‘माओवादीले एजेन्डा छाडेपछि मधेसमा कमजोर भएको हो’
माओवादी केन्द्रले लामो समयपछि मधेसी राष्ट्रिय मुक्ति मोर्चालाई सक्रिय गरेको छ । बर्खास्तीकै अवस्थामा रहेको मोर्चाले जनयुद्धको समयमा पार्टीभित्र मधेसका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उक्त मोर्चाको नेतृत्व लिन पार्टीभित्र मधेसी नेताबिच हानथाप हुन्थ्यो । तर, पार्टी शान्ति प्रक्रियामा आइसकेपछि बिस्तारै त्यसलाई निष्क्रिय बनाएको थियो । सक्रिय बनाउन मधेसी नेताले निकै प्रयास गरे पनि नेतृत्वले ध्यान दिएको थिएन ।
यसअघिको केन्द्रीय समिति बैठकले मातृका यादवलाई इन्चार्ज र जगत यादवलाई संयोजक बनाएर मोर्चालाई सक्रिय गरेको छ । विघटन किन भएको थियो ? पुनः किन पुनर्गठन गरी सक्रिय बनाएको हो ? यीलगायत विषयमा मोर्चाका संयोजक एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत यादवसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
- खारेजीको अवस्थामा पुगेको मधेसी राष्ट्रिय मुक्ति मोर्चालाई पुनः सक्रिय गराउनुपर्ने आवश्यकता किन पर्यो ?
मधेसमाथि रहेको विभेदलाई अन्त्य गर्न माओवादी जनयुद्धकै क्रममा मधेस राष्ट्रिय मुक्ति मोर्चा गठन भएको थियो । यो मोर्चाले मधेसमा मात्र होइन, देशभरमै आफ्नो पहिचान स्थापित गरेको थियो । यो मोर्चाबाट मात्र जनयुद्धको क्रममा १३ सय जनाले बलिदान दिएका छन् ।
मोर्चाले मधेसी जनताको हितमा, उत्पीडित जनताको पक्षमा आवाज उठाइरहेको थियो । मधेसमा माओवादीलाई बलियो बनाउने काम नै मोर्चाले गरेको थियो । मधेसमा माओवादीलाई यही मोर्चाकै माध्यमबाट चिनेको थियो । त्यो कुरा पार्टीभित्रै कतिपय मान्छेलाई पचेन ।
मधेसी जनताले पनि आफ्नो अधिकार पाओस्, आफ्नो पहिचान पाओस् भनी लड्ने मोर्चा पार्टीभित्रकै कतिपय नेतालाई मन परेको थिएन । माओवादी शान्ति प्रक्रियामा आएको केही दिनमै यसलाई निष्क्रिय बनाउने काम उनीहरूले गर्न थालेका थिए । मोर्चाको गतिविधिमाथि नै ब्रेक लगाइयो । त्यसैको नतिजा हो मधेसमा माओवादीले राम्रो नतिजा ल्याउन सकेन ।
मधेसमा माओवादीको संगठन बनाउन निकै प्रयासहरू भए । विभिन्न बैठकहरू बसे । नेताहरूले मधेस दौडाहा गरे । जे गर्दा पनि मधेसमा माओवादी नजागेपछि मात्र मोर्चाको सम्झना ती नेताहरूलाई आएको थियो । मधेसमा माओवादीलाई बलियो बनाउनु छ भने मोर्चा चाहिन्छ भनी निष्कर्षमा पुगेर नै यसअघिको केन्द्रीय समिति बैठकले मोर्चालाई पुनः सक्रिय गरेको हो । मातृका यादवलाई इन्चार्ज र मलाई संयोजकको जिम्मेवारी दिएर मोर्चालाई सक्रिय गरेपछि अहिले मधेसमा माओवादीको राम्रो हुँदै गइरहेको छ । मोर्चाले जिल्ला भेलाहरू गरेर संगठित गर्ने काम गरेको छ । अरू थप कार्यक्रमको तयारी चलिरहेको छ ।
- तपाईंले मोर्चाको गतिविधिमा ब्रेक लगाउने कुरा गर्नुभयो । त्यो पार्टीको शीर्ष नेतृत्वबाट भएको थियो कि कुनै गुट वा उपगुटबाट ?
मुख्य रूपमा हामीले देखाउने पार्टीलाई नै हो । माओवादीका अध्यक्ष प्रचण्ड मोर्चाप्रति सकारात्मक भए पनि शान्ति प्रक्रियामा आइसकेपछि मोर्चालाई किन ओझेलमा राख्यो ? त्यसको भूमिका र गतिविधिमा किन ब्रेक लगायो ? यो प्रश्न छ नै । यसको जवाफ पार्टीले नै दिनुपर्छ ।
मोर्चाप्रति माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक भए पनि उहाँ कसको प्रभावमा परेर मोर्चाको गतिविधि गर्न दिनुभएन ? भेलाहरू गर्न दिनुभएन ? त्यो प्रश्न अझै कायमै छ । हामीले मोर्चालाई सक्रिय बनाउन थुप्रै संघर्ष गर्यौँ । पार्टीमा थुप्रै पटक कुरा उठायौँ । माओवादी अध्यक्ष प्रचण्ड कन्भिन्स भएपछि यो पुनः संगठित रूपमा अगाडि बढेको छ ।
- प्रचण्डले कसको इसारामा मोर्चालाई ब्रेक लगाएको भन्ने लाग्छ ?
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि थुप्रै पार्टीसँग एकीकरण भयो । थुप्रै सानातिना पार्टी यसमा मिसिए । थुप्रै नेता यस पार्टीमा सहभागी भए । जुन पार्टी माओवादीमा आयो, जुन नेता आउनुभयो सेकन्ड लिडरसिपको रूपमा ती नेता र पार्टीलाई मधेस मन परेको थिएन । मधेसमा मोर्चा सक्रिय भएको उहाँहरूलाई मन परेको थिएन । पहाडी अहंकारवादको सोचले ग्रसित भएकाले मोर्चा, मधेसी जनता उहाँहरूलाई अपच भएको थियो ।
त्यही कारण उहाँहरूले प्रचण्डलाई पनि घेराबन्दी गरेर मोर्चाको गतिविधि हुन दिनुभएन । तर, हाम्रो संघर्ष जारी रहेको कारण प्रचण्ड आफैँ सकारात्मक भएपछि यसलाई पुनः जीवित गर्नुभएको छ र अहिले अगाडि बढेको छ ।
- मधेसमा अहिले जुन गुटको कुरा चलिरहेको छ त्यसमध्ये तपाईंको इसारा नारायणकाजी श्रेष्ठतिर त होइन ? उनले मोर्चालाई कमजोर गराएका हुन् र ?
एकदमै हो । अहिले पनि मधेसप्रति उहाँहरूको सोच सकारात्मक हुन सकेको छैन । तैपनि हामी आन्तरिक संघर्ष गर्दै छौँ । उहाँहरूलाई पनि मधेसको बारेमा बुझाउने प्रयासमा लागेका छौँ । जनयुद्धको पृष्ठभूमिबाट आउनुभएका कमरेडहरूमा त्यो समस्या छैन । उहाँहरूले मधेसलाई राम्रोसँग बुझ्नुभएको छ । मधेसका पीडा अनुभव पनि गर्नुभएको छ । तर, शान्ति प्रक्रियापछि पार्टीमा आएका कमरेडहरूले मधेसलाई बुझ्न सक्नुभएको छैन । त्यही भएर मोर्चालाई अगाडि बढाउन चुनौतीहरू देखिएका छन् ।
- तपाईंले भनेको गुटलाई मिलाउन सक्नुभएन भने मोर्चालाई कसरी चलाउनुहुन्छ ? मधेसमा कसरी संगठित गर्नुहुन्छ ? त्यसको बारेमा के सोचाइ छ ?
हामीले उहाँहरूलाई मिलाउनु भन्दा पनि उहाँहरूको सोच मधेस र मधेसी जनताप्रति के छ ? त्यो कुरा स्पष्ट हुनुपर्छ । हाम्रो पार्टीले पहिचान सहितको संघीयता भनेको छ । मधेसले पहिचान पाएको छ । तर, मधेसका आठ जिल्लाबाहेक अरू पनि मधेस छन् । अन्य जिल्लाहरू पनि छन् । त्यहाँका जनताले अझै पहिचान पाएको छैन ।
- हाम्रो पार्टीको एजेन्डा पहिचान सहितको संघीयता हो भने समग्र मधेस एक प्रदेश किन हुन सक्दैन ? हरेक मधेसीले पहिचानको अधिकार पाउनुपर्छ भनी पार्टी किन लाग्दैन ?
अहिले पनि मधेसी जनतामाथि विभेद छ । आम मधेसी जनताको भ्यालू यो देशमा समान छैन । मधेसमा दुई लाखमा एउटा सांसद हुने, पहाडबाट दुई हजारमा एउटा सांसद हुने । संसद्मा आइसकेपछि दुई लाखवाला सांसदको भ्यालू जति हुन्छ त्यति नै भ्यालू दुई हजारवाला सांसदको हुन्छ । यो विभेद हो कि होइन ?
यो विभेद हटाउन पनि पार्टीले संघर्ष गर्नुपर्छ । सबै जनताले समान रूपमा पहिचान र अधिकार पाउनुपर्छ । माओवादीका सबै नेता यसमा सहमत हुनुपर्छ । कुनै पनि जात, समुदाय, वर्गमाथि विभेद हुनुहुँदैन ।
- यो मोर्चाले मधेस प्रदेशमा मात्र काम गर्छ कि तराई/मधेसका २२ जिल्लामा ?
मोर्चाको एजेन्डा नै समग्र मधेस, एक प्रदेश बनाउने हो । मोर्चा मधेसका २२ वटै जिल्लालाई पहिचान सहितको एउटै प्रदेश बनाउने अभियानमा लागेको छ । पार्टीले अधिकारको लागि संघर्ष गर्न मोर्चालाई स्वायत्त छाडेको छ । मोर्चा आफ्नो अभियानमा अगाडि बढिसकेको छ ।
प्रमुख दुई सत्ताधारी दल कांग्रेस र एमालेले गर्ने भनेको संविधान संशोधनको विषयमा पनि आन्दोलन आरम्भ गरिसकेको छ । समानुपातिक निर्वाचन प्रणाली समाप्त गर्ने, थ्रेसहोल्ड बढाएर साना दलहरूलाई समाप्त गरेर दुई पार्टी सिस्टम जाने जुन षड्यन्त्रमा लागेको छ त्यसविरुद्ध मोर्चाले संघर्ष सुरु गरिसकेको छ । मधेसका तीन–चारवटा जिल्लामा खबरदारी सभाको आयोजना गरिसकेको छ । अरू जिल्लामा खबरदारीसभा गर्ने तयारी भइरहेको छ ।
- मधेसमा पछिल्लो समय माओवादी कमजोर भएको छ । अहिले आएर मोर्चा पुनर्गठन गर्दा अब कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मधेसको मुद्दा छाडेपछि, मधेसको मुद्दा गौण गरेपछि समाप्त हुने स्थिति आउँछ भनी माओवादी मधेसमा कमजोर हुनु पछिल्लो उदाहरण हो । मलाई यो भन्नमा कुनै झिझ्काहट छैन कि पछिल्लो समय माओवादीले मधेसका मुद्दा छाडिसकेको थियो । मधेसतिर कुनै ध्यान नै दिएको थिएन । मधेसी जनतामाथि भइरहेको विभेद र दमनमाथि बोल्न पनि पार्टीले छाडेको थियो ।
मधेसको अधिकार र पहिचानको बारेमा सुरुमा माओवादीले आवाज उठाएको कारण मधेसी जनताले यो अधिकार पाएको हो । मधेसी जनतामा जागरुकता आएको हो । जनयुद्धकालमा मोर्चाको आह्वानमा लाखौँ मधेसी जनताले माओवादीलाई सहयोग गरेका थिए । लाल मधेस भइसकेको थियो । त्यो क्रममा १३ सयभन्दा बढी मधेसीले सहादत दिएका थिए ।
जब–जब मधेसको मुद्दा छाड्यो त्यसपछि माओवादी कमजोर हुँदै गयो । मधेसलाई छाडेकै कारण मधेसी जनताले पनि माओवादीलाई छाडेको हो । तर, अब यो अवस्था रहने छैन । मधेसमा पुनः माओवादी सक्रिय भएको छ । मोर्चा सक्रिय भएको छ । अब मधेसमा पनि माओवादी पुरानै अवस्थामा फर्किनेछ । यसका लागि कामहरू भइरहेका छन् । पुनर्गठन तथा कार्यविभाजनका कामहरू भइरहेका छन् । केही दिनमै यसका परिणामहरू देख्नुहुन्छ ।
- तपाईंलाई माओवादीमा मधेस छाड्ने वा कमजोर हुनुको कारण के हो भन्ने लाग्छ ?
माओवादीले पछिल्लो समय मधेसमा जसलाई लिडरसिप दियो त्यो नेता नै मधेसप्रति सकारात्मक हुनुहुन्थेन । माओवादीले जसलाई मधेस सुम्पेको थियो त्यो नै सकारात्मक नभएपछि स्वाभाविक रूपमा कमजोर हुन्छ । अर्कोतिर माओवादी दलले नै मधेसको मुद्दा छाडेको थियो । यी दुइटा मुख्य कारण हो, जसले मधेसमा माओवादीलाई कमजोर बनाए ।
- मधेसमा माओवादीभित्र गुटबन्दी पनि देखियो । एउटा गुटको नेतृत्व तपाईंले पनि गर्नुभएको थियो । त्यो कमजोरी हो कि होइन ?
जहाँ विचार मिल्दैन त्यहाँ निश्चित रूपमा वैचारिक संघर्ष हुन्छ । गुटबन्दी हुन्छ । जुन कमरेडको मधेसप्रतिको सोच सकारात्मक छैन त्यसविरुद्ध अन्तरसंघर्ष हुनु स्वाभाविक हो । विचार नमिलेपछि दुइटा टिम, दुइटा समूह देखिन्छ । अब मधेसप्रतिको दृष्टिकोण स्पष्ट गरेको छ । अब ती सबै गुट, उपगुट आफैँ समाप्त भएर जान्छ ।
- माओवादीभित्र अहिले पनि मधेसको अवस्था, मधेसको विवाद कायमै छ । यो कति दिनसम्म रहन्छ ?
यो केन्द्रीय समिति बैठकपछि मधेसका सबै समस्या समाधान हुन्छ । मधेसको इन्चार्ज मातृका यादवलाई बनायो भने निश्चित रूपमा माओवादीको लहर आउँछ । ८४ को चुनावमा मधेसले माओवादीलाई पूर्ण बहुमत दिन्छ । माओवादीमा मातृका बिनाको मधेस अधुरो हुन्छ ।
- यो केन्द्रीय समिति बैठकले मधेसको बारेमा के निर्णय गरेको छ ?
यो बैठकले माघको पहिलो हप्तासम्म मधेसमा जिम्मेवारी बाँडफाँट हुन्छ । कार्यविभाजन हुन्छ भनेको छ । यो म्यान्डेट कार्यालय टिमले लिएको छ । कार्यालयले मधेसको समस्या समाधान हुने गरी चाँडै कार्यविभाजन गरेर पठाउँछ भनी हामीलाई विश्वास छ । फागुन १ गतेदेखि जनतासँग माओवादी मूल नाराका साथ हुलाकी राजमार्ग अभियान सञ्चालन हुने निर्णय भएको छ । यो अभियान सफल भएपछि मधेस माओवादीमय हुन्छ । त्यसको तयारीमा मोर्चा जुटिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ