आत्मीय र सहृदयी थियो । त्यसैले त्योचाहिँ मेरो बागमती थियो ।
म जन्मदा बागमती सफा थियो, मेरा पिता–पितामहका समयमा पनि सफा नै हुँदो हो । सुन्दरीघाट हाम्रो क्षेत्रको शवदाह र मृत्यु संस्कार गर्ने घाट हो । मेरा पुर्खाका धेरै पुस्ताले बागमती तटको यही घाटमार्फत पञ्चतत्त्वमा विलीन भएर गए । शवदाह पूर्वलासलाई नागको आसन भएको ब्रह्मनालमा सुताई खुट्टाले खोलाको पानी छुवाउनुपर्ने चलन थियो, परम्परा बन्यो । पानीमा छर्लङ्ग देखिने सफा बालुवामुनि अस्तु विसर्जन गर्नुपथ्र्यो । किरियापुत्री र मलामीका लागि गंगास्नानको अवसर हुन्थ्यो ।
(खोला किनाराको अतिक्रमण निर्माण सामग्री र वस्तुभाउको बिगबिगी)
हाम्रा पुर्खा बागमतीको घाटप्रति आस्थावान् थिए । पवित्रतामा नतमस्तक हुन्थे । त्यस्ता संस्कार र संंस्कृति पुर्खाबाट हामीले पनि सिक्यौँ । पशुपतिको आर्यघाट, भष्मेश्वरघाट, गोकर्णको हत्यामोचनघाट, सिनामङ्गलको प्रयागघाट, विष्णुमती दोभानको जम्बुद्वीप (घाट), कालमोचनघाट, सुन्दरीघाट लगायत धेरै मसानघाट आजपर्यन्त जीवन्त छ । खोला किनारमा लहरै बनाइएका यी घाटमा दाहसंस्कार हुन्थ्यो र गरिँदै छ । त्यसैले यो बागमती आफ्नै अन्त्येष्टि हुने घाटहरूको संरक्षण गर्दै मृत्युवरण गरेका हाम्रा पिता–पुर्खाको पनि हो । यो सम्पदा पुर्खाद्वारा हाम्रो पुस्तामा हस्तान्तरित सांस्कृतिक धरोहर हो । अहिले घाटहरूको अस्तित्व संकटमा छ । धेरै घाट अतिक्रमणले थला परेका छन् । कहीँ घाटमाथि बाटो बनेको छ, कहीँ पानीलाई घाटबाट अलग्याइएको छ । कैयौँ ब्रह्मनाल फुटाइएका छन्, कति माटोमुनि दबाइएका छन्, पुरिएका छन् । एकाध भने सडक पेटीमा असरल्ल छन् । श्राद्ध गर्न बनाइएका भकारीको पनि कन्तबिजोग छ । अतिक्रमणले यी धरोहर लोपोन्मुख अवस्थामा छन् ।
कटवालदहभन्दा माथिको अवस्था हेर्दा १३ वटा ठुला–साना खोलानाला मिलेर बागमतीले पूर्णता पाएको देखिन्छ । यहाँ श्रद्धालुले बागमतीलाई गङ्गा र यहाँको पानीलाई गंगाजल मान्छन् । उपत्यकावासीका आस्था अहिले पनि कायमै छन् । कटवाल दहसम्मको बागमती तटमा पर्ने कैयौँ मठ–मन्दिरसँग म भलीभाँती परिचित छु । यहाँका १२ स्थानमा दोभान र त्रिवेणी छन् । खोला आसपासमा पुण्य प्राप्तिका लागि दर्शनयोग्य अनेक तीर्थ छन् । त्यहाँ म घुमेको छु र स्नानमा सहभागी पनि भएको छु ।
मेरो स्कुलले जीवनताका (२०३८/४० सालतिर) मलाई मेरी आमाले सुनाए अनुसार, उहाँहरूले बागमती तीर्थयात्रा भनेर कटवालदहदेखि वागद्वारसम्म (४३ किलोमिटर) करिब दुईहप्ते तीर्थयात्रा गर्नुहुन्थ्यो । उक्त यात्रामा लगभग डेढ सयभन्दा बढी बागमतीका तीर्थको दर्शन गरिन्थ्यो ।
पुराणमा पनि उल्लेख भए अनुुसार ती खोला आसपासका कुवा, मूल, पोखरी, कुण्ड, मन्दिर, संगम लगायत बागमती तीर्थयात्रामा १६५ वटा दर्शनयोग्य तीर्थस्थल थिए । अहिले ती अधिकांश तीर्थ लोप भइसके, बाँकी रहेका केहीको पनि संरक्षण हुन सकिरहेको छैन ।
मेरो स्कुलले जीवनताका (२०३८/४० सालतिर) मलाई मेरी आमाले सुनाए अनुसार, उहाँहरूले बागमती तीर्थयात्रा भनेर कटवाल दहदेखि वागद्वारसम्म (४३ किलोमिटर) करिब दुईहप्ते तीर्थयात्रा गर्नुहुन्थ्यो । उक्त यात्रामा लगभग डेढ सयभन्दा बढी बागमतीका तीर्थको दर्शन गरिन्थ्यो ।
मैले पुरानै स्थानबाट एउटा उस्तै फोटो खिचेँ । त्यसमा बागमती अत्याशलाग्दो र विभत्स थियोे । हाम्रो सभ्यता र संस्कृतिको स्रोत बागमती अचेत र निरीह प्रतीत हुन्छ ।
बागमतीमा अहिले पानीभन्दा बढी ढल बग्छ, कालो लेदो बग्छ । प्लास्टिक र फोहोरले छपक्कै ढाकेको छ । खोला होइन, धाप भएको छ । छोइसक्नु छैन, दुर्गन्ध परपरसम्म फैलिएको छ । खोलासँग मान्छेको सम्बन्धविच्छेद भएको छ । यहाँ न पहिले जसरी पूजा, स्नान, देवकार्य, पितृकार्य हुन्छन्, उदेकलाग्दो बागमती ढलमती भएको छ ।
बागमती केवल मान्छेका लागि मात्र होइन, अन्य जीवका लागि पनि हो । त्यो पशुपन्छीको पिउने पानीको स्रोत र जलचरको आश्रय स्थल हो । अहिले बागमती खोलामा जलजन्य जैविक विविधताको अंश पनि भेटिँदैन, त्यो पूर्णतः नष्ट भइसकेको छ । यसले निम्त्याउने पर्यावरणीय प्रतिकूलताको लेखाजोखा गर्न नै डर लाग्छ । अति भयो, ध्वस्त पार्नुको पनि सीमा हुन्छ ।
पहिले बागमती फराकिलो थियो । यहाँ नागबेली हुँदै पानी बग्थ्यो । उपत्यकाको जनघनत्व बढेपछि बागमतीको क्षमताभन्दा बढी दोहन भयो, पानीको बहाव घट्दै गयो । निर्माणका लागि बालुवा झिक्न बागमती कोतर्न सुरु भयो । जलमार्ग गहिरिँदै गयो । करिडोरको आशय र अर्थ नबुझ्ने अबुझहरूले बागमती बिथोले । भूमाफियाले बलौटे बगरलाई चोरबाटो हुँदै सुविधायुक्त सहरी घडेरीमा रूपान्तरित गरे । अतिक्रमण तीव्र भयो । खोलाको प्राकृतिक सीमालाई ठाडो पर्खालले खुम्च्याइयो । किनारामा फराकिला सडक बन्न थाले । कैयौँ ठाउँ सुकुम्बासीले ओगटे । कहीँ पार्क बने । बागमतीलाई पर्याप्त ठाउँ भएन । साँघुरो पर्खालबिच बग्ने बागमती खोला हुन सकेन, त्यो ढल भयो । मापदण्ड अनुसार बागमती बचाउनबाट सरकार चुक्यो । अब बागमतीको अपनत्व सरकारले लिएको पनि देखिएन ।
(खोलाबाट अलग्याइएको सुन्दरीघाट। जग्गा अतिक्रमणको कारण अस्तित्व मेटिने अवस्थामा)
२०५२ मा सुरु भएको अधिकारसम्पन्न बागमती ढल निर्माण सुधार आयोजनालाई २०६५ मा पुनः अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाइयो तर बागमती स्वच्छ र सफा राख्ने काम हुन सकेन । ढलको प्रत्यक्ष विसर्जन भइरह्यो । यो समिति बजेट र नियुक्ति मिलाउनमै ठिक्क छ ।
२०६६ सालको ‘बागमती कार्ययोजना’ लागु गर्दा पनि समस्या ज्युँका त्युँ छन् । २०७० जेठमा सुरु गरेको बागमती सफाइ महाअभियान पहल पनि सार्थक भएको छैन । त्यसमा राजनीति हुन थालिसक्यो । विश्वका धेरै देशका मुख्य सहरको बिचमा बहने नदी–खोलाहरूको सुन्दरता र उपयोग मैले देखेको छु, भोगेको छु । नेपालका लागि त्यो सिक्नुपर्ने असल अभ्यास हो । राम्रो कुरा सिक्ने जाँगर सरकारलाई भएन ।
कटवाल दहसम्मको बागमती तटमा पर्ने कैयौँ मठ–मन्दिरसँग म भलीभाँती परिचित छु । यहाँका १२ स्थानमा दोभान र त्रिवेणी छन् । खोला आसपासमा पुण्य प्राप्तिका लागि दर्शनयोग्य अनेक तीर्थ छन् । त्यहाँ म घुमेको छु र स्नानमा सहभागी पनि भएको छु ।
सर्वोच्च अदालतले २०८० पुस ३० मा सुनाएको फैसलाले बागमती लगायत खोला किनाराका २० मिटर क्षेत्रलाई संरचना निर्माण निषेधित बनाएको थियो । त्यो फैसला बागमतीको पक्षमा थियो तर सरकार हाँक्ने दलहरूले फैसलाको विरोध गरे । उनीहरूमा आफ्ना भोट बैंक प्रभावित हुने स्वाभाविक डर पैदा भयो । सत्तारुढ र विपक्षी दलहरूले संयुक्त रूपमा बागमतीको अधिकार खोसे । उसो त दलहरूले पनि बागमतीको अपनत्व लिएनन् । बागमती झन्झन् टुहुरो हुँदै गयो ।
बागमतीलाई हामी चाहिएको थिएन, ऊ हुँदा हामी त्यहाँ भयौँ । हामीलाई ऊ चाहिएको थियो । ऊ हाम्रो आवश्यकता थियो । ऊ हाम्रो अस्तित्वको मूलाधार थियो र त जीवन्त संस्कृतिको सिर्जना गरिदियो । बागमती नरहँदा मेरो संस्कृति, पहिचान, म र हामी नरहने सम्भावना रहन्छ कि भन्ने सवालमा चिन्ता लाग्छ । अहिले केवल बागमतीलाई लुछ्ने, खोतल्ने र चिथोर्ने काम हुँदै छ । सबैले यसबाट लिन र दोहन मात्र गर्न खोज्दै छन् । प्रचलित शब्दमा भन्दा निर्ममतापूर्वक अतिक्रमण हुँदै छ । तर म मेरो बागमतीको साथमा छु, अतिक्रमणविरुद्ध आवाज उठाइरहेको छु ।
(सडक पेटीमा पुर्याइएका ब्रह्मनाल र भकारीको अवशेष)
यसै वर्ष असोज १२ गते बागमतीमा आएको बाढी केवल प्रकोप थिएन, अतिक्रमणविरुद्ध बागमतीको प्रत्याक्रमण थियो, दोहनको प्रतिशोध थियो । बागमतीको धैर्य टुटेको हो । त्यो भविष्यका लागि दिएको चेतावनी पनि थियो । विपत् बिर्सेर पुनः बागमती नै कोपर्नुलाई पुरुषार्थ सम्झ्यौँ भने फेरि हाम्रा खुसी क्षणभङ्गुर हुनेछन्, विनाश टार्न सकिनेछैन । नत्र हामीलाई सावधान कसले गराउने र भविष्यमा आइपर्ने हाम्रो विनाश कसले रोकिदिने ?
अब बागमतीलाई पूर्ववत पहिचान दिँदै प्राकृतिक बहाव क्षेत्रभित्रै वहन दिनुपर्छ । सामाजिक, सांस्कृतिक, धार्मिक र वातावरणका क्षेत्रमा काम गर्ने वा यससँग सम्बन्धित वा सरोकारवाला पक्षहरूको एकीकृत सहकार्यले मात्र बागमतीको अस्तित्व फर्कन सक्छ । कोसिस गरौँ । सरोकारवालाहरू एकजुट भई नुतन योजना र प्रतिबद्धतासहित जाग्नुको विकल्प छैन । हामी सबै आशावादी हुनैपर्छ, त्यसैले हामी सबैले बागमती खोलाको अपन्नत्व लिनैपर्छ । सोचौँ है, अब यो बागमतीलाई सबैले आफ्नो बनाऔँ ।