शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

ट्रम्पको शपथ ग्रहण समारोहका लागि चन्दा दिने होडबाजी, अहिलेसम्म उठिसक्यो १७ करोड डलर

बिहीबार, २५ पुस २०८१, १२ : ४९
बिहीबार, २५ पुस २०८१

वासिङ्टन डीसी । जनवरी २० मा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण हुँदै छ । तीव्र गतिमा सो समारोहको तयारी भइरहेको छ । ठूल्ठूला अर्बपति, व्यवसायी र प्रविधि विज्ञहरू यस कार्यक्रममा भाग लिँदै छन् । यिनीहरूले कार्यक्रमका लागि आर्थिक सहयोग पनि दिइरहेका छन् ।

समारोहको लागि पैसा दान दिने होडबाजी चलिरहेको छ । एक रिपोर्टका अनुसार ट्रम्पको शपथ ग्रहण समारोहको आयोजक समितिले अहिलेसम्म १७ करोड डलर बराबरको चन्दा प्राप्त गरिसकेको छ । यो आफैँमा एउटा रेकर्ड हो । अमेरिकाका ठूल्ठूला व्यापारी र सेलिब्रेटीहरूले दानबापत ठुलाे रकम चेक दिइरहेका छन् ।

समारोह हुँदा सम्म चन्दाको रकम २० करोड डलर पुग्ने आशा गरिएको छ । शपथ ग्रहण कार्यक्रमको आयोजक समितिले चन्दाको रकमबाट समाचारमा गरिएको दाबीमा कुनै प्रतिक्रिया दिएका छैनन् । चन्दामा उठेको रकम कसरी खर्च गरिन्छ भन्नेबारे पनि कुनै जानकारी दिइएको छैन ।

बाँकी रकम ट्रम्पको राष्ट्रपति पुस्तकालयमा प्रयोग

अमेरिकी नियम अनुसार व्यक्तिगत दानबाट सङ्कलन गरिएको पैसा सामान्यतया शपथ ग्रहण समारोहमा प्रयोग गरिन्छ । यसमा शपथ ग्रहण समारोह, परेड र भव्य उद्घाटन समारोहसँग सम्बन्धित लागतहरू समावेश छन् । समारोहपछि बाँकी रहेको पैसा आयोजक समितिले ट्रम्प प्रेसिडेन्सियल लाइब्रेरीको लागि प्रयोग गर्ने बताइएको छ ।

बाइडेनको पालामा उठेको थियो ६ करोड २० लाख डलर

अमेरिकाको निर्वाचन आयोगको रेकर्डअनुसार ट्रम्पको शपथ ग्रहण समारोहको आयोजक समितिले अहिलेसम्मकै सबैभन्दा धेरै चन्दा सङ्कलन गरेको छ । यो चार वर्षअघि राष्ट्रपति जो बाइडेनले प्राप्त गरेको चन्दाको दोब्बरभन्दा बढी हो । बाइडेनले झन्डै ६ करोड २० लाख डलर बराबरको चन्दा पाएका थिए ।

सन् २०१६ मा ट्रम्पको पहिलो शपथ ग्रहण समारोहमा भने करिब १० करोड ७० लाख डलर बराबरको चन्दा उठेको थियो । यो त्यतिबेलाको कीर्तिमानी रकम थियो । तर ट्रम्पको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा उठेको रकमले सो रकेर्ड तोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप