आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को आफ्नो दोस्रो खेलमा विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग ७६ रनले पछाडि परे पनि बागमती प्रदेशले पाली समाप्तिको घोषणा गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन बिहीबार बागमती प्रदेशले नौ विकेटको नोक्सानीमा दुई सय रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको हो । बागमती प्रदेशले आफ्नो पहिलो पालीमा ५० ओभरमात्र ब्याटिङ गर्यो ।
बागमती प्रदेशले पाँच विकेटको नोक्सानीमा एक सय २४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । बागमती प्रदेशका लागि मध्यक्रमका ब्याट्सम्यान नन्दन यादवले अर्धशतकीय पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ५१ रन बनाए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका नन्दनले ८० बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । बागमती प्रदेशका लागि शुभ कंसाकारले पनि ३४ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान शुभले ३५ बलको सामना गरी एक छक्का दुई चौका हिर्काए ।
विकेटकिपर ब्याट्सम्यान उत्तम मगरले पनि टोलीको खातामा २८ रन थपे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तमले ३९ बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे । ओपनर रित गौतमले २१ रन बटुले । उनले १७ बलमा पाँच चौका प्रहार गरे ।
अर्का ओपनर आशुतोष घिरैया ११ रनमै पेभेलियन फर्किए । विपिन आचार्यले पनि २० रन बटुले । उनी अघिल्लो दिन एक रनमा अविजित थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विपिनले ६४ बलको सामना गरी तीन चौका पनि हिर्काए ।
कप्तान सन्दीप लामिछाने नाै बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भए । प्रतिस जीसीले पनि १६ बलमा एक चौकाको मद्दतले ११ रन बटुले । आर्मी क्लबका बलर आकाश चन्दले तीन विकेट लिए । सोमपाल कामी, साहब आलम र पवन कार्कीले पनि दुई–दुई विकेट हात पारे । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि सात रन पायो ।
त्यसअघि, विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो पालीमा दुई सय ७६ रन बनाएको थियो । आर्मीले ६० ओभरमा पाँच विकेटको नोक्सानीमा दुई सय ७६ रन बनाएको हो । प्रतियोगितामा कुनै पनि टोलीले ६० ओभर ब्याटिङ गरेपछि अनिवार्य रुपमा पाली समाप्तिको घोषणा गर्नु पर्ने नियम रहेको छ ।
जारी जय ट्रफीमा कुनै पनि टोलीले एक पालीमा बनाएको यो सर्वाधिक रन पनि हो । यसअघि जारी जय ट्रफीमा एक पालीमा सर्वाधिक दुई सय ११ रन बनेको थियो । त्यो रन आफ्नो अघिल्लो खेलमा मधेश प्रदेशले बागमती प्रदेशविरुद्ध बनाएको थियो ।
जनकपुरमा जारी बागमती प्रदेशविरुद्धको खेलमा आर्मीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । जारी प्रतियोगिताको एउटै पालीमा दुई ब्याट्सम्यानले अर्धशतक बनाएको यो पहिलो पटक हो । ओपनर ब्याट्सम्यान इमरान शेखले टोलीका लागि ७२ रनको योगदान गरे ।
१९ वर्षीय इमरानले एक सय चार बलमा ११ चौका प्रहार गरे । इमरानले अर्धशतक भने ७६ बलमा आठ चौकाको मद्दतले पुरा गरेका थिए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबका लागि इमरान शेख र तृतराज दासले ओपनिङ विकेटमा एक सय तीन रनको साझेदारी गरेका थिए ।
२२ वर्षीय तृतराज ४४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ७८ बलको सामना गरी ६ चौका पनि हिर्काए । अर्धशतकतर्फ अगाडि बढिरहेका तृतराजलाई २३।२ ओभरमा बागमती प्रदेशका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने एलबीडब्लूको धरापमा पारेका थिए ।
विकेटकिपर ब्याट्सम्यान इमरान शेख र तृतराजबिच भएको साझेदारी जारी जय ट्रफीमा कुनै विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो । आर्मी क्लबका लागि बसिर अहमदले पनि अविजित ५३ रनको योगदान गरे ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका २१ वर्षीय बसिर अहमदले ६४ बलको सामना गरी आठ चौका पनि हिर्काए । सातौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले पनि टोलीको खातामा अविजित ३५ रन थपेका थिए । उनले ४३ बलमा एक छक्का र चार चौका हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि टोलीको खातामा ३२ रन थपे । उनले ५१ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारीले भने खातासम्म खोल्न सकेनन् ।
सोमपाल कामीले सात रन जोडे । बागमती प्रदेशका बलर विपिन आचार्यले तीन विकेट लिए । सन्दीप लामिछानेले पनि दुई विकेट हात पारे । आर्मी क्लबले अतिरिक्त रुपमा पनि ३३ रन पायो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले पाएको यो नै सर्वाधिक अतिरिक्त रन पनि हो ।
प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अंकसहित बागमती प्रदेश पहिलो, समान अंक जोडेको मधेश प्रदेश दोस्रो र समान अंक हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अंकसहित चौथो स्थानमा छ । यसअघिको दुवै खेल बराबरीमा सकिए पनि बोनस अंकका कारण आर्मी चौथो स्थानमा रहेको हो ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ ।
फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
-
हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु